परासी । पूर्व प्रधानमन्त्री एवं एतिहासिक व्यक्तित्व टंकप्रसाद आचार्यको जन्मथलो यतिवेला जिर्ण र खण्डहर बन्दै गइरहेको छ । रामग्राम नगरपालिका वडा नं. ३, मालटोलमा अवस्थित १०० बर्ष भन्दा ठूलो इतिहास बोकेको भवन अहिले संरक्षणको अभावमा जिर्ण र खण्डहर बन्दै गइरहेको हो।
टंकप्रसाद आचार्य, प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनीतिक पार्टी नेपाल प्रजा परिषदका संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री समेत रहनु भएको थियो । आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार रामग्राम नगरपालिका वडा नं. ३ मोलटोलमा भएको हो । १०० बर्षको गर्भिलो इतिहास बोकेको स्थल परासीमै भए पनि आचार्यको जन्मथलो संरक्षणको अभावले जिर्ण बन्दै गएको छ ।
नेपालको प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको लेखाजोखा, वर्गीकरण तथा संरक्षणका लागि काम गर्ने सरकारी निकायको रुपमा रहेको पुरातत्व विभागले गंभीर चासो नलिंदा आचार्यको जन्मथलो जिर्ण वन्दै गएको हो । विभिन्न समयमा संरक्षणको प्रयास भएपनि यसले पूर्ण रुप लिन सकिरहेको छैन ।
लुम्बिनी प्रदेश सरकारले गएको ३ बर्षदेखि पुनःनिर्माणकालागि भन्दै बजेट विनियोजन गरे पनि पुरातत्व विभागका कारण कुनै पनि काम अघि वढ्न नसकेको पूर्वमन्त्री समेत रहनु भएका टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठानका सदस्य बैजनाथ चौधरीले बताउनु भयो । “आफूपनि नगर्ने र अन्य निकायलाई पनि गर्न नदिने पुरातत्व विभागको परिपाटका कारण भवन जिर्ण बन्दै गएको पूर्वमन्त्री चौधरीको दावी छ । यता प्रदेशको बजेट कार्यान्वय गर्ने उद्देश्यले निर्माण भएको उपभोक्ता समितिले काम शुरु नगर्दै आएको अवरोधले आफूहरुलाई दुखी बनाएको उपभोक्ता समितिका अध्यक्ष मुकेशराज रंजितकारले बताउनु भयो । उहाँका अनुसार स्थानीय उपभोक्ता, रामग्राम नगरपालिका र लुम्बिनी प्रदेश सरकारले समेतले चासो लिए पनि पुरातत्व विभागसँग पुनःनिर्माण सम्बन्धी कुरा नमिल्दा पूर्वप्रधानमन्त्री आचार्यको जन्मथलो संरक्षणको अभावमा थप जिर्ण बन्दै गएको हो ।
टंकप्रसाद आचार्यले वि.सं. १९९३ मा २२ वर्षको उमेरमा नेपाल प्रजा परिषद्को स्थापना गर्नु भयो । उहाँले वि.सं. १९९७ मा राणा शासन विरुद्ध पर्चा छरेपछि पक्राउ पर्ने २ सयजनामा उहाँ पनि हुनु हुन्थ्यो । टङ्कप्रसाद आचार्य जनकपुरमा गिरफ्तार हुनुभयो । माघको राति पचली र धर्मभक्तलाई १२ माघमा सिफलको उकालोमा रूखमा झुन्ड्याइयो, दशरथ चन्द र गङ्गालाललाई १४ माघमा विष्णुमती नदीतटको शोभा भगवती मन्दिर छेउ गोली हानियो भने टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर ब्राह्मणका लागि मृत्युदण्ड समान सजाय दिइएको इतिहास छ ।