अहिले सोह्रश्राद्ध भनिने पितृपक्ष सकिनै लागेको छ । प्रसङ्ग सोह्रश्राद्धको थियोे । मैले श्राद्ध र सोह्रश्राद्धका बारेमा संक्षेपमा बताउँदै थिएँ । कुरै कुरामा एकजना महिला साथीले फ्याट्ट सोधिहाल्नुभयो, ‘यो सोह्रश्राद्ध महिलाका लागि किन नभएको होला ?’ कुरा गम्भीर थियोे । यसरी हेर्दा मरेपछि पनि महिलाप्रति विभेद र अपमान हो । तर के संसारका यति धेरै हिन्दु सनातनीहरूको संस्कृति महिलाद्वेषि नै छ त ?
हाम्रो श्राद्धबारे बहस छोटोमै टुङ्गियो, तर समाजमा त यो कुरा सन्सनी छ । समाजमा त यो विषय बहसमा नै छ । त्यसलाई बुझ्न सजिलो हुने गरी प्रस्तुत हुन आवश्यक छ । बहसमा उठेका विषय यस टिपोटमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
केही वर्ष पहिले मेरो मनमा पनि हिन्दु सनातन संस्कृति कतै महिलाद्वेषी नै पो छ कि भन्ने लागेको थियो । तर, अहिले मेरो निष्कर्षमा परिवर्तन आएको छ । समाज कस्तो छ, मैले भनिरहन परेन । समाजमा महिलाहरूको अवस्थाबारे मैले केही लेख्न आवश्यक छैन, किनभने त्यो हामी सबैका सामु छर्लङ्ग छ । यसका लागि केही पुराना धार्मिक पुस्तकहरूको सहारा लिएँ । समाजशास्त्री÷मानवशास्त्रीहरूका विश्लेषण पढेँ । तिनीहरूलाई समयसापेक्ष भएर बुझ्न प्रयत्न गरेँ । यसो गर्दा अहिलेको अवस्थामा नमिलेका सकारात्मक र नकारात्मक दुबै कुरा देखा परे । मेरो निष्कर्ष के हो भने उतिबेलालाई उतिबेलाकै आँखाले र अहिलेकालाई अहिलेकै आँखाले हेर्ने र मस्तिष्कले विश्लेषण गर्दा मात्र उचित निष्कर्षमा पुग्न सकिन्छ ।
समाज अहिलेजस्तो पक्कै थिएन । यहाँ मानिसलाई सत्ताबारे जानकारी हुनुअघि आदिम साम्यवादी समाज (सामुदायिक समाज) थियोे । यहाँ कहिले मातृसत्ता थियोे र समाज मातृसत्तात्मक थियो । अहिले हामी जे जस्तो सामाजिक अवस्था देखिभोगिरहेका छौँ, प्रायः युद्ध, सड्घर्ष, जित, हारका पूर्वप्रसड्गसँग जोडिएका छन् । यसमा पुरुष पितृहरूको श्राद्ध गर्ने विषय मात्र छैन, यसमा मातृशक्तिको सम्मानको विषय पनि छ ।
मानव समाजको इतिहास सङ्घर्षै सङ्घर्षको इतिहास हो । मानव जातिले प्रकृतिसँग सङ्घर्ष गरेको छ, प्रकृतिको महत्व बुझेको छ । पशुप्राणीहरूको भोजन गरेको छ र यिनीहरूको महत्व पनि बुझेको छ । महत्त्व बुझेर नै पूजा गरेको छ । बुझेर नै लडाइँ गरेको छ र जय पराजय भोगेको छ । वास्तवमा विभेदको कारण शक्ति, जय, पराजय नै हो । जित्ने पूजित भए, पराजित पूजक भए । तर, सधै यस्तो रहेन, जय पराजयभन्दा पर समन्वय र प्रवन्धहरू पनि विकास भए । कुनै कुरा छोडिन्छ भने त्यका नकारात्मक कारणले छोडिन्छ र कुनै कुरा अपनाइन्छ भने त्यसको सबलताका कारणले अपनाइन्छ । कहिलेकाँहिँ सहजताका कारणले पनि यसो गरिएको हुन सक्दछ ।
जसरी वसन्त ऋतुको भन्नका लागि ‘वासन्ती’ भनिन्छ, प्रसङ्गसँग मिलेको भन्नका लागि ‘प्रासङ्गीक’ भनिन्छ, गृहस्थसँग सम्बन्धितलाई ‘गार्हस्थ’ भनिन्छ, त्यसैगरी श्रद्धापूर्वक गरिनु÷नेलाई ‘श्राद्ध’ भनिन्छ । तर, पछिल्लो समयमा यो शब्द मृत्यु भइसकेका व्यक्तिहरूका नाममा गरिने आयोजनलाई बुझाउने गरी प्रयोग र प्रचलनमा छ ।
विधि र प्रक्रिया भिन्नभिन्न छन्, तर निष्कर्ष एउटै हो— जीवित छँदा गरिने सेवा र सम्मान मरेपछि सम्मानमा मात्र सीमित रहन्छ अर्थात् आफ्नो पूर्वजहरूप्रतिको सम्मान उनीहरू मरेपछि पनि गर्नु पर्दछ । यसो गर्नाले कृतज्ञताको भाव जीवित रहन्छ, विगतप्रति सम्मान गर्ने संस्कृति कायम रहन्छ । कसरी गर्ने, कति गर्ने, के के गर्ने भन्ने विषय समयसापेक्ष हुन् । एकरूपताका लागि केही नीति, विधि, प्रक्रिया बनाइयो, त्यसलाई प्रचलनमा ल्याइयो । मूल पक्ष नमासेर सच्याउन सकिन्छ, सक्नुपर्दछ । नयाँ नगर्ने, नयाँ विकल्प ल्याउन र स्थापित गर्न नसक्ने, पुरानाको दोहोलो काड्ने प्रवृत्ति नकारात्मक र कायर प्रवृत्ति हो ।
जहाँसम्म महिलाको सोह्रश्राद्धको विषय छ, यसको प्रवन्ध गरिँदै नगरिएको होइन रहेछ, गरिएको रहेछ । यस दिनलाई अविधवा नवमी वा मातृनवमी भनिदोरहेछ ।
धर्मसिन्धुसारमा लेखिएको छः जीवत्पितृकेण मृतमातृकेणानुपनीतेनापि मात्रादित्रितयमात्रोद्देशेनैकपार्वकं पुरूरवार्द्रवदेवसहितं सपिण्डकं श्राद्धं कार्यम् ......अर्थात् बाबु जीवित रहेका तर आमा मरेका व्रतबन्ध नभएका समेत सबै व्यक्तिले आमा, हजुरआमा र जिजुहजुरआमा (बुढी हजुरआमा) मात्रलाई लक्षित गरेर पिण्डसहितको एउटा पार्वण श्राद्ध पितृपक्षको नवमी (मातृनवमी) का दिन गर्नुपर्छ । यस श्राद्धमा पुरूरवा, आद्रव नामक देवता(विश्वेदेव) हुन्छन् ।
थप भनिएको छ- स्वमातरि जीवित्यां मृतसापत्नमात्रादित्रयोद्देशेन कार्यम्...अर्थात् आफ्नी आमा जीवित छन् र सौतेनी आमा बाबु जीवित छँदै मरेका छन् भने ती सौताने आमा, हजुरआमा र जिजुहजुरआमा लक्षित गरी श्राद्ध गर्नुपर्छ ।
यसमा अरु उल्लेख छ- अत्राविधवा नवमीश्राद्धे सुवासिनीनां प्रतिसाम्वत्सरिकश्राद्धादौ च सुवासिनीभोजनमपि कार्यम् अर्थात् यस अविधवा नवमीमा गरिने श्राद्धमा र सधवा नारीहरूको वार्षिक श्राद्धमा समेत सधवा युवतीलाई भोजन गराउनुपर्छ । मार्ककण्डेय ऋषिको वचनको रूपमा उल्लेख गरिएको छ- भर्तुरग्रे मृता नारी सहदाहेन वा मृता । तस्याः स्थाने नियुञ्जीत विप्रैः सह सुवासिनीम् अर्थात् पतिभन्दा पहिले मृत्यु भएकी र पतिसँगै सती गएर (डढेर—लेखक) मृत्यु भएकी नारीको श्राद्ध कर्ममा ब्राह्मणहरूसँगै एउटी सधवा युवतीलाई पनि सामेल गराउनुपर्छ इत्यादि ।
आ-आफ्ना संस्कृति अवलम्बन गरौँ, अरुकोलाई सम्मान गरौँ, सम्मान गर्न नसके गालीगलोज नगरौँ । आफ्नो संस्कृति, परम्परा, पद्धतिमा फेरबदल गर्न परे आफ्नै घरपरिवारबाट सुरु गरौँ ।
यी सबै विषय आजका मानिसहरूले बनाएनन्, प्राचीन प्रवन्ध नै हुन् । यी प्रवन्धहरूबारे मानिसहरूले जान्न प्रयत्न गरेनन् वा त्यस्तो वातावरण मिलेन । तर, जान्दै नजानी, बुझ्दै नबुझी कुनै प्रवन्ध, कुनै धर्म, कुनै संस्कृति, कुनै दर्शन, कुनै विचार, कुनै पद्धतिका बारेमा टिप्पणी गर्नु राम्रो हुँदैन । यही प्रवत्ति बढेर त हो कसैले कसैलाई नटेर्ने(अस्वीकार गर्ने), जे मनपरि बोल्ने, लेख्ने भएको, यसै भएर त हो सामाजिक अराजकता बढेको ।
माथि नै उल्लेख भएको कि श्रद्धापूर्वक गरिने कार्य नै श्राद्ध हो । श्रद्धा, सम्मान, आदर गर्ने तरिका भिन्नाभिन्नै छन् । सम्मानको उच्चतम रूप पूजा हो । श्राद्ध पनि पूजा नै हो । पूजाका विधिका भिन्नतामा पञ्चोपचार, दशोपचार, शोडषोपचार आदि छन् । पत्र, पुष्प, फल, जल प्रदान गरेर गरिने पूजा पनि हुन्छ, भनिएको छ— पत्रं, पुष्पं, फलं, तोयं आदि लेखिएकै छ । यसो नगरेर सामान्य ढोगभेट गरेर पनि सम्मान व्यक्त गर्न सकिन्छ ।
सनातन संस्कृतिमा र सनातन संस्कृतिमा मात्र मातृशक्तिको सम्मानका लागि लामो समय र विधि प्रचलनमा छ, त्यो हो— सोह्रश्राद्धको लगत्तै आउने नवदुर्गा— नवरथा । यसलाई नवरात्रि पनि भनिन्छ । नवरत्न, नवरस, नवरन्ध्र आदि हामी सबैले सुन्दैआएका छौँ । नवदुर्गा भनेको नौवटी देवीहरूको समूह हो । यी नौ देवी हुन्— शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री । यिनीहरूका नामसँग श्रीमती, कुमारी, सुश्री जोडिएको छैन । यिनका फरकफरक विशेषता छन् । सबैका स्वरूप, परिधान, वाहन, आसन फरक फरक छन् । यी नौ देवीका कथाका क्रममा ठूलो युद्ध र विजयको कुरा थाहा पाइन्छ ।
दुर्गा शब्दको एउटा अर्थ दुर्गति नाश गर्ने हो भने अर्को अर्थ हो— दुर्गमा बस्ने । दुर्ग भनेको अत्यन्त कष्टसाथ पुग्न सकिने (सहजै पुग्न नसकिने) ठाउँ हो । दुर्ग भनेको युद्धको किल्ला हो । यसलाई अहिले कोट(कोत)का रूपमा बुझिन्छ । यसबाट दुर्गा भयङ्कर योद्धा थिइन् भन्ने बुझिन्छ । देवीभागवत कथामा यसबारे विस्तृत विवरण पढ्न पाइन्छ । यस्तो महिलामैत्री सांस्कृतिक परम्परालाई महिलाद्वेषी भएको आशङ्का नगरौँ, लाञ्छना नलगाऔँ । बरु संस्कृतिबारे बुझ्ने प्रयत्न गरौँ ।
यी नौ दिन जोडेर नै हो नि हाम्रो दसैँ बडादसैँ भएको । हामीले दसैँ मान्ने गरेका छौँ । तर, यसमा पनि कुन जातको, कुन समुदायको, कुन धर्मको आदि कुतर्कहरू गर्ने गरिएको पाइन्छ । देवी, देवता, ऋषिमुनि यी सबैका साझा हुन् । यिनीहरूका नामको अगाडि डाक्टर, इञ्जिनीयर, अधिवक्ता, पण्डित, स्वर्णकार, चर्मकार आदि केही लेखिएको छैन । यिनीहरूका नामको पछाडि शर्मा, वर्मा, विश्वकर्मा, घले, सुनुवार, बल, शाही, बस्नेत, श्रेष्ठ, महर्जन, उपाध्याय, गुप्ता, यादव, चौधरी, थापा, राना, शेर्पा, शेरचन आदि केही पनि लेखिएको छैन । यिनीहरूले आफूलाई हिन्दु, बौद्ध, इस्लाम, क्रिश्चियन आदि पनि भनाएनन् ।
त्यसैले हाम्रो सनातन संस्कृति लैङ्गिक, जातीय, क्षेत्रीय, धार्मिक आदि कुनै हिसाबले पनि विभेदकारी भएको देखिँदैन । मानिस मानिस बिचको लडाइँ झगडा र शक्ति सङ्घर्षबाट उब्जेका विभेदलाई संस्कृतिसँग हेर्नु बुद्धिमानी हुँदैन ।
आ-आफ्ना संस्कृति अवलम्बन गरौँ, अरुकोलाई सम्मान गरौँ, सम्मान गर्न नसके गालीगलोज नगरौँ । आफ्नो संस्कृति, परम्परा, पद्धतिमा फेरबदल गर्न परे आफ्नै घरपरिवारबाट सुरु गरौँ । जानेर, बुझेर गरे विज्ञान र नजानी नजानी लहैलहैमा लागेर गरे अन्धविश्वास ! सबैमा चेतना होस् !
— घनश्याम कोइराला, संस्कृति अध्येता तथा अभियन्ता, काठमाडौँ