सुरेश, परासी । नवलपरासीको मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुुनवल ४ ले गरीव तथा अति विपन्न उपभोक्ताहरुलाई शुक्रवार अनुदानका सामाग्री वितरण गरेको छ ।
वन उपभोक्ता समुहका अध्यक्ष यज्ञप्रसाद पाण्डेको अध्यक्षता र डिभिजन वन कार्यालय परासीका डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेको प्रमुख आतिथ्यमा अनुदान सामाग्री वितरण गरिएको हो । वन उपभोक्ता समुहले हरेक वर्ष जिबिकोपार्जन तथा गरिबी निवारण कार्यक्रम अन्तरगत विभिन्न अनुदानको सामाग्री वितरण गर्दै आएको छ ।
वन उपभोक्ता समितिले आफ्ना ३८ जना उपभोक्ता र एक मन्दिर व्यवस्थापन समितिलाई सामग्री वितरण गरेको हो । २० जना उपभोक्तालाई बाख्रा, ६ जनालाई पाँडी, ५ जनालाई घाँस कट्ने मेसिन र टोल लक्षित गरी किसानहरूको लागि ३ वटा टोललाई पम्पसेट, ४ वटा टोललाई पानी टान्ने मोटर र सुनवल १ मा रहेको शिवालय मन्दिरलाई २० वटा कुर्सी वितरण गरिएको वन समूहका कोषाध्यक्ष अवधेश यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा सब डिभिजन वन कार्यालय सुनवलका प्रमुख मनोज न्यौपाने, वन समूहका उपाध्यक्ष एवम् रामग्राम नगरपालिका वडा नं. ४ का वडा सदस्य प्रभुलाल मौर्य, पत्रकार सुरेश यादव र कल्पना खरेल लगायतले बोल्नुभएको वन समूहकी सचिव समिक्षा सिंजापतिले बताउनु भयो ।
वन उपभोक्ता समूहमा ६५० जना उपभोक्ता रहेको बताइएको छ भने वनको कार्यक्षेत्र सुनवल नगरपालिकाको वडा नं. १, ३ र ४, रामग्राम नगरपालिका वडा नं. ४, पाल्हीनन्दन गाउँपालिकाको वडा नं. १ को दुईवटा टोल रहेको समूहका उपाध्यक्ष प्रभुलाल मौर्यले जानकारी दिनु भयो ।