परासी । सरावल गाउँपालिकाले आ.ब.२०८०।०८१ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई आइतार सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा नागरिकले विकास निर्माण र सेवा प्रवाहबारे चासो राख्दै गाउँपालिकाले गर्ने बैठक वा सभाहरु प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् ।गाउँपालिकाले सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जको सञ्चालन र सहकार्यमा वडा नं. ६ को महेन्द्र जनता माध्यमिक विद्यालय गडौरीमा सार्वजनिक सुनुवाई गरेको हो ।
सार्वजनिक सुनुवाईमा नागरिकहरुले विकास निर्माण र सेवा प्रवाहसम्बन्धी प्रश्न जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृतलाई राखेका छन् । उनीहरुले सडक बत्ति, बाढी, भौतिक निर्माण, औषधी प्रयाप्त नभएको भन्दै प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाईमा विषयगत शाखाहरुको प्रगति विवरण बिस्तृत रुपमा आउन नसकेको, एसईईको नतिजा सार्वजनिक गर्न ढिलागरिएको, कृषि क्षेत्र र कृषी उपकरण खरिदमा उपकरण वितरण गर्दा पारदर्शीता हुनु पर्ने बताएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सरावलमा दलित, महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाती लक्षित बजेटमा पारदर्शिता अपनाउनु पर्नेमा जोड दिएका छन्, उनीहरुले योजना सम्पन्न हुँदा प्रभावकारी अनुगमन र मूल्यांकन गर्न गाउँपालिका थप जिम्मेवार हुनु पर्ने बताएका हुन् ।
कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले गाउँपालिले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्य बमोजिम काम गरिएको बताउनु भयो । अध्यक्ष चौधरीले चालु आ.ब.मा वडा नं. ६ र ७ को वडा कार्यालय भवन र पालिकाको प्रशासनीक भवन निर्माणकोलागि जग्गा प्राप्त गरिएको बताउनु भयो । उहाँले पालिकामा १५ सैयाको अस्पतालको लागि जग्गा प्राप्ति अन्तिम चरणमा रहेको बताउनु भएको छ । उहाँले आफू निर्वाचित भएर आएपछि थुप्रै काम सम्पन्न गरेको बताउनु भयो । अध्यक्ष चौधरीले युवा लक्षित गरिएका कार्यक्रमहरुले युवाहरुलाई स्वरोजगार बनाउन मद्दत गर्ने बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष वासमती हरिजन, वडा नं. ४ का अध्यक्ष सुरेश प्रसाद यादव, वडा नं. ५ का अध्यक्ष लक्ष्मण चौधरी, वडा नं. ६ का अध्यक्ष छोटेलाल गुप्ता, स्वास्थ्य शाखाका प्रमुख ओमनारायण देवकोटा, कुषि शाखाका प्रमुख कुलदिप नारायण मिश्र लगायतले उठेका प्रश्नको जवाफ दिनु भएको थियो ।
त्यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले चालु आ.ब.को यो अवधिमा भए गरेका विकास निर्माण र सेवा प्रवाहको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।