नवलपरासीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत वर्ष ४ सय ३९ जनाले न्यूनतम एक सय दिन रोजगारीको अवसर पाएका छन् । दैनिक ज्याला ६ सय ६८ रुपैयाँ कायम भएकोमा जिल्लाका सातै पालिकामा सामाजिक संरक्षणको कार्यक्रममा २ करोड ५६ लाख ३९ हजार १७६ रुपैया खर्च भएको छ ।
“समान काम, समान ज्याला र श्रमको सम्मान” भन्ने मूल ध्ययलाई सरकारले व्यवहारमा लागू गर्न विगत ५ बर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको हो ।
गरीव तथा श्रमगरी खाने वर्गलाई राज्यले पहुँचमा पर्याउने उद्देश्यले शुरु गरेको कार्यक्रमले उनीहरुको व्यक्तिगत जीवनमा धेरै फाइदा गरेको देखिन्छ । यो कार्यक्रम क्षणिक भन्दा पनि नियमित बर्षभरी नै सञ्चालन गर्न सके कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पर्ने थियो तर क्षणिक हुँदा खासै प्रभाव पर्न नसकेको सरोकारवालाहरुले बताउने गरेका छन् ।
कार्यक्रममा जिल्लाको रामग्राम नगरपालिकामा सवैभन्दा वढी ४१ लाख २८ हजार ९०८ रुपैया खर्च भएको छ भने सुस्ता गाउँपालिमा सवैभन्दा कम २० लाख १६ हजार २४ रुपैया खर्चको भएको बताइएको छ । यस्तै सुनवल नगरपालिकामा ४१ लाख ७ हजार ५३२, वर्दघाट नगरपालिकामा ३९ लाख ७३ हजार २६४, पाल्हीनन्दन गाउँपालिकामा ४० लाख ४६ हजार ७६ रुपैया, प्रतापपुर गाउँपालिकामा ३८ लाख १० हजार २७२, र सरावल गाउँपालिकामा ३५ लाख ५७ हजार १०० रुपैया खर्च भएको हो ।
संख्याको हिसावले बर्दघाटमा गत वर्ष ६६ जना, सुनवलमा ९४ जना, रामग्राममा ६५ जना, पाल्हीनन्दनमा ६१ जना, सरावलमा ५५ जना, प्रतापुरमा ५८ जना र सुस्ता गाउँपालिकामा ४० जनाले प्रत्यक्ष रोजगार पाएका थिए ।
उनीहरुलाई कार्यमूल्यांकनको आधारमा रकम भुक्तानी गर्ने गरिएको रामग्राम नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख सुमन ज्ञवालीले जानकारी दिनु भयो । उहाँले पालिका भित्र रोजगार प्राप्त व्यक्तिहरुले कृषि बाटो मर्मत, सार्वजनिक स्थल सरसफाई, नाला तथा कुलो मर्मत, सार्वजनिक स्थलमा बृक्षारोपण, हरियाली प्रवद्र्धन र सरसफाईको काम गरेका छन् । यस्तै पाल्हीनन्दन गाउँपालिकाका ६ वटै वडाहरुमा कृषि सडक निर्माणमा ६१ जनाले काम गरेको पाल्हीनन्दन गाउँपालिकाका रोजगार प्रमुख कृष्ण ढकालले बताउनु भयो ।