परासी । पाल्हिनन्दन गाउँपालिकामा धार्मिक तथा सांस्कृतिक संबाद कार्यक्रम सोमबार सम्पन्न भएको छ । संबादमा उपस्थित प्रतिनिधिहरुले समाजको समृद्धिमा सबै धर्म, संस्कृति, जातजाति, भाषा र सम्प्रदायको उत्तिकै महत्व हुने भएकोले सहअस्तित्व कायम गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
पाल्हीनन्दन गाउँपालिका अन्तर धार्मिक सञ्जालका अध्यक्ष श्रीकान्त मिश्राको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यतामा संवाद गरिएको हो ।
सम्पन्न कार्यक्रममा विभिन्न धर्मगुरु, पालिकाका जनप्रतिनिधि, स्थानीय महिला, किशोरी, यूवा तथा पत्रकारहरूबीच संबाद गरिएको हो । कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले अन्तर धार्मिक सदभाव तथा सांस्कृतिक संरक्षण विषयमा बोल्नु भएको थियो ।
समुदायमा धार्मिक सहिष्णुता कायम राख्न सांस्कृतिक संरक्षणका लागि आफ्नो दायित्व निर्वाह गरी दिगो शान्तिका लागि प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
सुनवल सामुदायिक विकास केन्द्र, सुनवलद्वारा सञ्चालित घरेलु हिंसा न्यूनीकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजनाको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा कार्यक्रम गरिएको हो । पाल्हिनन्दन वडा नं २ मा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा घरेलु हिंसा न्यूनीकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजनाका संयोजक कृष्ण पाण्डेले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका वडा नं. १ का अध्यक्ष चुलाइप्रसाद यादव, वडा नं. २ का वडा अध्यक्ष जगदिशप्रसाद गुप्ता, वडा नं. ३ का अध्यक्ष गोधन हरिजन, ५ का अध्यक्ष दयाशंकर त्रिपाठी लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।