परासी । नेपाली सेनाले नारायणी पारी सुस्तामा रहेको एकमात्र जनता दलित आधारभूत विद्यालयमा गोरख पुस्तकालय निमार्ण गरेको छ । गएको फागुनबाट निर्माण शुरु गरी शुक्रवार एक कार्यक्रमका बीच पुस्तकालय भवनको उद्घाटन र पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटर अन्तरगत २२ नं. वाहिनी अड्डाको सहकार्यमा परासी स्थित गोरखदल गणले उक्त भवन र पुस्तकालय निर्माण गरेको हो । गोखरदल गणले कुल १५ लाखमा उक्त भवनको निर्माणकार्य सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सुनिल श्रेष्ठले जनता दलित आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बृजेश शाह र प्रधानाध्यापक माधव थापालाई हस्तान्तरण गर्नु भएको हो ।
सो कार्यक्रमा गोरखदल गणका गणपती प्रमुख सेनानी प्रणयजङ्ग मल्लले नेपाली सेनाले जनहितको कार्यगर्ने नीति अनुरुप पुस्तकालय स्थापना गरेको बताउनु भयो । प्रमुख सेनानी मल्लले विद्यालय परिवारले दिएको साथ र सहयोगकालागि आभारसमेत व्यक्त गर्नु भएको छ । यसअघि प्रमुख सेनानी गणपती ज्ञानकाजी श्रेष्ठले करिव १ लाख बराबरका पुस्तक विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो कार्यक्रममा २२ नं. वाहिनी अड्डाका वाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, सशत्र प्रहरी बल २६ नं. गणका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्ले, अनुसन्धान निर्देशक बिमल घिमिरे र विद्यालय परिवार, अभिभावक लगायतको उपस्थिति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेश शाहले जानकारी दिनु भयो ।