परासी । सरावल गाउँपालिकाले आ.ब.२०८०।०८१ को दोश्रो चौमासिक अवधिको वडा स्तरीय सार्वजनिक सुनुवाई आज वडा नं. २ मा सम्पन्न गरेको छ । वडा नं. १, २ र ३ लाई लक्षित गरी गाउँपालिकाले मनरीमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित वडावासीहरुले सूचना प्रणालीलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । उनीहरुले पालिकाले दिने सेवाबारे बडावासीलाई सूचनाको अभाव रहेको बताए । वडाबासीहरुले सञ्चालित कार्यक्रमहरुको प्रभावकारी अनुगमन, सिंचाईं, विउ विजन र मलखादको प्रयाप्त व्यवस्था हुनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा वडा नं. २ का किशनदत्त थारुले गएको १७ गते आएको हावाहरुले अझै पनि हामी अन्धकारमा छौ, पालिकाले व्यवस्था गर्नु पर्दैन भन्दै प्रश्न गर्नु भयो । यस्तै स्थानीय पंचराम चौधरीले अपुरा र अधुरा आयोजना पुरा गरेर मात्र अन्य क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गर्नु भयो । उहाँले सार्वजनिक सुनुवाईमा नागरिकहरुले उठाएका विषयवस्तुहरु आगामी आर्थिक बर्षको योजनामा समावेश गर्न जनप्रतिधिहरुलाई सुझाव पनि दिनु भयो ।
यस्तै सार्वजनिक सुनुवाईमा सरावल २ का रुदल हरिजन, देवराज चौधरी, हरिनारायण यादव, राजाराम यादव, नारदमुनी चौधरी लगायतले प्रश्न राख्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी, वडा नं. १ का वडा अध्यक्ष विष्णुप्रसाद भट्टराई, वडा नं. २ का कार्यवाहक अध्यक्ष तुफानी गुप्ता, वडा नं. ३ का अध्यक्ष फिरङ्गीप्रसाद चौधरी लगायतले वडावासीले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिनु भएको थियो ।
सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले चालु आ.ब. २०८०।०८१ मा पालिकाबाट भए गरेका विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा प्रस्तुतिकरण गर्नु भएको थियो भने सेवाग्राहीबाट आएका प्रश्नहरुको जवाफ पनि दिनु भएको थियो ।
सार्वजनिक सुनुवाई सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जको संचालन र सहकार्यमा गरिएको गाउँपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख इश्वरीप्रसाद खनालले बताउनु भयो ।