नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले सहकारी क्षेत्रमा देखिएका बिकृती अन्त्य गर्न सबै एकजुट हुन आग्रह गर्नु भएको छ । पूर्व राज्यमन्त्री एवं सहकारी महासंघका सल्लाहाकार कण्डेलले “यदि गलत व्यक्तिलाई दण्डित गर्न सकिएन भने त्यसले समाजमा दण्डहिनता बढाउने, बित्तिय अपचलन गर्ने, चन्दा उठाउने र ऋण तिनु पर्दैन भन्ने गलत सन्देश फैलाउने भएकोले त्यस्ता व्यक्ति र कामलाई निरुन्साहित गर्नु पर्नेमा जोड दिनु भयो ।
नवलपरासीमा आज सम्पन्न सहकारीका सरोकारवाला बीचको छलफल कार्यक्रममा पूर्व गृह राज्यमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका सल्लाहाकार कण्डेलले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्याल, बर्दघाटका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, सरावलका अध्यक्ष सुखाडिप्रसाद चौधरी, प्रतापपुरका अध्यक्ष उमेशचन्द्र यादव र सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सहकारी क्षेत्रको व्यवस्थापन, नियमन र सहजिकरण गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले सहजिकरण गर्नु भएको छलफल कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल, जिल्ला वचत संघका अध्यक्ष राजन आचार्य, विभिन्न सहकारी संस्थाका अध्यक्षहरुले सहकारीमा देखिएका समस्याहरुको बारेमा चर्चा गर्नु भएको थियो ।
पछिल्लो समयमा सहकारी संस्थाहरुले सदस्यहरुबाट नियमित ऋण तथा व्याज असुली गर्न समस्या भईरहेको बताएका थिए । भने ऋण तिर्नु पर्दैन भन्दै गलत प्रचार गर्दै हिड्ने व्यक्ति तथा समूहबाट सचेत रहनु पर्नेमा जोड दिएका छन् ।
डिभिजन सहकारी कार्यालयको खारेजी, स्थानीय तहहरुले सहकारीको प्रभावकारी अनुगमन र नियमन गर्न नसक्नु, जिल्ला संघ तथा विषयगत सहकारी संघहरुको सक्रियतामा कमि जस्ता कारणले सहकारी क्षेत्र समस्याग्रस्त बन्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।