परासी । नवलपरासी जिल्लाको सदरमुकाम परासीमा २०६५ सालमा स्थापना भएको परासी क्याम्पसले आफ्नो क्रिष्टल बार्षिकोत्सव समारोह शनिवार सम्पन्न गरेको छ । स्थापना कालदेखि हालसम्म बिबिएस उत्तिर्ण भएका पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै क्याम्पसले १५ औं बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बिबिएस उत्तिर्ण विद्यार्थी मध्ये ५३ जना पूर्व विद्यार्थीहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
परासी क्याम्पसका संस्थापक एवं क्याम्पस प्रमुख सुमन गोपाल आचार्यको अध्यक्षता र नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको प्रमुख आतिथ्यमा क्याम्पसले १५ औ बार्षिकोत्सव समारोह मनाएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख आचार्यले परासी क्षेत्रमा आफू सधै शिक्षा क्षेत्रको उन्नती र प्रगतिमा काम गरेको बताउनु भयो । उहाँले परासी सदरमुकाम, जिल्लाको पुरानो नगरपालिका भैकन पनि स्नातकोत्तर तहको पढाई गर्ने क्याम्पसको परिकल्पना नहुनु दुखद भएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले शिक्षा क्षेत्रमा परासी क्याम्पसले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै “बिक्ने होइन की टिक्ने” शिक्षामा जोड दिन आग्रह गर्नु भयो । स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ आफ्नो अध्ययनलाई पूरा गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो।
क्यापसको १५ औ बार्षिकोत्सव कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष एवं युवा व्यवसायी श्रीधर बस्यालले सहजिकरण गर्नु भएको थियो । उहाँले युवा विद्यार्थीहरुलाई सकारात्मक सोंचका साथ अध्ययन अघि वढाउन र समाजको परिवर्तनमा योगदान दिन आग्रह गर्नु भयो ।
सो अवसरमा परासी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द न्यौपानेको स्वागत मन्तव्य र प्राध्यापक वेनीमाधव वश्यालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।