परासी । भोलि मंगलबारदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले ’रेड अलर्ट’ जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा मंगलबारदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागले देशभरका ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो ।
विभागले लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची जिल्लालाई खतराको सूचीमा राखेको छ । भने कोशी प्रदेशका ४ जिल्ला, बाग्मती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका ९ जिल्लालाई खतराको सूचीमा राखेको छ ।
उता सुदूरपश्चिमका ५ जिल्लामा पनि विभागले रेड अलर्ट जारी गरेको छ । यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।
मंगलबार र बुधवार बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन भनेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ ।