कार्ल माक्र्स (१८१८—१८८३ ई.स.) बहुआयमिक व्यक्तित्वमा धनी हुनुहुन्थ्यो तर अर्थशास्त्रीको रुपमा उहाँको व्यक्तित्वले बढी निखार पाएको थियो । माक्र्सले ज्यालादारी श्रम र पूँजी,राजनीतिक अर्थशास्त्रको आलोचनाको प्रयास,ज्याला,दाम र नाफा तथा पूँजी (चार खण्ड)नामका कृतिहरु मार्फत समाजवादी अर्थशास्त्रका मूल विषयवस्तुहरु मूल्यको श्रम सिद्धान्त,पूँजीवादी संकटको सिद्धान्त,अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक समाजवाद तथा साम्यवादको सिद्धान्त जस्ता गहन विषय वस्तुहरुमा विस्तृत रुपमा व्याख्या विश्लेषण गर्नुभएको छ ।
माथि उल्लिखित विषयवस्तुहरु मध्ये हामी यहाँ अतिरिक्त मूल्यको सिद्धान्तको विषयमा चर्चा गर्ने छौं ।लेनिनको शब्दमा अतिरिक्त मूल्यको सिद्धान्त माक्र्सवादी आर्थिक सिद्धान्तको आधारशीला हो । ”अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन भएपछि पूजीवाद भित्रको शोषणको सारतत्वलाई बुझन सजिलो भयो । यस सिद्धान्तले पूँजीवादी उत्पादन व्यवस्थामा श्रमिकहरु किन गरिबी,दुर्दशा र दरिद्रतामा जीवन विताउज वाध्य हुन्छन् भन्ने कुराको यथार्थलाई प्रष्ट पार्दछ ।कार्ल माक्र्सको सर्वोतम तथा महानतम कृति ”पूजी”मा विकसित र विशद रुपमा व्याख्या गरिएको यो सिद्धान्तले पूँजीद्धारा श्रमको शोषणको वास्तविक सारतवलाई व्याख्या गर्दछ । माक्र्सवादी अर्थशास्त्रको सारको रुपमा रहेको यस अतिरिक्त मूल्यको सिद्धान्तलाई संक्षिप्तमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
अतिरिक्त मूल्यको सिद्धान्तलाई अध्ययन गुर्न अघि पूँजीवादी उत्पादन पद्धति,मूल्य र मूल्यको नियमको अध्ययन गर्न जरुरी छ ।
पूजीवादी उत्पादन पद्वतिः
माल (Commodity)
पूँजीवादी उत्पादन पद्वतिलाई बुझनका निम्ति सबभन्दा पहिले माललाई बुझ्नुपर्दछ । पूँजीवादी समाजमा हरेक उत्पादन माल हुन्छ । उत्पादनका साधन र उपभोक्ता वस्तुहरु मात्र माल (Commodity) हुने होइन कि मानवीय श्रम पनि माल हुन पुग्दछ । माल पूँजीवादी अर्थव्यवस्थाको कोशिका हो ।
माल विनिमयका लागि गरिएको श्रमको उपज हो । बजारमा बेच्ने उद्देश्यले निर्माण गरिएको वस्तु नै माल हो । जुन वस्तु बजारमा लगेर बिक्री गर्न खोजिदैन, उपभोगको लागि उत्पादन गरिन्छ, त्यसलाई माल नभनिकन उपभोक्ता वस्तु भनिन्छ । मालको विकास आदिम साम्यवाद पछि दाश युगबाट प्रारम्भ भयो र समन्तवादमा केही मात्रामा विकास हुदै पूँजीवादमा विकसित भयो । पूँजीवादमा संसारमा रहेका हरेक कुरा माल हुन,मानवीय श्रम समेत ।
मूल्य (Value)
कुनैपनि मालको मूल्य उक्त मालको उत्पादनमा लागेको श्रमको परिमाण हो । श्रमको परिमाणले नै मालको मूल्यलाई निर्धारित गर्दछ । मालहरु मानवीय श्रमका उपज हुन र उक्त श्रम नै तिनमा रहेको साझा गुण हो । तसर्थ मूल्यको एकमात्र कारण श्रम हो । हावा , पानी, जीवनको निम्ति नभईनहुने वस्तु हो तापनि त्यसको कुनै मूल्य हुदैन किनभने त्यसमा मानवीय श्रम परेको छैन , त्यो प्रकृति प्रदत्त हुन्छ । तर १ टुक्रा सूनको मानव जीनवको निम्ति खास आवश्यक्ता नभएतापनि त्यसको उत्पादनमा जुन मानवीय श्रम परेको हुन्छ त्यसका कारणले त्यसको निश्चित विनिमय मूल्य हुन्छ । तसर्थ, मानवीय श्रम नै मूल्यको सिर्जनकर्ता हो र मूल्यको कुरोलाई तिनको उत्पादनमा लागेको श्रमको परिमाणले निर्धारित गर्दछ । श्रमलाई नाप्न सकिन्छ र त्यसलाई वस्तु बनाउन लागेको समयबाट नाप्ने गरिन्छ । तसर्थ जुन वस्तुहरुम श्रम बराबर परिमाणमा रहेका हुन्छन् ती वस्तुहरुको मूल्य पनि बराबर हुन्छ । माक्र्स भन्नुहुन्छ ”मूल्यको रुपमा सबै मालहरु खादिएको ९ऋयलनभबभिम० श्रम समयका निश्चित मात्राहरु ह्ुन् ।” यसको अर्थ खादिएको श्रम समय नै मूल्य हो ।
उपयोग मूल्य ( Utility Value)
मानवीय आवश्यक्ता सन्तुष्ट गर्न सक्ने मालको गुणलाई उपयोग मुल्य भनिन्छ । मालको उपयोगिता नै त्यसको उपयोग मूल्य हो । कुनै वस्तुमा मानिसको आवश्यकता पुरा गर्न सक्ने गुण नै छैन भने त्यसको खरिद विक्रि नै हुदैन, तसर्थ त्यो माल नै हुन सक्दैन । तर सबै उपयोग मूल्य भएको वस्तु माल हुन सक्दैन । मानिसको श्रम नपरेको घाम र हावा उपयोगी भएपनि माल हैनन् । वस्तु उत्पादनमा जति नै श्रम परेको भए पनि त्यो उपयोगी छैन भने त्यो मूल्यहीन रहन्छ । तसर्थ उपयोग मूल्य भएको वस्तु यदि आफ्नो उपभोगको निम्ति मात्र उत्पादन गरिन्छ भने त्यो वस्तु माल हैन वस्तु मात्र हो ।
विनिमय मूल्य ( Exchange Value)
कुनैपनि वस्तु माल हुनको निम्ति उपयोग मूल्य भएर मात्र हुदैन त्यसमा विनिमय मूल्य पनि हुनुपर्दछ । एउटा वस्तुको उपयोग मूल्यको अर्को वस्तुको उपयोग मूल्य सित हुने विनिमयको अनुपातलाई विनिमय मूल्य भनिन्छ । अर्थात विनिमय मूल्य एउटा उपयोग मूल्यको अर्को उपयोग मूल्य सितको परिमाणात्मक सम्बन्ध हो, जुन सम्बन्ध समय र स्थान माथि निर्भर रहन्छ । कुनै एउटा वस्तुको निश्चित परिमाणमा अन्य वस्तुहरुसित विनिमय हुने सामथ्र्यमा त्यसको विनिमय मूल्य रहेको हुन्छ । मालहरु बिचका सामान्य गुण उपयोग मूल्य नभैकन विनिमय मूल्य हो । मालहरुको साझा विशेषता भनेको श्रमको उपज नै हो । मालहरुको उत्पादनमा श्रम लागेको हुन्छ । त्यो श्रमले मूल्य उत्पन्न गर्छ । मुल्यको परस्परमा तुलना गर्न सकिन्छ । त्यसकारण विनिमय मूल्य मूल्यबाट निर्धारित हुुन्छ । विनिमय मूल्य मूल्यको एउटा अभिव्यक्ति हो । मूल्य नै विनिमय मूल्यको आधार हो । माक्र्स भन्नुहुन्छ ”जब मालहरुको विनिमय हुन्छ, तिनिहरुको विनिमय मूल्यले तिनको उपयोग मूल्यबाट पुरै स्वतन्त्र चीजको रुपमा आँफूलाई अभिव्यक्त गर्दछ । तर यदि हामीले तिनको उपयोग मूल्यलाई हटाईदियौ भने, माथि परिभाषित गरिए अनुसारको तिनको मूल्य बाँकी रहन्छ । मालहरुको विनिमय हुँदा खेरी तिनको मूल्यमा अभिव्यक्त हुने साभाm कुरो तिनको मूल्य हो । विनिमय मूल्य नै त्यस्तो रुप हो जसमा मालहरुको मूल्यले आफुलाई साकार बनाउँछ, वा जसमा सो मूल्यलाई व्यक्त गर्न सकिन्छ ।” तसर्थ विनिमय मूल्य नै मालको वास्तविक मूल्य हो ।
मूल्यको नियम ( Theory of Value)
मालको मूल्य त्यसमा लागेको आवश्यक सामाजिक श्रमले निर्धारण गर्दछ । तर बजारमा मालको खरिद बिक्रि हुँदा मालको मूल्य भन्दा तलमाथि भएर बजार मूल्य निर्धारित भएको हुन्छ । पूँजीवादी अर्थव्यवस्थामा मालहरुको बजार मूल्य घटबढ भैरहनुलाई स्वभाविक मानिन्छ । कुनै मालको मोल (Price) त्यसको मूल्यको अनुरुप हुनुपर्छ किनभने मोल भनेको मूल्य (Value) को मौद्रिक अभिव्यक्ति हो । तर व्यवहारमा भने उत्पादकहरुको माझमा चल्ने होडबाजी र माग र आपूर्ति बीचको अन्तरक्रिाले मालको मोल निर्धारणमा प्रभाव पार्ने गर्दछ । बजारमा कुनै मालको माग त्यसको आपूर्ति भन्दा बढी भयो भने त्यसको मालत्यसको मूल्य भन्दा बढि हुन्छ । त्यस्तै आपूर्ति भन्दा माग कम भयो भने त्यसको मोल मूल्य भन्दा कम हुन्छ । तर माग र आपूर्तिको आधारमा मालको मोल तलमाथि भैरहेपनि त्यसको केन्द्रविन्दु चाँहि मालको मूल्य नै हो । पूँजीवादी अर्थव्यवस्थामा देखापर्ने मालको मोलको उतार—चढावलाई नै मूल्यको नियम भनिन्छ ।
मूल्यको नियमले उत्पादन कार्यलाई पनि नियमित गर्दछ । कुनै मालको माग आपूर्ति भन्दा बढी हुन्छ भने त्यसको मोलमा वृद्धि हुन्छ । यस्तो अवस्थामा धेरै उत्पादक आकर्षित हुन्छन् र मालको आपूर्तिमा वृद्धि हुन्छ जसले गर्दा मालको मोलमा कमी आउँछ । यसको उल्टो भएमा उत्पादनमा कमि आउँछ र मालको मोलमा वृद्धि हुन्छ ।
मालको मूल्य आवश्यक सामाजिक श्रमद्धारा निर्धारित हुनेहुनाले प्रविधिको विकास गरी उत्पादकत्वमा वृद्धि गरी आवश्यक सामाजिक श्रममा कटौती गरी पूँजीपतिहरुले नाफामा वृद्धि गर्न सक्दछन् । यो कार्यको परिणाम स्वरुप उत्पादक शक्तिको विकास हुन्छ, पूँजीपतिहरुको बीचको संघर्षमा वृद्धि हुन्छ र आर्थिक असमानतामा पनि वृद्धि हुन्छ । आवश्यक सामाजिक श्रम भन्नाले कुनै वस्तु उत्पादन गर्न लाग्ने औसत श्रमलाई नै बुझनुपर्दछ ।
मुद्रा ( Money)
वस्तु विनिमयको विकासक्रममा स्वफूर्त रुपमा मुद्रको विकास भयो । वस्तु विनिमयको साधनको रुपमा कुनै वस्तुलाई लिनुपर्ने बाध्यताको परिणाम स्वरुप मुद्राको अविस्कार भयो र त्यसपछि हरेक वस्तुको मूल्याङ्कन मुद्रामा हुनथाल्यो । प्रारम्भमा सुन वा चाँदी जस्ता मूल्यवान धातुहरुले मुद्राको रुप लिए भने कागजी मुद्राको प्रचलन चीनबाट शुरुवात भयो । अहिले विद्युतिय कार्ड कागजी मुद्राालाई समेत विस्थापित गर्ने अवस्थामा पुगीसकेको छ । मुद्राको विकासले पुँजीवादी उत्पादन पद्धतिलाई अघी बढाउन सघाउ पुगेको छ । पूँजीवादी उत्पादन व्यवस्थामा मुद्राले निम्न प्रकारका ५ कार्य गर्दछ ।
१. मूल्य निर्धारणको माध्यम वा ईकाई ।
२. विनिमयको माध्यम ।
३. संचयको माध्यम ।
४. भुक्तानीको माध्यम ।
५. सार्वभौमिक मुद्राको रुपमा कार्य गर्नु
मुद्राको पूँजीमा रुपान्तरण
पूँजीको लागि सामान्य सूत्र
वस्तु विनिमयको विकासबाट स्वतस्फूर्त रुपमा मुद्राको विकास भयो । मुद्रा पूँजीको प्रारम्भिक रुप हो ऐतिहासिक दृष्टिकोणबाट हेर्ने हो भने पूँजी सबभन्दा पहिले मौद्रिक सम्पदाको रुपमा देखा परेको हो । यसको प्रारम्भिक रुप व्यपारी र सूदखोरको पूँजीको रुपमा देखापरेको थियो । मुद्राको रुपमा मुद्रा र पूँजीको रुपमा मुद्राको बीचमा एयटा मौलिक भिन्नता छ र त्यो भिन्नता त्यसको परिचालनको रुपमा रहेको छ ।
साधारण माल परिचालनको सूत्र माल—मुद्रा—माल हो । कुनै व्यक्तिले आफुलाई अनावश्यक भएको माल बेचेर मुद्रा प्राप्त गर्दछ र त्यसबाट आफुलाई आवश्यक माल खरीद गर्दछ । यसको अन्तिम उद्देश्य उपयोग मूल्य हो । यो साधारण माल उत्पादनको विशेषता हो । तर पूँजीवादको सामान्य सुत्र फरक छ । यसको सुत्र मुद्रा —माल—मुद्रा हो ।बेच्नका निम्ति माल खरीद गरिन्छ,उपभोगको निम्ति हैन । यसमा बिक्रि गर्नको निम्ति माल खरीद गरिन्छ र मुद्रामा बृद्धि गरिन्छ, उपभोगको निम्ति हैन । यसमा बिक्रि गर्नको निम्ति माल खरीद गरिन्छ र मुद्रामा वृद्धि गरिन्छ । यसरी परिचालन भएको मुद्रा पूँजीमा परिणत हुन्छ । यो सुत्र मुद्राबाट शुरु भएर मुद्रामा नै अन्त्य हुन्छ । यसको मुख्य उद्देश्य विनिमय मूल्य हो । साधारण माल उत्पादनका सुत्र र पूँजीको सामान्य सुत्रको बीच सार र सम्पूर्ण प्रक्रियामा ठूलो भिन्नता छ । साधारण माल उत्पादन प्रक्रियामा मुद्राले मध्यस्तताकोकार्य मात्र गर्छ, यसमा मुद्रा संकलन हुदैन, माल संकलन हुन्छ । तर पूँजीको प्रक्रियामा मुद्रा नै प्रारम्भिक र अन्तिम लक्ष्य हुन्छ । अन्तिममा मुद्रा नै संकलन गरिन्छ । मुद्रा—माल—मुद्रा सुत्रमा मालले मध्यस्तताको काम मात्र गर्दछ । वास्तवमा यो सुत्र मुद्रा—मुद्रा नै हो । केही मुद्रा खर्च गर्नुको उद्देश्य बढी मुद्रा प्राप्त गर्नु नै हो । यसरी मुद्राले पूँजीको रुप लिएर अतिरिक्त जुन मुद्रा उत्पन्न गर्छ, त्यही नै अतिरिक्त मूल्य ९क्गचउगिक खबगिभ० हो । माक्र्सले पूँजीको परिचालनबाट पूँजीपतिले आफूले लगानी गरेको भन्दा बढी जुन मूल्य प्राप्त गर्छ त्यसलाई ”अतिरिक्त मुल्य” को संज्ञा दिनुभयो । यसरी पूँजी आफै विस्तारित हुने त्यस्तो मूल्य हो जुन आफै फैलिन्छ र अतिरिक्त मूल्यको सिर्जना गर्दछ । पूँजीपतिले अतिरिक्त मूल्यको लोभले नै पूँजी लगानी गर्दछ ।
यो अतिरिक्त मूल्यको सिर्जना कसरी भयो ?कसको कारणले भयो ? यसको खोजबीन गर्न जरुरी छ । मालको विनिमय गरेको कारणले विनिमय मूल्य प्राप्त हुन्छ । तर मालहरु बराबर मूल्यहरुको बीचमा मात्र विनिमय हुने भएको हुनाले यसबाट अतिरिक्त मूल्य सिर्जना हुदैन । तसर्थमूल्य विनिमयबाट कसैले आफुलाई अधिक धनी बनाउन सक्दैन । यदि मालहरुको बिक्री तिनको वास्तविक मूल्य भन्दा फरक किसिमले गर्ने हो भने यो कार्य वस्तु विनिमयको नियमको सरासर उल्लड्ढन हुनेछ । साथै मुद्रा आफैले पनि अतिरिक्त मूलको सिर्जना गर्न सक्दैन । जब सम्म मुद्रा मुद्रा रहन्छ तबसम्म त्यसबाट मूल्यको विस्तार हुन सक्दैन । यसरी अतिरिक्त मूल्यको श्रोत न वस्तु परिचालनमा न त मुद्रामा नै रहेको छ । अतिरिक्त मूल्यको श्रोत त मालको रुपमा रहेको मानवीय श्रम शक्तिमा नै छ ।
मालको रुपमा श्रम शक्ति
मानविय श्रम शक्ति नै एकमात्र त्यस्तो माल हो, जसको उपभोगबाट मूल्य तथा अतिरिक्त मूल्यको सिर्जना हुन्छ । मानिसको शारीरीक तथा मानसिक शक्तिको समग्रता नै श्रम शक्ति हो । मानव विकासको मूल आधारको रुपमा रेहकोे यो मानवीय श्रमशक्ति पूँजीवादी व्यवस्थामा आईपुग्दा बजारमा खरीद बिक्रि हुने माल को रुपमा परिणत भएको छ । तसर्थ, पूँजीवाद भनेको वस्तु उत्पादनको विकासको यस्तो उच्चतम अवस्था हो जहाँ मानवीय श्रमशक्ति पनि माल सरह हुन पुग्दछ ।
श्रमिकले आफूलाई बेच्दैन आफ्नो श्रमशक्ति बेच्दछ । श्रमशक्ति एउटा विशेष माल हो । यो बिक्रीको निम्ति राखिने अवस्था नै पूँजीवादको विशेष विशषता हो । पूँजीबाद भन्दा अघिल्लो उत्पादन व्यवस्थामा श्रमशक्ति मालको रुपमा रहेको थिएन । दाश व्यवस्थामा दास (कामदार) दास मालिकको सम्पत्तिको रुपमा रहेको थियो । दास स्वयम् किनबेचको वस्तु थियो,उसको श्रम्शक्ति मात्र किनबेचको वस्तु थिएन । सामन्ती व्यवस्थामा भुदास जमिनसित बाधिएको हुन्थ्यो र आफ्नो श्रमशक्तिको पूर्ण रुपमा मालिक थिएन । तसर्थ उ आफ्नो श्रमशक्तिलाई स्वतन्त्र रुपमा श्रमबजारमा लगेर बिक्री गर्न सक्दैनथ्यो । बरु यसको सट्टा उ आफ्नो सामान्य औजारबाट आफ्नो सानो टुक्रा जग्गामा खेती गर्दथ्यो ।
पूँजीवादी व्यवस्थामा मात्र श्रमिक आफ्नो श्रमशक्तिलाई क्रय विक्रयको चीज अर्थात एउटा मालको रुपमा श्रमबजारमा लगी बिक्री गर्न सक्दछ । तर यसको निम्ति अर्थात श्रमशक्तिलाई माल बन्नको निम्ति निम्न पूर्वशर्तहरु आवश्यक पर्दछ ः
१. श्रमिकहरु उत्पादनका साधनहरुबाट बञ्चित भएको हुनुपर्दछ ।
२. श्रमिकहरु आफ्नो श्रम बिक्री गर्न स्वतन्त्र हुनुपर्छ ।
३. श्रमिकहरुलाई काममा लगाउनुको उद्देश्य पूँजीको विस्तार हुनुपर्दछ ।
श्रमशक्तिको मूल्य
पूँजीवाद अन्तर्गत श्रमशक्ति एउटा माल बन्दछ र अन्य मालहरु जस्तै यसको पनि मूल्य हुन्छ । जब श्रमशक्ति माल बन्छ,अन्य मालको जसतै यसको पनि उपयोग मूल्य र विनिमय मूल्य हुन्छ । श्रमशक्तिको मूल्य अरु मालका जस्तै त्यसको उत्पादन र पुनरुत्पादनमा लाग्ने सामाजिक रुपले आवश्यक श्रमको परिमाणबाट निर्धारित हुन्छ । एउटा श्रमिकको श्रमशक्तिको मूल्य उसको जीवनयापनको निम्ति आवश्यक पर्ने साधनको मूल्य बराबर हुन जान्छ । यसमा श्रमिकको परिवारको भरणपोषण,शिक्षादिक्षा र आफ्नै सीपवृद्विमा लाग्ने खर्च पनि समावेश हुन्छ । पूँजीपतिले श्रमिकलाई उसको श्रमशक्तिको बदलामा जुन ज्याला दिन्छ उक्त ज्याला मुद्रामा अभिव्यक्त भएको श्रमशक्तिको मूल्य हो । यहि नै श्रमिकको श्रमशक्तिको विनिमय मूल्य हो ।
श्रमशक्ति पूजीपतिले उपयोग गर्ने वस्तु भएकोले यसको उपयोग मूल्य पनि हुन्छ । पूँजीपतिले श्रमशक्ति खरीद गर्दछ र आफ्नो मुद्राको बदलामा त्यसको उपयोग मूल्य प्राप्त गर्दछ । खरीद गरेपछि पुँजी पतिले सो श्रमशक्तिलाई काममा लगाउँछ अर्थात उपयोग मूल्यहरुको उत्पादनमा लगाउँछ । श्रमशक्तिको उपयोग मूल्य अन्य सबै मालहरुको उपयोग मूल्य भन्दा आधारभूत रुपले फरक छ । अन्य मालहरुको उपयोग मूल्यमा मूल्य मात्र हुन्छ तर श्रमशक्तिको उपयोग मूल्यको विशेषता भनेको यसले आफ्नो विनिमय मूल्य भन्दा बढी मूल्य सिर्जना गर्ने सामथ्र्य राख्दछ । श्रमशक्तिमा रहेको यही विशेषताको कारणले नै पूँजीपतिले श्रमशक्ति खरीद गरी उपयोग गर्दछ र यही नै उसको नाफाको श्रोत हो । श्रमशक्तिको उपयोग मूल्य उसको विनिमय मूल्य भन्दा निश्चित रुपमा बढी हुन्छ र यो नै अतिरिक्त मूल्यको श्रोत हो । वास्तवमा पूँजीवादी शोषणको अन्र्तवस्तु नै यहि हो । श्रम शक्तिको उपयोग मूल्य र विनिमय मूल्य बीचको अन्तर नै अतिरिक्त मूल्य हो ।
अतिरिक्त मूल्यको सिद्धान्त (Theory of Surplus Value)
अतिरिक्त मूल्यको उत्पत्ति
मानवीय श्रमशक्तिको प्रयोगबाट कच्चा पदार्थलाई उपभोग्य वस्तुमा रुपान्तरण गरिन्छ । यस्तो वस्तुबाट मानवीय आवश्यक्ताको परिपूर्ति गरिन्छ । पूँजीवादी व्यवस्थामा सम्पूर्ण उत्पादनका साधनहरु माथि पूजीपति वर्गाको स्वामित्व तथा अधिकार रहेको हुन्छ । श्रमिक उत्पादनका साधनहरुबाट विमुख रहेका हुन्छन् । श्रमशक्ति माथि पूँजीपतिको नियन्त्रण कायम हुन्छ । श्रम प्रक्रियाबाट उत्पन्न हुने वस्तुको उपयोग मूल्य हुने गर्दछ,जसले मानिसको आवश्यक्ताको पूर्ति गर्दछ । तर पूँजीपतिको वस्तु उत्पादन गर्नुको उद्देश्य उपयोग मुल्यको उपभोग हैन ,बरु उक्त वस्तुको विनिमय मूल्यको संग्रह गर्नु हो । पूँजीपतिले माल बिक्री गरि नाफा आर्जन गर्नकाृ निम्ती नै मालको उत्पादन गर्ने हो । उसले मालको बिक्रीबाट उत्पादनको साधन र श्रमशक्ति खरीद गर्न भुक्तानी गरेको रकम भन्दा बढी आर्जन गर्दछ, उक्त बढी रकम नै अतिरिक्त मूल्य हो ।
अतिरिक्त मूल्य भनेको त्यस्तो मूल्य हो जसलाई श्रमिकले आफ्नो श्रमशक्तिको मूल्य भन्दा बढी मात्रामा सिर्जना गरेको हुन्छ । अर्थात अतिरिक्त मूल्य भनेको श्रमशक्तिको उपयोग मूल्यबाट विनिमय मूल्य घटाउँदा प्राप्त हुने मूल्य हो । श्रमशक्तिको उपयोग मूल्यले उत्पादनको प्रक्रियामा मूल्य मात्र होइन आतिरिक्त मूल्य पनि सिर्जना गर्दछ । पूँजीवाद अन्र्तगत श्रम प्रक्रियामा श्रमिकहरुले आफ्नो
श्रम खर्च गरेर जुन माल उत्पादन गर्छ,त्यस मालमा निम्न तिन तत्वहरु रहेको हुन्छ
१.वस्तु उत्पादनमा उपयोग भएको उत्पादनका साधनहरुको मूल्य ।
२. वस्तु उत्पादनको निम्ति ज्याला स्वरुपको मूल्य ।
३. वस्तु उत्पादनको क्रममा सिर्जित अतिरिक्त मूल्य ।
यो अतिरिक्त मूल्यको शोषण पूँजीवाद मात्रैको देन होइन । आदिम साम्यवादी समाजको समाप्ती संगसंगै समाज वर्गमा विभक्त भयो र अतिरिक्त मूल्यको शोषणको प्रारम्भ भयो । वर्ग विभक्त समाजको एउटा वर्गले उत्पादनका साधनहरु माथि स्वामित्व र अधिकार प्राप्त गर्ने र अर्को वर्गले उत्पादनका साधनमाथिको नियन्त्रण गुमाउने स्थितिमा अतिरिक्त मूल्यको शोषण दाश प्रथा सामन्ती व्यवस्था र पूँजीवादी व्यवस्था सबैमा हुने गरेको छ । पूँजीवादी व्यवस्थामा अतिरिक्त मूल्यलाई पूँजीमा परिणत गरेर झन बढी अतिरिक्त श्रम हडप्ने अवस्थाको सिर्जना गरिन्छ । यसरी पूँजीवाद अन्तरगत श्रमिकहरुको शोषण असिमिति रुपमा अघि बढ्दछ ।
यस सम्बन्धमा माक्र्स भन्नुहुन्छ ” अतिरिक्त मूल्य उत्पादन गर्नु र धन कमाउनु पूँजीवादी उत्पादन प्रणालीको सर्वोच्च नियम हो ।” अतिरिक्त मूल्यको यो नियम पूँजीवादको आधारभूत आर्थिक नियम हो । यदि अतिरिक्त मूल्यको उत्पादन नहुने हो भने पूँजीवादी उत्पादन हुन सम्भव छैन । नाफा आर्जन गर्नु नै पूँजीपतिहरुको मुख्य उद्देश्य हो । धनको लागि, अतिरिक्त मूल्यको लागि पूँजीपतिहरुको तिर्सना कहिल्यै मेटिन्न । माक्स भन्नुहुन्छ ” पूँजीको उद्देश्य आवश्यक्ता पूरा गर्नु नभएर नाफा कमाउनु हो ।” सम्पूर्ण पूँजीवादी व्यवस्था श्रमिकको क्रुर शोषणमा आधारित छ ।
पूँजीवादी उत्पादनको प्रक्रियामा श्रमिकलाई प्रदान गरिने ज्याला वा श्रमशक्तिको विनिमय मूल्यको निम्ति श्रमिकले अनिवार्य रुपमा गर्नुपर्ने श्रमलाई आवश्यक श्रम भनिन्छ । अर्थात श्रमशक्तिको विनिमय मूल्यको निम्ति गर्ने पर्ने श्रमलाई आवश्यक श्रम भनिन्छ । पूँजीपतिहरुको नाफाको निम्ति श्रमिकले गर्नुपर्ने श्रमलाइ अतिरिक्त श्रम भनिन्छ । अतिरिक्त श्रमले सिर्जना गरेको मूल्य नै अतिरिक्त मूल्य हो । यो रकम श्रमिकको ज्यालामा कटौती गरेर मात्र पूँजीपतिले आर्जन गर्न सक्दछ । यसरी श्रमिकहरुको अतिरिक्त श्रम नै पूँजीवादी व्यवस्थामा पूँजीपतिहरुको आम्दानीको श्रोत हो ।
पूँजी र यसको वनावट
पूँजी (Capital) M
पूँजीवादी अर्थशास्त्रीहरु प्राचीन मानिसले प्रयोग गर्ने डंडा र ढुड्ढाका साथै सम्पूर्ण श्रमका उपकरणहरुलाई पूँजी मान्दछन् । यसको अर्थ पूँजीवाद अन्तरगतको श्रमको शोषणलाई लुकाउने र पूँजीलाई मानव समाजको विकासको साथसाथै उदय भएको तत्वको रुपमा व्याख्या गर्नु नै हो । बुर्जुवा अर्थशास्त्रीहरु उत्पादनका सम्पूर्ण साधनहरुलाई पूँजी मान्दछन् र पूजीलाई निश्चित कालखण्डमा उदय भएको तत्व नमानी परापूर्वकाल देखि नै शास्वत रुपमा रहेको तत्वको रुपमा व्याख्या गर्दछन् ।
वास्तवमा उत्पादनका साधन आफैमा पूँजी होइन । उत्पादनका साधन तब मात्र पूँजी बन्छ जब यी साधनहरु पूँजीपतिहरुको निजी स्वामित्वमा रहन्छ र श्रमिक वर्गको शोषणका लागि प्रयोगमा ल्याईन्छ । तसर्थ उत्पादनका साधनहरु स्वतःपूँजी होइनन्,पूँजी हुनुका लागि पूँजीपतिहरुले यी साधनहरुलाई उत्पादन प्रक्रियामा सामेल गराउनु पर्दछ । वास्तवमा पूँजीले उत्पादनको साधनमा निजी स्वामित्व राख्ने वर्ग र श्रमीकहरु बीचको सम्बन्ध स्थापित गराउने कार्य गर्दछ ।त्यसैले पूँजी भनेको अरु केहि हैन, पूँजीपति वर्ग र सर्वहारा वर्ग बीचको सामाजिक सम्बन्ध हो । त्यसका साथै, पूँजी संचित श्रम, मृत श्रम पनि हो । प्रत्यक्ष, सजीव श्रममाथि विगत,मृत प्रत्यक्षीकृत श्रमको आधिपत्यले मात्र संचित श्रमलाई पूँजीमा रुपान्तरण गर्ने गर्छ । पूँजीवादी व्यवस्थामा जीवित श्रम र संचित प्रत्यक्षीकृत श्रमका माझ जुन विनिमय हुन्छ, त्यो नै उत्पादनको मूल सम्बन्ध हो र माक्र्स भन्नुहुन्छ”प्रत्यक्षीकृत श्रम र जीवित श्रम त्यस्ता दुईवटा तत्व हुन, जसको वैरभाव -Antithesis_ पूँजीवादी उत्पादनको मूलमा रहेको छ ।” यसरी श्रमिकलाई ठगेर भुक्तान नगरिकन जम्मा गरिएको संचित श्रम नै पूँजी हो । यस सम्बन्धमा माक्र्स भन्नुहुन्छ—”नयाँ उत्पादनको साधनको रुपमा प्रयोग हुने श्रमको संचित मूल्य वा संचित श्रम नै पूँजी हो । (Accumulated labour,which serves as a means of new production is capital) यसरी पूँजी भनेको श्रमीकलाई नदिइकन जम्मा गरेर राखेको श्रम नै हो ।
पूँजीको बनावट (Forms of Capital)
पूँजीवादी अर्थशास्त्रीहरुले पूँजीलाई स्थायी (fixed) र चालु (Working) पूँजी गरी दुई भागमा विभाजन गर्दछन । उनीहरुको धारणा अनुसार स्थायी पूँजी अन्तर्गत जमिन, भवन मेसिन, औजार, उपकरण र अन्य भौतिक सम्पदाहरु पर्दछन् भने चालु वा कार्यशिल पूँजी अन्र्तगत कच्चा पदार्य,ईन्धन र श्रमशक्ति खरीद गर्न आवश्यक पर्ने पूँजी पर्दछ । तर कार्ल माक्र्सको धारणा अनुसार यसरी पूँजीलाई विभाजन गर्नुको उद्देश्य श्रमिकको अतिरिक्त श्रमको शोषणलाई लुकाउनु नै हो ।
माक्र्सले उत्पादनको प्रक्रियामा क्रियाशील पूँजीलाई स्थिर (Costant) र अस्थिर (Variable) गरी दुई भागमा विभाजन गर्नुभयो । स्थिर पूँजी अन्तर्गत जमिन,भवन,मेसिन,उपकरण तथा अन्य भौतिक सम्पदाका साथै कच्चा पदार्थ र ईन्धनलाई पनि सामेल गर्नुभयो । यसो गर्नुको कारण उपरोक्त साधनहरुको मूल्य नयाँ उपजमा स्थानान्तरित मात्र हुनु,त्यसको परिमाणमा परिवर्तन नहुनु नै हो । यस्ता साधनहरुको परिमाणमा परिवर्तन नहुने हुनाले उक्त हिस्सालाई स्थिर पूँजी (Constant Capital) भनिएको हो । अर्को शब्दमा, पूँजीको त्यो भाग जसलाई उत्पादनको लागि चाहिने साधनहरु खरीद गर्नमा खर्च गरिएको छ र जसको मूल्यमा कुनै परिमाणात्मक परिवर्तन हुदैन, त्यसलाई स्थिर पूँजी भनिन्छ ।
पूँजीपतिले आफ्नो पूँजीको अर्को भाग श्रमशक्ति खरीद गर्नमा खर्च गर्दछ । श्रमशक्ति खरीद गर्न खर्च गरिएको पूँजीलाई परिवर्तनशील (Variable) पूँजी भनिन्छ । श्रमीकहरुले मात्र आफ्नो श्रमशक्तिको प्रयोग गरेर त्यसको मूल्यभन्दा बढी नयाँ मूल्यको सिर्जना गर्न सक्दछ । श्रमशक्ति खरीद गर्न खर्च गरिएको पूँजीको हिस्सा मात्रै उत्पादनको प्रक्रियामा परिमाणात्मक रुपमा परिवर्तित हुन्छ । त्यसैले पूँजीको उक्त हिस्सालाई परिवर्तनशील वा अस्थिर पूँजी (Variable Capital) भनिएको हो ।
माक्र्सको उपरोक्त विभाजनबाट अतिरिक्त मूल्यको श्रोत पत्ता लगाउन सहज भएको छ । उत्पादन प्रक्रियामा लगाईने सम्पूर्ण पूँजीले अतिरिक्त मूल्यको सिर्जना गर्ने हैन कि बरु श्रमशक्ति खरीद गर्न प्रयोग गरिने परिवर्तनशील पूँजीले मात्रै अतिरिक्त मूल्यको सिर्जना गर्दछ । माक्र्सले पूँजीको बनावटलाई निम्न सुत्रमा व्यक्त गर्नु भएको छ ।
k"FhLsf] cf+lus ;+/rgf = (Variable Capital Or CV (Constant Capital)
पूँजीको आंगिक संरचना .
पूँजीपतिहरुको उद्देश्य परिवर्तनशील पूँजीमा कम भन्दा कम लगानी गरेर स्थिर पूँजीमा बढी भन्दा बढी लगानी गर्नु हो । स्थिर पूँजीको मात्रा बढ्दै जानु र परिवर्तशील पूँजीमा मात्रा घटदै जानु, यो पूँजीवादी व्यवस्थाको मुख्य चरित्र हो । श्रमिकको उत्पादकत्वमा सुधार गर्नुका साथै नयाँ नँया प्रविधिको प्रयोग गरेर परिवर्तनशील पूँजीमा कम खर्च गर्दै स्थिर पूँजीमा बढी खर्च गर्ने कारणले नै अतिरिक्त मूल्यको शोषणको मात्रा बढ्दै जान्छ ।
अतिरिक्त मूल्यको दर(मुनाफाको अनुपात)
पूँजीपति वर्गले कति मुनाफा आर्जन गरिरहेका छन् भन्ने कुरा आवश्यक तथा अतिरिक्त श्रम—अवधिको अनुपातबाट थाहा पाउन सक्दछौ । श्रमिकले आफूले प्राप्त गर्ने मूल्यको उत्पादनको लागि गर्ने आवश्यक श्रम परिवर्तनशील पूँजीको अनुरुप रहन्छ र अतिरिक्त श्रम अवधिबाट आर्जन गर्ने मूल्य अतिरिक्त मूल्यको समान रहन्छ । आवश्यक अनुपातमा स्थिर पूँजी नलगाइकन अस्थिर पूँजीले थप मूल्य उत्पादन गर्न सक्दैन । यसलाई माक्र्सले निम्न रुपमा प्रस्तुत गर्नु भएको छ ।
कूल पूँजी (Total Capital) = स्थिर पूँजी + परिवर्तनशील पूँजी
(Constant Capital+ Variable Capital)
उत्पादन प्रक्रिया सम्पन्न भएपछि उत्पादित वस्तुको कूल मूल्य यस प्रकार देखा पर्दछ ।
कूल पूँजी = स्थिर पूँजी (c)+ परिवर्तनशील पूँजी (c)+ अतिरिक्त मूल्य (M)
यसरी पूँजी पतिको कूल पूँजीमा वृद्धि भएको छ ।
पूँजीपतिबाट श्रमिकहरुको शोषणको मात्रा वा मुनाफाको अनुपात पत्ता लगाउन अतिरिक्त मूल्यको दर पत्ता लगाउनु पर्दछ ।
यसलाई निम्न सुत्रबाट व्यक्त गर्न सकिन्छ ।
cltl/Qm d"Nosf] b/= M (V) अतिरिक्त मूल्य (M)परिवर्तनशील मुल्य(V)
माक्र्सका अनुसार पूँजीवादी उत्पादन व्यवस्थामा यो अनुपात १०० प्रतिशत भन्दा माथि हुने गर्दछ ।
अतिरिक्त मूल्यको प्रकारहरु
पूँजीपतिवर्गले जहिले पनि श्रमिकको शोषण बढाएर अतिरिक्त दर बढाउने प्रयत्न गर्दछ । पूँजीपतिहरुले सामान्यता श्रमीकको श्रम अवधि बढाएर अतिरिक्त मूल्यको दर बढाउने गर्दछन् । तर सधै भरी यो सम्भव हुदैन । यस्तो अवस्थामा श्रमिकको आवश्यक श्रम अवधि घटाएर तथा अतिरिक्त श्रम अवधि बढाएर पनि अतिरिक्त मूल्यको दर बढाउने गरिन्छ । सामान्यता अतिरिक्त मूल्यलाई निम्न प्रकारले वर्गीकरण गरिन्छ ः
निरपेक्ष अतिरिक्त मूल्य(Absolute Surplus Value)
श्रमिकको कार्य अवधिलाई निरपेक्ष ढंगले लामो बनाएर अतिरिक्त मूल्यको दर वृद्धि गरिन्छ, भने त्यस्तो अतिरिक्त मूल्यलाई निरपेक्ष अतिरिक्त मूल्य भनिन्छ । श्रमीकको उत्पादकत्व , दक्षता र प्रविधिमा परिवर्तन नगरिकन श्रमिकको श्रम अवधिमा वृद्धि गरेर यस्तो अतिरिक्त मूल्यको सिर्जना गरिन्छ । तर सधैभरी यस प्रकारले अतिरिक्त मूल्यको दर बढाउन सकिदैन । श्रमिकहरुको संगठित प्रयत्नबाट यस्तो क्रियाकलापमा कमि आएको छ ।
सापेक्ष अतिरिक्त मूल्य (Absolute Surplus Value)
श्रमिकको उत्पादकत्व,सीप,कार्य वातावरणमा सुधार गरेर श्रमिकको आवश्यक श्रम अवधि घटाएर अतिरिक्त मूल्यको दर वृद्धि गर्ने कार्य गरिन्छ भने त्यस्तो अतिरिक्त मूल्यलाई सापेक्ष अतिरिक्त मूल्य भनिन्छ । यसमा समग्र श्रम अवधिमा वृद्धि नगरिकन अतिरिक्त मूल्यमा मात्र वृद्धि गरिन्छ ।
अधिक अतिरिक्त मूल्य (Relative Surplus Value)
नयाँ नँया प्रविधि र मेसिनको प्रयोगद्धारा अतिरिक्त मूल्यमा हुने अधिक वृद्धिलाई नै अधिक अतिरिक्त मूल्य भनिन्छ । यो पनि सापेक्ष अतिरिक्त मूल्य नै हो । उधोगमा कुनै फर्मले नयाँ प्रविधिको मेसिन ल्याउँदा केही समय सम्म यस प्रकारको अतिरिक्त मूल्यको सिर्जना हुन्छ । अन्य फर्महरुले पनि सोही प्रविधि प्रयोग गर्न शुरु गरेपछि अधिक अतिरिक्त मूल्यको अन्त्य हुन्छ ।
अतिरिक्त मूल्यको नाफामा परिवर्तन र यसको वितरण
नाफा अतिरिक्त मूल्यको एक अंश हो । अतिरिक्त मूल्यको वितरण औधोगिक पूँजीपतिहरुको बीच मात्र गरिदैन । औधोगिक पूँजीपति,व्यापारिक पूँजीपति बैकिङ्ग पूँजीपति र जमिनदार वर्गहरुके बीचमा अतिरिक्त मूल्यको परिवर्तित रुप नाफाको वितरण गरिन्छ । यी सम्पूर्ण शोषक वर्गहरुको आम्दानीको श्रोत भनेको मजदुर वर्गबाट सिर्जित अतिरिक्त मूल्य नै हो । श्रमिकहरुद्धारा सिर्जना गरिएको अतिरिक्त मूल्यलाई नाफामा परिवर्तन गरिन्छ र उक्त मुनाफालाई शोषक वर्गहरु बीच बाँडफाँड गरिन्छ ।
औधोगिक पूँजी र मुनाफा
श्रमिकहरुको अतिरिक्त श्रमद्धारा सिर्जित अतिरिक्त मूल्य पूँजीपतिको नाफाको रुपमा परिवर्तित हुन्छ । तर सम्पूर्ण अतिरिक्त मूल्य नाफामा परिवर्तित नहुन सक्छ । कुनै पनि वस्तुको उत्पादन लागत भन्दा त्यसको वास्तविक मूल्य बढी नै हुन्छ । पूँजीवादी उत्पादन लागतमा त्यसमा खर्च गरिएको स्थीर र अस्थिर लागतको बराबर हुन्छ भने वास्तविक मूल्यमा त्यसको साथै अतिरिक्त मूल्य पनि समाविष्ट हुन्छ । कुनै पनि वस्तुको उत्पादन लागतमा नाफा जोडेर नै त्यसको विक्रय मूल्य निर्धारित गरिएको हुन्छ । विक्रय मूल्य वास्तविक मूल्य बराबर छ भने सम्पूर्ण अतिरिक्त मूल्य नाफामा परिवर्तित हुन्छ । विक्रय मूल्य वास्तविक मूल्य भन्दा कम र उत्पादन लागत भन्दा बढी छ भने नाफा त प्राप्त हुन्छ तर सम्पूर्ण अतिरिक्त मूल्य नाफामा परिवर्तित नभएर अतिरिक्त मूल्यको एक हिस्सा मात्र नाफामा परिवर्तित हुन्छ ।
स्थीर पूँजी र अस्थिर पूँजी मिलेर कूल पूँजीको निर्माण हुन्छ र वस्तु उत्पादनको प्रकृयामा अतिरिक्त मूल्यको सिर्जना हुन्छ । स्थीर पूँजी भन्नाले उत्पादनको साधनहरु (भवन,मेसिन,यन्त्र, प्रविधि,कच्चा पदार्थ आदि) मा खर्च गरिने पूँजी र अस्थिर पूँजी भन्नाले श्रमशक्ति खरिद गर्न खर्च गरिने पूँजीको रुपमा बुझ्नुपर्दछ । उत्पादनको प्रकृयामा सिर्जना यो हुने अतिरिक्त मूल्यको निम्ति सबै पूँजीको उहिरुपमा भूमिका रहदैैन । अतिरिक्त मूल्य पूर्णरुपमा अस्थिर पूँजीबाट सिर्जित भएको हुन्छ । तर स्थीर पूँजीका उपभोगबाट मात्र अस्थिर पूँजीले अतिरिक्त मूल्यको सिर्जना गर्न सक्छ । उत्पादन लागतमा दुबै पूँजी समाविष्ट हुने हुनाले अतिरिक्त मूल्यको सिर्जनामा कुन पूँजीको योगदान छ भन्ने कुरामा पूँजीवादी विचारकहरुले भ्रम उत्पन्न गराएका छन् । अतिरिक्त मूल्यलाई अस्थिर पूँजीसंग हिसाब नगरेर कूल पूँजीसंग हिसाब गरिएको अवस्थामा त्यसलाई नाफाको दर भनिन्छ । यसलाई प्रतिशतमा निम्न तरिकाले गणना गरिन्छ ।
नाफाकाे दर (P 1)
अतिरिक्त मूल्य नाफामा रुपान्तरित हुदा त्यसको वास्तविक श्रोत लुक्न पुग्दछ । स्थिर पूँजीले पनि अतिरिक्त मूल्यको सिर्जना गर्ने भ्रम उत्पन्न हुन्छ । तर यथार्थमा अस्थिर पूँजी वा श्रम शक्तिमा खर्च गरिएको पूँजीले मात्र अतिरिक्त मूल्यको सिर्जना गर्दछ । अतिरिक्त मूल्यको दर अतिरिक्त मूल्यलाई अस्थिर पूँजीले भाग गरेर निकालिन्छ प्राय जसो यो दर शत प्रतिशत (१००) प्रतिशत हुन्छ । तर नाफाको दर निकाल्दा अतिरिक्त मूल्यलाई कूल पूँजीले भाग गरिन्छ । प्रायजसो नाफाको दर २० देखि २५ प्रतिशतको बीचमा हुन आउँछ । यसरी अतिरिक्त मूल्यको दरको नाफाको दरमा परिवर्तन हुँदा पूँजीपतिवर्गद्धारा श्रमिक वर्ग माथिको शोषणको मात्राको तीव्रता पनि लुक्न पुग्दछ ।
नाफाको दर प्रमुख रुपमा अतिरिक्त मूल्यको दर र पूँजीको आंगिक बनौट माथि निर्भर गर्दछ । अतिरिक्त मूल्यको दर जति बढी वा कम हुन्छ (अन्य कुरा यथावत रहेमा)नाफाको दर पनि सोहि अनुसार बढी वा कम हुन्छ । साथै कूल पूँजीको आंगिक बनौटले पनि नाफाको दरमा प्रभाव पर्दछ । पूँजीको वृद्धि भएमा नाफाका प्रतिशत कम हुन्छ,पूँजीमा कमी आएमा नाफाको दरमा वृद्धि हुन्छ । अस्थिर पूँजी नै अतिरिक्त मूल्यको श्रोत भएको हुँदा स्थिर पूँजीको तुलनामा अस्थिर पूँजीमा बृद्धि भएमा नाफाको दरमा प्रभाव पर्दछ । पूँजीको वृद्धि भएमा नाफाको प्रतिशत कम हुन्छ, पूँजीमा कमि आएमा नाफाको दरमा वृद्धि हुन्छ भने अस्थिर पूँजीमा कमि आएमा नाफाको दरमा कमि आउँछ ।
व्यापारिक पूँजी र व्यापारिक मुनाफा
औधोगिक पूँजीपतिले प्राप्त गर्ने सम्पूर्ण मुनाफा उसले मात्र लिन सक्दैन, त्यसको एक अंश उसले व्यापारिक पूँजीपतिलाई हस्तान्तरित गर्नुपर्दछ । उधोगपति आफैले आफ्नो उत्पादन उपभोक्ता समक्ष पुर्याउन सक्दैन, त्यसको निम्ति उसले व्यापारीको सहयोग लिनुपर्दछ । व्यापारीले उधोगपतिबाट उत्पादित माललाई उपभोक्ता समक्ष विक्रि गर्दछ । यसरी उत्पादकको वस्तु—पूँजीलाई मुद्रामा परिणत गर्ने कार्य व्यापारीक पूँजीपतिले गर्दछन् । यसो गरे वापत औधोगिक पूँजीपतिले आफूले प्राप्त गर्ने अतिरिक्त मूल्यको एउटा हिस्सा कमिसन वा छुटका रुपमा व्यापारिक पूँजीपतिलाई प्रदान गर्दछ । माक्र्सका अनुसार ”वाणिज्य नाफा अतिरिक्त मूल्यको त्यो भाग हो, जुन उधोगपतिले व्यापारीका लागि कमिसन स्वरुप छुटयाउँछ ।” व्यापारिक पूँजीपतिले लगानी गरेको मुद्रा पूँजीले कुनै मूल्य र अतिरिक्त मूल्य सिर्जना गर्दैन । उसले वस्तुको हस्तान्तरणमा मध्यस्थताको कार्य मात्र गर्दछ र त्यसवापत औधोगिक पूँजीपतिबाट अतिरिक्त मूल्यको एक हिस्सा प्राप्त गर्दछ । व्यापारिक नाफाको श्रोत वस्तु उत्पादन प्रकृयामा श्रमशक्तिको प्रयोग द्धारा सिर्जित अतिरिक्त मूल्य नै हो । यसको अर्थ व्यापारिक पूँजीपतिले प्राप्त गर्ने नाफा औधोगिक नाफाको एक भाग नै हो ।
क्रृण पूँजी र व्याज
उत्पादन प्रकृयाको क्रममा पूँजीपतिहरुलाई मुद्रा पूँजीको न्यूनताको अवस्था सिर्जना हुन गएमा उनीहरुले क्रृण सापटी लिएर उत्पादन प्रकृया अघि बढाँउदछन । यसरी औधोगिक पूँजीपतिले क्रृण रकम प्राप्त गरे वापत क्रृण प्रदान गर्ने पूजीपतिलाई पुरस्कार स्वरुप वा हर्जाना स्वरुप अतिरिक्त मूल्यको केहि अंश प्रदान गर्दछ जसलाई व्याज भनिन्छ ।
माक्र्सका अनुसार ”व्याज अतिरिक्त मूल्यको त्यो भाग हो जुन कार्यशिल पूँजीपति (Functioning Capitalist) ले मौद्रिक पूँजीपति (Money-capitalist) लाई मुद्राको विशिष्ट उपयोग मूल्य प्रयोग गरे वापत प्रदान गर्दछ । मौद्रिक पूँजीमा नाफा उत्पादन गर्न सक्ने विशिष्ट उपयोग मूल्य रहेको हुन्छ , त्यही मूल्य प्रयोग गरेबापत अतिरिक्त मूल्यको एक हिस्सा उधोग पतिले वित्तीय पूँजीपतिलाई तिर्दछ ।” व्याजको रुपमा क्रृणदातालाई दिइने रकम पूँजीको परिचालनबाट प्राप्त हुने नाफाको एउटा हिस्सा हो ।
क्रृण —पूँजीको उपयोगबाट प्राप्त हुने अतिरिक्त मूल्यलाई दुई भागमा विभाजित गरिन्छ । एक भाग औधोगिक पूँजीपतिले नाफाको रुपमा आफैसंग राख्छ भने अर्को भाग क्रृणदातालाई व्याजको रुपमा प्रदान गर्छ । तसर्थ, हामी जसलाई व्याज भन्छौं, त्यो अतिरिक्त मूल्यको एक परिवर्तित रुप मात्र हो र त्यसको श्रोत श्रमिकहरुलाई नदिइकन ठगेको श्रमिकको ज्याला हो ।
क्रृण प्रदान गर्ने संगठित संस्थाको रुपमा बैंक तथा वित्तिय संस्थाहरु सक्रिय रहेका छन् । यी संस्थाहरुले निष्क्रिय पूँजीलाई संकलित गरी उधोगपति तथा व्यापारीहरुलाई क्रृण स्वरुप प्रदान गर्दछ र त्यसको बदलामा व्याजको रुपमा अतिरिक्त मूल्य प्राप्त गर्दछन् ।
भू—सम्पत्ति र भूमि कर वा लगान
सामन्तवादी उत्पादन व्यवस्थामा जस्तै पूँजीवादी उत्पादन व्यवस्थामा पनि जमिन माथिको उत्पादनबाट भूमिपतिहरुले अतिरिक्त मूल्य प्राप्त गर्दछन् । सामन्तीवादी उत्पादन सम्बन्धमा भूमिपतिबाट प्राप्त जमिनमा भूदासहरुले खेती गर्ने र त्यसको बदलामा भूमिपतिहरुको जमिनमा मालिकहरुको लागि निशूल्क श्रम गर्ने परिपाटी थियो । साथै जमिन प्रयोग गरे वापत निश्चित कृषि उत्पादन तिरो वा करका रुपमा भूमिपतिहरुलाई बुझाउने परिपाटि वर्तमान समयमा पनि रहेको छ ।
पूँजीवादि उत्पादन सम्बन्ध अन्र्तगत भूमिपति,जग्गा भाडामा लिने पूँजीपति र खेती कार्य गर्ने कृषि मजदुर गरी तिन वटा वर्गहरु एक आपसमा क्रियशिल रहेका हुन्छन् । जमिनको उपयोग गर्न दिए वापत कृषि पूँजीपतिले भूमिपतिलाई कृषि मजदुरहरु द्धारा सिर्जना गरिएको अतिरिक्त मूल्यको एउटा हिस्सा प्रदान गर्दछ जसलाई भूमिकर वा लगान भनिन्छ । कृषि मजदुरद्धारा सिर्जित अतिरिक्त मूल्यलाई दुई भागमा विभाजन गरिन्छ । एक भाग औसत नाफाको रुपमा कृषि पूँजीपतिले प्राप्त गर्दछ भने औसत नाफा भन्दा बढी भएको अर्को भाग भूमिपतिले भूमिकर वा लगानको रुपमा प्राप्त गर्दछ । यदि भूमिपति आफै पूँजीपति पनि छ, भने अतिरिक्त मूल्यको सम्पूर्ण भाग उसले नै प्राप्त गर्दछ। यसरी भूमि लगान वा करको श्रोत
कृषि मजदुर द्धारा सिर्जित अतिरिक्त मूल्य नै हो ।
माक्र्सका अनुसार भूमि लगान दुई प्रकारको हुन्छ । एक विभेदक लगान (Differential rent) र निरपेक्ष लगान ( absolute rent) । यधपि दुवै लगान उत्पन्न हुने परिस्थितिहरु फरकफरक हुन्छन् । तर तिनिहरुको सार र श्रोत एउटै हो । त्यो हो कृषि मजदुरबाट सिर्जित अतिरिक्त मूल्य ।
विभेदक भूमि लगान
जमिनको उत्पादकत्व तथा भूमिको अवस्थीती का कारण उत्पन्न हुने लगानलाई विभेदक लगान भनिन्छ । उर्वरा शक्ति राम्रो भएको र बजारको नजिक रहेको जमिनले उन्य जमिनको तुलनामा जुन अधिक अतिरिक्त मूल्य उत्पादन गर्छ त्यहि नै विभेदक लगानको श्रोत हो । यसरी अतिरिक्त रुपमा राम्रो रहेको जमिनबाट औसत नाफा भन्दा बढी जुन अतिरिक्त नाफा उत्पन्न हुन्छ,त्यो अतिरिक्त नाफालाई विभेदक लगानको रुपमा भूमिपतिले प्राप्त गर्दछ । बढी रामे जमिनमा कार्य गर्ने श्रमिकहरुको श्रम बढी उत्पादनशिल रहन्छ र त्यसले बढी अतिरिक्त मूल्यको सिर्जना गर्दछ । यहि नै विभेदक लगानको श्रोत हो ।
निरपेक्ष भूमि लगान
निम्न उर्वरा शक्ति भएको जमिनबाट विभेदक लगान उत्पन्न हुदैन । तर निम्न उर्वरा शक्ति भएको जमिनमा पनि कुनै लगान प्राप्त भएन भने भूमिपतिले जमिन बाँझै राख्दछ । राम्रो उर्वरा शक्ति भएको जमिनको उत्पादनले मात्र मानवीय आवश्यक्ता पुरा हुन सक्दैन । तसर्थ निम्न उर्वरा शक्तिको भूमिको प्रयोग गरेवापत भूमिपतिलाई जुन रकम प्रदान गरिन्छ त्यसलाई नै निरपेक्ष लगान भनिन्छ । यो निरपेक्ष लगान भूमिको उर्वरा शक्तिको कारणले प्राप्त भएको होइन, यो त जमिन माथिको स्वामित्वको कारणले भूमिपतिले प्राप्त गरेको हो । यसरी निरपेक्ष भूमिलगान भन्नाले भूमिपतिले कृषि उत्पादनको निम्ति भूमि प्रयोग गर्न दिए वापत प्राप्त गर्ने एउटा निश्चित भाडा हो । निरपेक्ष लगान न्यूनतम उर्वरभूमिको उत्पादन मूल्यको समान राखिएको हुन्छ ।
निरपेक्ष लगान बुझाउनुको साथै कृषि पूँजीपतिले औसत नाफा पनि कमाउने गर्दछ ।यसको निम्ति कृषि उत्पादनको उत्पादन मूल्य भन्दा बढी मूल्यमा बजार मूल्य (Market Price) कायम गरिन्छ । उत्पादन मूल्य र बजार मूल्य बीचको अन्तर नै निरपेक्ष लगानको रुपमा भूमिपतिलाई प्रदान गरिन्छ । यसरी निरपेक्ष लगानले कृषि उत्पादनलाई बढी मँहगो बनाउदैछ । यो लगान तिर्नु नपरेको भए कृषि उपज उत्पादन मूल्यमा विक्री गर्न सकिन्थ्यो । यसरी भूमिपतिले प्राप्त गर्ने यो लगान एकदम परजीवि स्वभावको छ र यसको अन्त्य गर्ने पर्छ । यसो हुनुको कारण भनेको जमिन माथिको भूमिपतिको एकाधिकारी निजी स्वामित्व नै हो ।
पूँजीपतिहरुद्धारा जमिनको उर्बरा शक्तिलाई देखाएरै लगानको श्रोत भूमि नै हौ भन्ने व्याख्या एकदम निराधार छ । कृषि श्रमको शोषण बिना अत्यन्त राम्रो जमिनले पनि कहिल्यै मूल्य उत्पन्न गर्न सक्दैन । माक्र्स भन्नुहुन्छ ”सबै प्रकारको लगान अतिरिक्त मूल्य हो र अतिरिक्त श्रमको उपज हो ।” पूँजीवादी लगान र सामन्तवादी लगान निजी स्वामित्वका परिणाम हुन् तर तिनको शोषणको रुपहरुमा भिन्नता छ । भूमिपतिले किसानबाट प्राप्त गर्ने कूल अतिरिक्त श्रम या उपज नै सामन्ती लगान हो भने पूँजीवादी लगान कृषि पूँजीपतिद्धारा भूमिपतिलाई प्रदान गरिने कृषि श्रमिकबाट ठगेको औसत नाफा भन्दाबढी रहेको अतिरिक्त मूल्य नै हो । सामन्तवादी लगानले भूमिपति र कृषक बीचको शोषणयुक्त सम्बन्धलाई दर्शाउँछ भने पुँजीवादी लगानले भूमिपति र कृषि पूँजीपतिको गठबन्धन र कृषि मजदुरको शोषणयुक्त सम्बन्धलाई व्यक्त गर्दछ । माथि उल्लेखित व्याख्या बाट के प्रष्ट हुन आँउछ भने पूँजीवादी समाजमा अतिरिक्त मूल्य नै श्रम नगर्ने वर्गको आयको श्रोत हो ।
पूँजीवाद (Capitalism)
नाफा आर्जन गर्ने उद्देश्यले संचालित उत्पादनका साधनहरु माथि निजी स्वामित्वमा आधारित एक आर्थिक तथा राजनीतिक प्रणाली नै पूँजीवाद हो । पूँजीवादी व्यवस्थामा उत्पादन सम्बन्धहरु उत्पादन साधनहरु माथिको नीजि स्वामित्वमा आधारित रहेको हुन्छ । पूँजीवादी आर्थिक व्यवस्था श्रमिकहरुको शोषणमा आधारित व्यवस्था हो । अतिरिक्त मूल्यको शोषण नै पूँजीवादको प्रमुख आधार हो । ज्यालादारी श्रमिकको शोषणमा नै पूँजीवाद टिकेको छ । यसरी हामी के भन्न सक्छौं भने श्रमिक वर्गको अतिरिक्त श्रमद्धारा सिर्जना गरिएको अतिरिक्त मूल्यको शोषणद्धारा पूँजीमा वृद्धि गराउने र श्रमिकलाई कंगाल बनाउने आर्थिक तथा राजनीतिक प्रणाली नै पूँजीवाद हो ।
पूँजीवादको संकट (Crisis of Capitalism)
पूँजीवाद एक त्यस्तो सामाजिक आर्थिक व्यवस्था हो जुन सामन्तवादको गर्भबाट उत्पन्न भएको हुन्छ र सोहि गर्भमा समाजवादको भ्रुण तयार गर्दछ र स्वंय पूँजीवादको अन्त्य गर्दछ । पूँजी संचयको बृद्धि संगै एकातिर थोरै व्यक्तिहरुको हातमा पूँजीको एकत्रीकरण भैरहेको हुन्छ र अर्कोतिर अरबौं मानिसहरु चरम गरिबी र भोकको शिकार हुँदै गैरहेको हुन्छन् । हालैको एक अनुसन्धान प्रतिवेदन अनुसार एक प्रतिशत व्यक्तिको हातमा विश्वको ४८ प्रतिशत व्यक्ति वराबरको सम्पत्ति रहेको छ । पूँजीवादी व्यवस्थामा पूँजीपति वर्गको जन्म एक्लै भएको हुदैन, उसको जन्मको साथ साथै सर्वहारा वर्गको पनि जन्म भएको छ । पूँजीवादको विकास जुन रुपमा बढदै जान्छ समाज प्रष्ट रुपमा दुइ विरोधी वर्गमा विभाजित हुदै जान्छ । यस व्यवस्थामा एकातिर प्रशस्त मात्रामा धन दौलत, सम्पत्तिको सिर्जना हुन्छ र त्यो समृद्धि कम भन्दा कम मानिसमा केन्द्रित हुँदै जान्छ भने अर्कोतिर व्यापक मात्रामा भोक,गरीवी र विपन्नताको सिर्जना हुन्छ र विश्वको अत्याधिक व्यक्तिहरु भोक,गरीवी, अभाव,अशिक्षाको शिकार हुन्छन् ।
पूँजीवादी व्यवस्थाका यी दुई आधारभूत वर्गहरु एक आपसमा विरोधी र कहिल्यै मिल्न नसक्ने खालका छन् । पूँजीपति वर्गको स्वार्थ बढी भन्दा बढी अतिरिक्त मूल्यको शोषण गरेर नाफा कमाउनु रहेको छ भने सर्वहारा वर्गको स्वार्थ बढी भन्दा बढी ज्याला प्राप्त गरेर अतिरिक्त मूल्यमा आफ्नो बढी हिस्सा खोज्नु नै हो । ज्याला बढे नाफा घट्छ ज्याला कम भए नाफा बढ्छ । पूँजीवादको विकासको साथ साथै सर्वहारा वर्गको संख्यामा वृद्धि हुन्छ र उनीहरु संगठित हुदै जान्छन् र उनीहरु आफ्नो न्यायपूर्ण आन्दोलनलाई अघि बढाँउदै लान्छन् । सर्वहारा वर्ग लड या मरेको अवस्थामा पुग्दछन् । यस्तो अवस्थामा पूँजीवादी व्यवस्थालाई ध्वस्त पार्दै समाजवादी क्रान्ति हुन्छ र समाजवादको स्थापना हुन्छ । यसरी पूँजीवादको विकास सँगसँगै पूँजीवादको संकटमा वृद्धि हुन्छ र अन्त्यमा पूँजीवादको पतन भै समाजवादको निर्माण हुन्छ ।
सन्दर्भ सामाग्रीहरु
१. एङ्गेल्स,फ्रेडरिक,१८६८,पूँजी की रुपरेखा,माक्र्सकी पूँजी पिपुल्स पब्लिसिङ हाउस नई दिल्ली,
२.निकितिन,प.इ.१९८७,राजनीतिक अर्थशास्त्रको मूलतत्व –हिन्दी अनुवाद),अनुवादकः नरेशबेदी,पपिुल्स पब्लिसिङ हाउस नई दिल्ली,
३. तुङ्ग माओ त्से २०६६सोभियत पाठ्यपुस्तक राजनीतिक अर्थशास्त्रको आलोचनात्मक अध्ययन, अनु। युवराज पन्थी, विविध पुस्तक भण्डार
४. पन्थी, युवराज, २०६२, राजनीतिक अर्थशास्त्रको मूलभूत सिद्धान्त, द शाङ्घाई टेक्स्टबुक अफ पोलिटिकल इकोनोमी, (अनुवाद० सहस्राब्दी प्रकाशन प्रा। लि। काठमाण्डौं ।
५.पौडेल, विजयकुमार, २०६२, मार्क्सवादी अर्थशास्त्र, प्रवहभूमि उद्भव र विकास, एशिया पब्लिकेसन्स प्रा। लिए।
६.बुजुएव, अलेक्जेन्डर, १९८७, पूँजीवाद क्या है ? प्रगति प्रकाशन, मास्को ।
७. बाबुराम, २०६७, आजको मार्क्सवाद र साम्राज्यवाद नवनेपाल प्रकाशन प्रा। लि। ्र
८. रेग्मी, रामराज, २०७६, मार्क्सवादी राजनीतिक अर्थशास्त्र, जागरण बुक हाउस, काठमाण्डौं।
९. लेनिन, भी।आई, १९८०, फ्रेडरिक एङ्गेल्स, संकलित रचनाहरू, प्रगतिप्रकाशन,मास्को ।
१०.कृष्णदास, २०६५ अतिरिक्त मूल्यको सिद्धान्त, केन्द्र, काठमाण्डौं, जनसाहित्य प्रकाशन केन्द्र, काठमाण्डौं
११. Guevara, Che, 2003, Economics and Politics in Transition to Socialism,
१२ Newyork.Marx, Karl, 1970, A Contribution to the Critique of Political Economy,
१३.Marx, Karl (1951) (1863) Theories of Surplus Value, Foreign Languages Publishing House, Moscow.
१४. Marx, Karl, 1967, Capital (English) 4 volumes. Progress Publishers, Moscow
१५.Marx, Karl, 1995, The Poverty of Philosophy, (Eng.)Progress Publishers, Moscow
१६.Marx, Karl and Fredrick Angels, 1976, The Germay Ideology (Eng.) Progress Publishers, Moscow