परासी । पाल्हीनन्दन गाउँपालिका स्तरीय बहुसरोकारवाला फोरममा आवद्ध दर्जन वढी संघसंस्थाका प्रतिनिधिहरुका बीच शुक्रवार लैङ्गिक समानता प्रवद्र्धन सम्बन्धी २ दिने कार्यशाला शुरु भएको छ ।
सुनवल सामुदायिक विकास केन्द्र सुनवलको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा २ दिने कार्यशालाको शुभारम्भ गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले गाउँपालिका कार्यक्षेत्र बनाएर काम गर्ने सबै स्थानीय तथा राष्ट्रिय स्तरका गैरसरकारी संघसंस्थाहरुले समाज परिचालनमा सकारात्मक एवं प्रभावकारी भूमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीले आगामी दिनमा पाल्हीनन्दनमा कार्यरत संघसंस्थासँग हातेमालो गर्ने प्रतिवद्धछा व्यक्त गर्नु भयो । उहाँले लैंङ्गिक समानता, महिला तथा बालबालिका, अपाङ्गता, लागू औषध विरुद्धको अभियान जस्ता कार्यक्रमले समुदायमा व्यापक जनचेतना फैलाउने काम गरेको बताउनु भयो ।
कार्यक्रममा लैङ्गिक समानता परियोजनाबारे युनाइटेड मिसन टु नेपालकी परियोजना ब्यवस्थापक कविता गुरुङ्ग, अल्पकालिन सेवा केन्द्र परासीकी व्यवस्थापक निसा चौधरी, एकद्धार संकट व्यवस्थापक केन्द्रकी प्रमुख रन्जिता चौधरी, आफन्त नेपालकी संयोजक माधुरी लिम्बु, असल छिमेकी नेपालका संयोजक पुरन सोती मगर, आशिष नेपालीकी जिल्ला संयोजक एलिसा सेन ठकुरी, जिल्ला प्रहरी कार्यालय नवलपरासी, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी एशोदा वि.क, न्यायीक समितिका डब्लु यादव लगायतले आ.ब.२०८०।०८१ मा संस्थाले गरेका कामहरुको समिक्षा प्रस्तुत गर्नु भएको थियो ।
सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता र लैङ्गिक समानता परियोजनाकी संयोजक ज्यातिसिंह रायको सहजिकरणमा कार्यक्रम गरिएको हो । कार्यक्रमको दोश्रो दिन भोली लैङ्गिक समानता सम्बन्धी अनुशिक्षण गरिने परियोजना संयोजक रायले जानकारी दिनु भयो ।