परासी । राष्ट्रपति रामचन्द्र पौडेलले एक हजार ५७१ मिटर लम्बाई रहेको नवलपरासीको पारी सुस्ता जोड्ने झोलुङ्गे पुल आज शुभारम्भ गर्नु भएको छ । झोलुङ्ग पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको राष्ट्रपति पौडेलले बताउनु भएको छ।
सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको विहिबार शुभारम्भ गर्नुहुँदै उहाँले झोलुङ्ग पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्याको समाधान गरेको बताउनु भयो ।
राष्ट्रपति पौडेलले झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र सुस्ताका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाको सहज पहुँच हुने अवस्था सिर्जना गरेको विश्वास व्यक्त गर्नु भयो । उहाँले सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य लगायतका सेवाको सरल र सहज पहुँचमा अब योगदान बताउनु भयो ।
सुस्ताबासीलाई अव ‘पुलको अभावमा सरकारी सेवा लिन दुई÷तीन दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र वा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ। अब अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएकोमा राष्ट्रपति पौडेलले खुसी व्यक्त गर्नु भयो ।
राष्ट्रपति पौडेलले हिन्दू धर्मावलम्बीको पवित्र तपोभूमिका रुपमा रहेको त्रिवेणीधाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटक समेतलाई आकर्षित गर्ने सम्भावना बोकेको उल्लेख गर्नु भएको छ ।
उहाँंले नारायणी नदी पारीको भू–भागमा पुल निर्माण भइसकेपश्चात् सोही झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको र सुस्ताबस्तीमा उज्यालो प्रदान गर्ने कार्य समेत सम्पन्न भएकोमा निर्माणमा सहभागी सबैलाई धन्यवाद दिनु भयो ।