वर्दघाट । १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बर्दघाट १२ मा शनिवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियागिता गरिएको हो ।
जहदा सामुदायिक पुस्तकालयका अध्यक्ष सुरज केसीको अध्यक्षता र वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा पुस्तकालय दिवस मनाइएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले पुस्तकालयले सिंगो जिल्लाको प्रतिनिधित्व गरेको बताउनु भयो । उहाँले लामोसमयदेखि सञ्चालनमा रहेको पुस्तकालयको विकास क्रमैसँग हुँदै गइरहेको बताउनु भयो ।
प्रतियोगितामा नित्यानन्द रत्न कुमारी माध्यमिक विद्यालयकी छात्रा अन्जली रौनीयार प्रथम, ज्ञानकुन्ज शिक्षा सदनका छात्र संकल्प पाठक द्धितीय र ज्ञान कुन्ज शिक्षा सदनकै छात्रा पूर्णिमा चौधरी तृतीय भएको आयोजक सामुदायिक पुस्तकालयका अध्यक्ष केसीले बताउनु भयो ।
वक्तृत्वकला प्रतियोगितामा बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य दीप प्रकाश लोहनी, तत्कालिन जहदा गाविसका अध्यक्ष एवं सचिव गणेश कुमार पौडेल र सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले निर्णायकको भूमिका निर्वाह गर्नु भएको पुस्तकालयका सचिव गोपाल सिंह आलेले जानकारी दिनु भयो ।
सो क्रममा वर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेल, ज्ञानकुन्ज शिक्षा सदनका शिक्षक रमेश कुमार पौडेल, नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्वराज भट्टराई लगायतले प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई वधाई एवं १७ औं राष्ट्यि पुस्तकालय दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।
विजेताहुन सफल विद्यार्थीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।