छठ पर्व हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो, विशेष गरी नेपालका तराई क्षेत्रमा यो निकै महत्त्वपूर्ण मानिन्छ। छठ पर्व सूर्य भगवान र छठी माताको पूजा गर्ने पर्व हो, जसमा श्रद्धालुहरूले सूर्य देवता र प्रकृतिको सम्मान गर्छन्। यस पर्वलाई सामान्यतया स्वास्थ्य, समृद्धि र परिवारको कल्याणको लागि मनाइन्छ। नेपालमा पछिल्लो समय काठमाण्डौं लगायत विभिन्न पहाडि जिल्लामा समेत मनाउन थालिएको छ ।
छठ पर्वको विशेषता र विधि
छठ पर्व विभिन्न विधिहरुको प्रयोग गरी चार दिनसम्म मनाउने गरिन्छ ।
पहिलो दिन (नहाय खाय) : छठ पर्वको पहिलो दिनमा व्रत बस्नुभन्दा पहिले घर सफा गरिन्छ र नदि, पोखरी वा तलाउमा स्नान गरी शुद्ध भोजन गरिन्छ। यसलाई (नहाय खाय) भनिन्छ। पहिलो दिन छठ पूजाको पूर्वतयारीको रुपमा पनि लिइन्छ ।
दोस्रो दिन (खरना) : दोस्रो दिनमा खरना हुन्छ। व्रतालुहरू दिनभरि निराहार बस्छन् र साँझमा सूर्यास्तपछि विशेष प्रकारको प्रसाद (खीर र रोटी) बनाएर ग्रहण गर्छन्।
तेस्रो दिन (साँझअर्घ) : तेस्रो दिनमा व्रतालुहरूले साँझपख सूर्य भगवानलाई जलाशयको किनारमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ । यो निकै विशेष र भावपूर्ण क्षण मानिन्छ, जहाँ बत्ती, माटोका दीप र पूजासामग्रीहरू प्रयोग गरेर भगवान सूर्यको स्मरण गरिन्छ ।
चौथो दिन (बिहान अर्घ) : चौथो र अन्तिम दिनमा उदाउँदो सूर्यलाई अर्घ दिइन्छ। यस दिन विहानै श्रद्धालुहरू जलाशयमा गई सूर्यलाई पूजा अर्पण गर्छन् र व्रत समाप्त गर्छन्।
छठ पर्वको महत्त्व
छठ पर्व सूर्य देवताको पूजा गर्ने एकमात्र पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई समान रूपमा सम्मान दिइन्छ। यो पर्वको मुख्य महत्त्व श्रद्धा, समर्पण, र प्रकृतिप्रतिको सम्मानमा छ। स्वास्थ्य र पर्यावरणीय दृष्टिकोणले पनि यस पर्वलाई निकै महत्त्वपूर्ण मानिन्छ, किनभने यसले प्रकृति र जलस्रोतहरूको संरक्षणमा जोड दिएको छ ।
छठ पर्वका परिकारहरुः
गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी पीठोबाट बनाइएका विभिन्न खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी व्रतालु परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँने प्रचलन रहिआएको छ ।