परासी । नवलपरासीका पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा अपाङ्गता सम्बन्धी बेसलाइन सर्भे गरिएको छ । दुवै पालिकामा १ हजार ६ सय ३९ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क भेटिएको हो । पाल्हीनन्दन गाउँपालिकामा ७ सय ३८ जना र प्रतापपुर गाउँपालिकामा ९ सय २ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।
पाल्हीनन्दनमा रहेका अपाङ्गता व्यक्तिहरुमध्ये पूर्ण असक्तता भएका ४७ जनाले रातो कार्ड, अति असक्तता भएका १७७ जनाले निलो कार्ड, मध्यम अपाङ्गता भएका ६६ जनाले पहेंलो कार्ड र सामान्य अपाङ्गता भएका ४० जनाले सेतो कार्ड प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । तथ्याङ्क अनुसार अझै पनि ४ सय ८ जना व्यक्तिले कुनै पनि कार्ड लिएका छैनन् ।
यस्तै प्रतापपुरमा रहेका अपाङ्गता व्यक्तिहरुमध्ये पूर्ण असक्तता भएका ११५ जनाले रातो कार्ड, अति असक्तता भएका २३६ जनाले निलो कार्ड, मध्यम अपाङ्गता भएका ५७ जनाले पहेंलो कार्ड र सामान्य अपाङ्गता भएका ४३ जनाले सेतो कार्ड प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । तथ्याङ्क अनुसार प्रतापपुर गाउँपालिकामा अझै पनि ४ सय ५१ जनाले कुनै पनि कार्ड लिएका छैनन् ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग, सुनवल सामुदायिक विकास केन्द्र, सुनवलको आयोजना र दुवै गाउँपालिकाको सहकार्यमा सम्पन्न बेसलाईन सर्भेबाट तथ्याङ्क सार्वजनिक गरिएको हो । अपाङ्गता समावेशी विकास परियोजना (डिआइडि) मार्फत बेसलाईन सर्भे गरिएको परियोजना संयोजक श्यामसुन्दर ढुँगानाले जानकारी दिनु भयो ।
परियोजनाले दुवै पालिकाका अपाङ्गता भएका व्यक्ति र परिवारलाई सीपमूलक तालिम तथा आयआर्जनमा सहयोग पुग्ने सामाग्रीहरु विउ पूँजीको रुपमा प्रदान गर्दै आएको छ । अपाङ्गगता भएका व्यक्तिहरु र उनका परिवारलाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले विउपूँजीको रुपमा सामाग्री दिने गरिएको हो ।
गएको २ बर्षमा प्रतापपुरमा २९ जना अपाङ्गता भएका र उनका परिवारहरुलाई प्रत्यक्ष फाइदापुग्ने गरी सीपमूलक तालिम र प्रविधि हस्तान्तरण गरिएको छ । यस्तै पाल्हीनन्नदनमा पनि १६ जना अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारलाई सीपमूलक तालिम र प्रविधि हस्तान्तरण गरिएको हो ।
दुवै पालिकामा सञ्चालित परियोजनाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क पत्तालागेको र अपाङ्गता भएका व्यक्तिहरुको आय आर्जमा पनि सहयोग गरिएकोले कार्यक्रम प्रभावकारी बन्दै गइरहेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भएको छ ।