परासी । परासी सूचना तथा सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जको १७ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
सो अवसरमा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख एवं सामुदायिक रेडियो परासीका शेयर सदस्य यादवले सामुदायिक रेढियो परासीले खोजमूलक र स्थानीय समाचारलाई प्राथमिकता दिनु पर्ने बताउनु भएको छ । समन्वय प्रमुख यादवले रेडियो परासी यसक्षेत्रको अग्रणी सञ्चार माध्यम भएकाले जिल्लाको वास्तविक तथ्यलाई उजागर गर्न सक्नु पर्ने बताउनु भयो ।
परासी सूचना तथा सञ्चार सहकारी संस्था लि.को १७ बार्षिक साधारण सभामा समन्वय प्रमुखले रेडियो परासीले हालसम्म गरेका कामहरुको प्रसंशा समेत गर्नु भयो ।
साधारण सभामा संस्थाका सचिव तोरेन्द्र जि.सीले साँगठनिक प्रतिवेदन, कोषाध्यक्ष चन्द्रमणी चौधरीले लेखा प्रतिवेदन र लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा समितिका संयोजक पेउनारायण न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत भएका सवै प्रतिवेदनहरु साधारण सभाले पास गरेको छ ।
सो अवसरमा संविधान सभा सदस्य अलाउद्दिन अन्सारी, जिल्ला सहकारी संघ लि.का सचिव चण्डीप्रसाद पाण्डे, रेडियो परासीका संस्थापक अध्यक्ष सुमनगोपाल आचार्य, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धिरज शर्मा वस्याल सामुदायिक रेडियो परासीका उपाध्यक्ष नगेन्द्र अग्रहरी लगायतले साधारण सभामा रेडियो परासी जिल्लाको प्रभावकारी सञ्चार संस्था भएको चर्चा गर्नु भएको थियो ।
सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज २०६५ सालमा स्थापना भएको पश्चिम नवलपरासीको पहिलो रेडियो हो । १ सय ४१ जना शेयर सदस्य रहेको रेडियोले आफ्नै सुविधा सम्पन्न भवन र भौतिक संरचनामा रेडियो सञ्चालन गर्दै आएको छ ।