परासी । रामग्राम नगरपालिकाले नगरभित्रका महिलाहरुको स्वास्थ्यलाई निकै चासो राखेर सहुलियतका कार्यक्रम गर्दै आएको छ । चालु आ.ब.मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाहरुको स्वास्थ्य चेकजाँच र सहुलियत प्रदान गरेको हो ।
नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे, निःशुल्क एम्बुलेन्स सेवा, पोषण झोला वितरण, महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई निःशुल्क स्वास्थ्य विमा, घरदैलो मै पुगेर स्वास्थ्य परामर्श र सामुदायिक विद्यालयका छात्राहरुलाई स्यानेटरी प्याड वितरण जस्ता उल्लेखनीय काम गरेको छ ।
नगरपालिकाले घरदैलो भिडियो एक्सरे कार्यक्रम अन्तरर्गत नगरभित्रका ८ वटा स्थानबाट गर्भवति महिलाहरुको निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गरेको छ । साथै गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की वितरण गरेको जनाएको छ । नगरपालिकाले चालु आ.ब.मा ८ सय ८२ जना महिलाहरुलाई अल्ट्रासाउण्ड सेवा प्रदान गरेको हो भने पालिकाले रेफर गर्ने महिलाहरु २३ जना रहेका छन् ।
चालु आ.ब मा नगरपालिकाकाले ४४ जना गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ भने गर्भवती र सुत्केरी महिलाहरुका लागि निःशुल्क पोषण झोला पनि वितरण गरेको हो । स्वास्थ्य शाखाका अनुसार गत बर्ष गर्भवती ६ सय १९ जना र सुत्केरी २ सय ७६ गरी ८ सय ९५ जनालाई पोषण झोला वितरण भएको थियो ।
रामग्राम नगरपालिकाले यसै बर्षदेखि सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाहरुकालागि निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिनु भयो ।
सुत्केरी महिलाहरुलाई घरमै पुगेर आमा र बच्चा दुवैको प्रोटोकल अनुसार जाँच तथा परामर्श, कुपोषित बालबालिका खोजपडताल, विद्यालय स्वास्थ्य शिक्षा, कुष्ठरोगी तथा क्षयरोगी विरामीको खोजपडताल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस्तै नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुकालागि निःशुल्क स्यानेटरी प्याड वितरण गरेको हो ।