परासी । सुनवलमा आइतबार खानेपानी र सरसफाई सम्बन्धी अन्तरक्रिया र सुनवल क्षेत्रका सरसफाईकर्मीहरुलाई सम्मान गरिएको छ । २५ औ राष्ट्रिय सरसफाई सप्ताहको आज पाँचौ दिन सरसफाई गर्ने सफाइकर्मीहरुलाई सम्मान गरिएको हो ।
सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षता र सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रम सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज र सुनवल खानेपानी संस्था लगायत दर्जनबढी संघसंस्थाको सहकार्यमा गरिएको थियो ।
सो अवसरमा बोल्दै, आफ्नो कार्यकालको पहिलो निर्णय विपन्नहरुलाई निःशुल्क पानी खुवाउने भएकोले सोहि अनुसार काम गरिएको नगरप्रमुख अर्यालले बताउनु भएको छ । नगरप्रमुख अर्यालले आफ्नो निर्णयमा प्रतिवद्ध रहेको बताउँदै “जुन नगरवासीसँग आर्थिक अभाव छ, धारा पनि जोड्न सक्नु हुन्न, उहाँहरुलाई संस्था मार्फत निःशुल्क धारा जडानको प्रकृया अगाडि वढाइएको बताउनु भयो ।”
कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी महासंघका संयोजक थानप्रसाद गैरेले अहिले वातावरण र खानेपानी क्षेत्रमा जुन हिसावले प्रदुर्षण भइरहेको छ त्यसले समग्र मानव र जीवजन्तुमा नकारात्मक असर परेको बताउनु भयो । उहाँले वातावरणको संरक्षणमा सवै सजग हुनु पर्ने बताउनु भयो । उहाँले सबै क्षेत्रका काम गर्ने अभियन्ताहरु एकै ठाउँमा केन्द्रीत भएर लागे खानेपानी र सरसफाईका क्षेत्रका चुनौतीहरुलाई समाधान गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नं. ६ का अध्यक्ष एवं वन तथा वातावरण संयोजक हिमलाल चापागाईं, लोकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष गुप्त बहादुर केसी, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मी, सल्लाहाकार कृष्णप्रसाद लामिछाने, प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले सरसफाई र खानेपानीको महत्वका विषयमा चर्चा गर्नु भएको थियो ।
सो कार्यक्रममा सुनवल नगरपालिकाका १३ वटै वडामा दैनिक जसो सरसफाईमा खटिएका १२ जना सरसफाई कर्मीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष न्यौपानेले हालसम्म खानेपानीले गरेका कामको विवरण प्रस्तुत गर्नु भयो ।
अध्यक्ष न्यौपानेले सुनवल खानेपानी संस्थाले सुनवलका ६ वटा वडाका ३२ हजार वढी जनसंख्यालाई पानीको पहुँचमा पुर्याएको बताउनु भयो ।
२५ औ राष्ट्रिय सरसफाई सप्ताहको भोलि छैठौ दिन परासीमा खानेपानी र सरसफाई सम्बन्धी अन्तक्रिया तथा सरसफाईकर्मी सम्मान कार्यक्रम गरिने सामुदायिक रेडियो परासीका अध्यक्ष रेश्मीले बताउनु भयो ।