परासी । आज १८ औं मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस देशभर विभिन्न सचेतना कार्यक्रम गरी मनाइएको छ । “तीनै तहको सरकारको प्रतिवद्धता, मानव बेचविखन विरुद्ध सवैको एक्यवद्धता” भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा बोल्ने सरोकारवालहरुले मानव बेचविखन सामाजिक अपराध भएको बताएका छन् ।
मानव बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेको दिन देखि यो दिवस मनाइँदै आएको छ । २०६४ सालदेखि प्रत्येक भाद्र २० गते बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रूपमा मनाइएको हो ।
भारतीय सिमानाकालाई लक्षित गरी विहिवार पाल्हीनन्दन गाउँपालिका वडा नं.१ महेशपुरमा दिवस मनाइएको छ । पाल्हीनन्दन वहुसरोकारवाला फोरमकी अध्यक्ष माधुरी लिम्बुको अध्यक्षता र वडा नं. १ का अध्यक्ष चुल्हाई प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय संघसंस्था, फोरममा आवद्ध सदस्यहरु, आमा समुह, किशोरकिशोरी समूह र सुरक्षा निकाय लगाएतको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफन्त नेपालकी जिल्ला संयोजक एवं पाल्हीनन्दन फोरमकी अध्यक्ष माधुरी लिम्बुले मानव बेचविखनको अवस्थाबारे जानकारी गराउनु भएको थियो । उहाँले कसैको प्रलोभनमा नपरि बेचविखनलाई रोक्न सूचना र सचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा आशिष नेपालकी जिल्ला संयोजक एलिसा सेन ठकुरी, सामुदायिक रेडियो परासी ९०.२ मेगाजर्हका प्रवन्ध निर्देशक मेघराज गौतम, इलाका प्रहरी कार्यालय महेशपुरका बासुदेव वलि, स्थानीय मेलमिलापकर्ता मञ्जु चौधरी, असल छिमेकी नेपालका सामाजिक परिचालक गौरव महतो लगायतले मानव बेचविखन सामाजिक अपराध भएको बताएका छन् ।
पाल्हीनन्दन गाउँपालिका स्तरीय फोरममा १९ वटा संघसंस्थाहरु आवद्ध रहेका छन् । फोरमको अगुवाईमा विभिन्न दिवसिय कार्यक्रम एवं जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको लैगिंक समानता परियोजनाकी संयोजक ज्योतिसिंह रायले नेपाली चेलीलाइ बताउनु भयो ।