नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला, नेपालको पूर्वपश्चिम क्षेत्रको करिव बीच भागमा रहेको एक जिल्ला हो । वि.सं. २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई पुनः २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको हो । नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाको परासीमा अवस्थित छ। नवलपरासी जिल्ला ७ वटा स्थानीय तहमा विभाजित छ, जसमा ३ नगरपालिका र ४ गाउँपालिका रहेका छन्। नवलपरासी लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रको प्रवेश जिल्ला पनि हो भने नारायणी नदिवारी २७.५ किलोमिटर क्षेत्र भारतसँगको सिमानामा पनि रहेको छ ।
नवलपरासी जिल्ला सानो क्षेत्रफलमा अवस्थित भएकोले दिन भरमा एक फन्को लगाउन सकिन्छ । करिव ६३४.८८ वर्ग कि.मी.मा रहेको जिल्लामा २०७८ सालको जनगणानुसार ३ लाख ३१ हजार ९०४ जनसंख्याको बसोबास रहेको छ । नवलपरासी जिल्लाको मूख्य पेशा कृषि हो भने, व्यापार व्यवसाय र बैदेशीक रोजगारी पनि पेशाको रुपमा विकास हुँदै आएको छ । पछिल्लो समयमा नवलपरासीको रामग्राम नगरपालिका भित्र विभिन्न प्रकृतीका ठूला उद्योगहरु खुल्ने क्रम पनि बढेसँगै थप रोजगारीको सृजना पनि भएको पाइन्छ ।
नवलपरासी जिल्ला क्षेत्रफलले सानो होला तर जिल्ला भित्रका ऐतिहासिक, धार्मिक र पुरातात्वीक महत्वका स्थलहरुले सिङ्गों जिल्लालाई आन्तरिक र वाह्य पर्यटकहरुको केन्द्रको रुपमा विकास गर्न सक्ने सम्भावना पनि बलियो छ । कुरा सानो वा ठूलोको होइन बरु महत्व र आस्थाको हो । भगवान गौतमबुद्धको सिंङ्गो अस्तुधातु रहेको रामग्राम, नाम उच्चाहरण गर्ने वित्तिकै सिंगो जिल्ला, राष्ट्र र अन्तर्राष्ट्रिय पर्यटन अर्थात आन्तरिक र वाह्य पर्यटकको ध्यान तान्ने ठाउँ हो । बुद्धको नामसँगै जोडिएको गौतमबुद्धको मावली कोलिय गणराज्यको राजधानी पण्डितपुर, पाल्हीको नन्दननगर, सरावलको ककरपत्तनगर र बुद्ध सरोवरताल, बर्दघाटको बुद्ध मंगलताल र सुस्ताको अनोमाघाट पनि उत्तिकै आस्थाका केन्द्रहरु हुन् ।
जिल्ला विभिन्न धार्मिक स्थलहरु मध्ये सरावलको धन पोखरा, सरावलकै मधवलिया मस्जिद, रामग्रामको बन्जारिन माई मन्दिर, सुक्रौलीमा अवस्थित रामजानकी मन्दिर, बंजरियाको भौगाड मन्दिर आन्तरिक पर्यटनको केन्द्र बन्न सक्ने देखिन्छ । यस्तै सुनवल नगरपालिका भित्रका सहिद विष्णु प्रसाद पाण्डे प्रतिष्ठान पार्क, कृष्णधाम, बनाहादेवी स्थान, देवदहताल र अमरपोखरी आन्तरिक पर्यटनकालागि महत्वपूर्ण केन्द्रहरु हुन् । यस्तै बर्दघाट नगरपालिका भित्रका कन्चनगढी, वाउन्नघोला सिमसार क्षेत्रहरु पनि क्रमशः आन्तरिक र वाह्य पर्यटनकालागि आकर्षक केन्द्र बन्दै गएका छन् ।
जिल्लाको सरावल गाउँपालिका उत्तर चुरे पहाडदेखि दक्षिण भारतको सिमासम्म फैलिएको पालिका हो । सरावल गाउँपालिकामा पनि थुप्रै पर्यटकीय क्षेत्रको विकास हुने क्रममा छ । वडा नं. १ को रजहा वनवाटिका, दुर्गामन्दिर तिलकपुर कमलपोखरी, शिवमन्दिर अत्रहटी, धनपोखरा ताल धनगडवा, मस्जिद मधवलिया, वर्दघाटे कालिका मन्दिर आन्तिरिक पर्यटनका केन्द्र बन्दै गएका छन् । यस्तै सरावलमै पछिल्लो समयमा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्र थारु साँस्कृतिक पार्क र मधेश साँस्कृतिक पार्क रहेका छन् ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका भारतको सिमानाकासँग जोडिएको पालिका हो । खुल्ला सिमानाका भएकोले विविध चुनौतीका बावजुद पालिकाले पर्यटकीय क्षेत्रको विकासकालागि महत्वपूर्ण कामको थालनी गरेको छ । झण्डै ५०० बर्ष पुरानो पाल्हीनन्दन ५ विष्णुपुरा स्थित राधाकृष्ण मन्दिर, लोहरौली शिवपार्वती दिव्यधाम, नन्दन ताल, वडा नं. २ को समयमाई मन्दिर पर्यटनको सम्भावना बोकेको क्षेत्रहरु हुन् ।
जिल्लाको प्रतापपुर गाउँपालिकामा ९ वटा वडा छन्, गाउँपालिकामा विभिन्न धर्म जातिजातिको वाहुल्यता छ । गाउँपालिका भित्र थुप्रै पर्यटकीय क्षेत्रहरु छन् । गाउँपालिका वडा नं. १ स्थित बाउन्नगढी मन्दिर, प्रतापुर २ को पन्चेश्वारी महादेव दुर्गा मन्दिर, प्रतापपुर ६ को रामजानकी मन्दिर, प्रतापपुर ८ को झखाडी मन्दिर, रामजानकी मन्दिर, प्रतापपुर ३ को छठघाट, प्रतापपुर ५ को मदरसा र प्रतापुरको ९ को ब्रम्ह स्थान, शिवमन्दिरहरु पालिकाको आन्तरिक पर्यटनलाई जोडेका छन् । यस्तै अनगिन्ती मठमन्दिर र समुदायको आस्था केन्द्रहरु पनि गाउँपालिकामा अवस्थित छन् ।
जिल्लाको सुस्ता गाउँपालिका नारायणी पारी सुस्ता गाउँको नामले प्रचलित छ । आफ्नो भूमिको रक्षा गर्न मरिमेट्ने सुस्तावासीहरुको कथा र व्यथासँग पनि सुस्ता जोडिएको छ । अहिले नारायणी नदिमा १ हजार ५ सय ७१ मि लामो झुलङ्गे पुल बनेसँगै नारायणीनदि सुस्ता पारी रहेको सुन्दर सुस्ता गाउँ हेर्न जानेहरुको भिड लाग्ने गरेको छ । नेपालकै ठूलो भनिएको झुलंङ्गे पुलको अवलोकन र झुलङ्गे पुलमार्फत सुस्ता पुग्न सहज भएका कारण आन्तरिक तथा वाह्य पर्यटन वढ्न सक्ने देखिन्छ ।
सुस्तामा थुप्रै एतिहासिक एवं धार्मिक महत्वका क्षेत्र पनि अवस्थित छन् । जसले सुस्ताको आन्तिरिक र वाह्य पर्यटनलाई बढाउन सक्छ । सुस्ताको वडा नं. ३, ४ र ५ मा पर्ने नारायणी नदी, सुस्ता २ सत्तपत्ती को कुवाँरवती मन्दिर (चुहाडी मन्दिर), महलबारीको नवदुर्गा मन्दिर, सुस्ता १ छिवनी स्थित बालपुरी मन्दिर र सुस्ता ५ को बौद्ध गुम्वा लगायतका धार्मिक क्षेत्रहरुले सुस्ताको आन्तरिक एवं वाह्य पर्यटनलाई जोड्न सक्ने देखिन्छ ।
लुम्बिनी प्रदेश सरकारले नवलपरासीका केही धार्मिक एवं पर्यटकीय सम्भावना भएका क्षेत्रहरुलाई विद्युतीय अभिलेखमा समेटेर महत्व दिन थालेको छ । भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम, सुनवल स्थित बाबा वर्दगोरीया, पाल्हीनन्दनको पाल्ही भगवती मन्दिर, सुस्ताको त्रिवेणी धाम र मदारबाबा, सुनवल नगरपालिकाको महलपोखरी मन्दिर, सरावल स्थित ककरपत्त(कोलबृक्ष) नगर र सुनवल स्थित बैरागनाथ मन्दिरलाई विद्युतीय अभिलेखमा सूचिकृत गरी नवलपरासीका पर्यटकीय स्थलहरुको केन्द्र बनाउने पहल थाल्दै आएको छ ।
लुम्बिनी प्रदेश सरकारले नवलपरासीका केही पर्यटकीय स्थललाई गोल्डेन ट्रयाङ्गलको सम्भावित सडक रुट विकास गर्ने गरी गुरुयोजना निर्माण थालेको पाइएको छ । लुम्बिनी—मर्चवारी मन्दिर हुँदै पाल्हीनन्दनको पाल्हीभगवती मन्दिरसँग अवध भेजपुरा साँस्कृतिक सम्पदा सर्किटको विकास गर्ने सोंच अगाडि सारेको छ । यसले जिल्लालाई लुम्बिनी क्षेत्र र अन्य जिल्लासँग पनि जोड्न सकियो भने आन्तरिक पर्यटनलाई बढाउन सकिने देखिन्छ ।
नवलपरासी जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकाले पर्यटनको दिगो सम्भावना भएका क्षेत्रहरुको पहिचान गरी विकासको गुरुयोजना तयार पार्ने र ती क्षेत्रलाई क्रमैसँग पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने देखिन्छ ।
विशेषगरी रामग्राम नगरपालिका स्थित रामग्राम स्तुपा, पण्डितपुर, वडा नं. ३ स्थित पूर्व प्रधानमन्त्री टंक प्रसाद आचार्यको जन्मथलोलाई प्राथमिकता दिएर आन्तरिक तथा वाह्य पर्यटनलाई अभिबृद्धि गर्नु पर्ने देखिन्छ । यस्तै सुनवल नगरपालिकाले श्रीकृष्णधाम, बाबावर्दगोरीया मन्दिर, मामि सतिसवरिया र महलपोखरीमा आन्तरिक र वाह्य पर्यटनको संभावनाकासाथ योजना वनाउनु पर्ने देखिन्छ । यस्तै वर्दघाट नगरपालिका वडा नं. ४ स्थित शिवालय मन्दिर, बाउन्नघोलाा सिमसार क्षेत्र, बुद्धमंगल ताल र वडा नं. ५ को कन्चनगढीलाई पर्यटनको मूख्य केन्द्र बनाउनु पर्ने देखिन्छ ।
यस्तै जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले पाल्हीभगवती मन्दिर, नन्दन नगर र नन्दन ताललाई पर्यटनको मूख्य केन्द्र बनाउनु पर्ने देखिन्छ । सरावल गाउँपालिकाले थारु र मधेश साँस्कृतिक पार्क, बर्दघाटे कालिका मन्दिर र वडा नं. १ को रजहा बनबाटिकालाई पर्यटकीय हिसावले विकास गर्न सकिन्छ । यस्तै प्रतापपुर गाउँपालिकाको बाउन्नगढी मन्दिर र सुस्ता गाँउपालिकाको अनोमाघाट र सुस्ता गाउँलाई आन्तरिक र वाह्य पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना भएका विशेष क्षेत्रहरु हुन् ।
जिल्लाका पालिकाहरुले आन्तरिक र वाह्य पर्यटनको क्षेत्रमा काम गर्न पालिका भित्रका निश्चित क्षेत्रलाई प्राथमिकता दिनु नै पर्दछ । प्राथमिकता दिएका क्षेत्रहरुको विकासको गुरुयोजना तयार पार्ने र प्रदेश, संघिय सरकार र स्थानीय सरकारका प्रतिनिधिहरुको संयुक्त पहलमा बजेट विनियोजना गरी नवलपरासी जिल्लालाई आन्तरिक र वाह्य पर्यटनको केन्द्र बनाउन सकिन्छ ।