परासी । रुपन्देहीको बेलहीया नाकादेखि बुटवलसम्मको चारलेन सडक र सर्भिस लेन आकर्षक र सुविधा सम्पन्न त बन्यो तर ट्राफिक नियमको सहि पालना नगर्दा दैनिक जसो साना ठूला दुर्घटना हुने र मानवीय क्षतिका घटना हुने गरेका छन् । रुपन्देहीमा मेरो सवारी मेरो लेन अभियान सञ्चालन गरिएको थियो । सवारी चालकहरुलाई लेन अनुशासन सिकाउने उद्देश्यलले एक साता अभियान नै चलाईयो तर अनुशासनको पालना भएको छैन ।
गत साता ११ हजार ६ सय १२ वटा ठूला र १९ हजार ५ सय ८३ वटा साना सवारी साधनका चालकहरुलाई लेन अनुशासन बारे सडकमै सिकाईएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक बजिरसिंह विष्टको दावी छ । यस्तै ६ हजार सचेतनामूलक पर्चा, ५ हजार लेन अनुशासनको स्टिकर समेत टाँस गरी सचेतना फैलाएपनि दैनिक गुड्ने लाखौ सवारी साधनले लेन अनुशासन पालना गरेको पाइँदैन ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जबसम्म लेन अनुशासनको पालना हुँदैन तबसम्म सचेतनाको अभियान सञ्चालन गरिने बताएपनि व्यवहारीक कार्यान्वयन फितलो देखिन्छ । सडकमा एक दिन अभियान सञ्चालन गरेर नपुग्ने नियम कडा गर्ने तर सवारी साधन चालकलाई दुःख नदिने नियत राख्न सरोकारवालाहरुको प्रशासनलाई आग्रह गरेका छन् ।
बुटवल बेलहिया, बेलहिया बुटवल चल्ने यात्रु वहाक वस, बस विसौनिमा रोकिदैनन, जहाँ सवारी पायो त्यहीँ रोकिन्छन् । जसले गर्दा पछाडिबाट लेन अनुशासन पालना गरी चल्ने दुईपाँग्रे साधनलाई ठूलो समस्या हुने गरेको छ । यात्रु ओराल्ने र चढाउने काम बस विसौनीमा मात्र गर्ने हो भने दुईपाँग्रे सवारीकालागि जोखिम कम हुने सोही सडकमा यात्रा गर्ने एन पि पाण्डेको भनाई छ ।
जव बस गलत ठाउँमा रोकिन्छ, पछाडिबाट आउने सवारी साधनले फेरी गलत लेनको प्रयोग गर्न वाध्य हुन्छन् । यस्तै यात्रुले पनि सडकको जेब्रा क्रसिङ्गको प्रयोग गरेको पाईदैन, बाटो काट्ने व्यक्तिले सडकको दायाँ बाँया जहाँ भेटियो त्यहिबाट बाटो काट्ने गर्दा थप दुर्घटनाको जोखिम बढेको छ ।
यस्तै सर्भिस लेनमा पनि उस्तै सास्ती छ, व्यवसायीहरुले घण्टौ सवारी पार्किङ्ग गर्नेदेखि, नो पाकिङ्ग मै ढुक्कसँग गाडि पार्किङ्ग गर्ने साथै ओभर स्पिडमा सवारी साधन गुडाउने गर्दा जोखिम वढ्दो छ ।