परासी । रामग्राम नगरपालिकामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना वढ्न थालेका छन् । १८ वटा वडा रहेको नगरपालिकामा सवैभन्दा वढी सम्बन्ध विच्छेद रामग्राम वडा नं. १८ मा भएको पाइएको छ ।
आ.व २०८०।०८१ को तथ्याँङ्कलाई हेर्दा ३१ वटा सम्बन्ध विच्छेदका घटना भएको रामग्राम नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाले जनाएको छ । घटना दर्ता विवरण अनुसार रामग्राम १८ मा गत बर्ष ११ वटा सम्बन्ध विच्छेदका घटना भएका हुन् ।
यस्तै विवाह दर्ता ४ सय ६० वटा, घटना दर्ताको आधारमा ९ सय ५७ जनाको जन्म भएको छ भने ४ सय १४ जनाको विभिन्न कालगतिले मृत्यू पनि भएको छ ।
यस्तै नगरभित्र बसाई सराई गरी आउनेको संख्या १९२ जना छन् भने बसाई सराई गरी जानेको संस्था त्यो भन्दा वढी अर्थात २ सय ४ रहेको छ ।
रामग्राम नगरपालिकामा जेष्ठ नागरिकको संख्या ३ हजार १३ जना, जेष्ठ नागरिक(दलित)को संख्या ४ सय ४३ जना, जेष्ठ नागरिक एकल महिलाको संख्या ३ सय ७१ जना, विधवा ८ सय ४९ जना, पूर्ण अपाङ्गता भएका व्यक्तहरुको संख्या १ सय ३६ जना, अति असक्त अपाङ्गता भएका ३ सय ४० जना रहेको तथ्याङ्क रहेको छ ।
यस्तै दलित बालबालिकाको ६ सय ६ जना र लोपोन्मुख जाति गरी कुल सामाजिक सुरक्षामा समावेश हुनेको संख्या ५ हजार ९ सय २ जना रहेको नगरपालिकाले जनाएको छ । सामाजिक सुरक्षा वापतको रकम नगरपालिकाले विभिन्न बैङ्क मार्फत भुक्तानी गर्ने गरेको छ । नगरपालिकाले ज्योती विकास बैंक, लक्ष्मि सनराईज बैक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट सामाजिक सुरक्षाको रकम भुक्तानी गर्दै आएको छ । पछिल्लो त्रैमासिकमा नगरपालिकाले ५ करोड ५२ लाख २० हजार ३४२ रुपैया वितरण गरेको पञ्जिकरण उपशाखाका प्रमुख रिजमान अहमद अन्सारीले जानकारी दिनु भयो ।