परासी । श्रावण शुल्क पूर्णिमा अर्थात रक्षा बन्धन आउन तीन दिन वाँकी छ । यस बर्ष भदौ ३ गते सोमबार जनै पूर्णिमा तथा रक्षा बन्धन परेको छ । रक्षा वन्धनको अवसर पारेर शुक्रवार पाल्हीनन्दनमा सामुहिक रुपमा रक्षा बन्धन विशेष कार्यक्रम गरिएको छ ।
भाइ बहिनीको पवित्र सम्बन्धलाई प्रतिबिम्वीत गर्ने रक्षा बन्धन पर्व भएकोले महिलाहरुलाई समाजमा पहुँच अभिबृद्धि गर्ने उद्देश्यले सामुदायिक रक्षा बन्धन कार्यक्रम गरिएको हो ।
युनाइटेड मिसन टु नेपाल र सुनवल सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारी तथा पाल्हीनन्दन गाउँ पालिकाको सहकार्यमा सञ्चालित लैङ्गिक समानता परियोजना अन्तर्गत गठित समुहहरुको आयोजनामा रक्षा बन्धन विशेष कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता (दिपक) ले सामुहिक रक्षा बन्धनको कार्यक्रमले आफुलाई छुट्टै किसिमको अनुभुति दिएको बताउनु भयो । अध्यक्ष गुप्ताले गाउँपालिका भित्रका आमाहरु र दिदीवहिनीहरुलाई विभिन्न क्षेत्रमा सहयोग गर्न यस्ता कार्यक्रमले विशेष महत्व राख्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं ५ का अध्यक्ष दयाशंकर त्रिपाठी, वडा नं ६,का अध्यक्ष कृष्णचन्द्र यादव, प्रहरी सहायक निरिक्षक शिवप्रसाद पौडेल र इन्द्रजित यादव, मेलमिलाप संयोजक दिनानाथ यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिलोकी गप्ता लगायतले आफ्नो निकायमा महिलाहरुको पहुँच बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रम पाल्हीनन्दन गाउँपालिकाकी कार्यपालिका सदस्य अनिता सहानीको अध्यक्षता सम्पन्न भएको सामाजिक परिचालक अशोक गुप्ताले नेपाली चेलीलाई जानकारी दिनु भयो।