परासी । बुधवार नवलपरासीको सदरमुकाम परासीमा जिल्लाका कलाकारहरु जुर्मुराएको देखियो । जिल्ला भरबाट आफ्नो कला र सृजना देखाउन आइपुगेका कलाकारहरुले ढुँगामा विभिन्न रंगिन चित्र कोरेर आफ्नो कला प्रस्तुत गरेका छन् । ५२ औं विश्व वातावरण दिवसको दिन सामुदायिक रेडियो परासीले आयोजना गरेको “स्टोन आर्ट्स वर्कसप २” मा कलाकारले दर्जनौ ढुँगालाई रंगिन बनाएका हुन् ।
सामाजिक रुपमा सचेतना फैलाउन कुनै ठूलो मूल्यवान वस्तुको खरिद गर्नु नपर्ने उदाहरण कलाकारहरुले प्रस्तुत गरेका छन् । नवलपरासी आर्टिष्ट संघको सहकार्यमा गरिएको ढुँगामा कला कार्यशालामा ट्राफिक सचेतना, वन तथा वातावरणको संरक्षण, खानेपानी र सरसफाई, तथा मन छुने लाइनहरु सचेतनाकालागि कलाकारहरुले लेखे ।
आफ्नो जीवनको लामो समय कलम र कुची, ब्रस र पेन्टमा बिताउनु भएका वर्दघाट १३ का बरिष्ठ कलाकार मन गोल्डीले “विरुवा रोपौ, संरक्षण गरौं र वातावरण बचाऔं” भन्ने सन्देश सहितको ढँुगामा भरिएको कला मोहित नै बनाउने खालको छ ।
सरावल ३ का बरिष्ट कलाकार नरवहादुर विक अहिले काठमाण्डौं बस्नु हुन्छ । विके आट्स ग्यालेरीको नामले प्रख्यात कलाकार विकको अनुभव बेग्लै छ । उहाँ भन्नु हुन्छ, “ मैले बनाएको फोटो हेरेर नेपाल भ्रमणमा प्रर्यटक आउने गरेका छन् ।”
“हाम्रो रामग्राम, राम्रो रामग्राम” रामग्राम बासीका लागि मन छुने नारा हो । जव परासीमा जुटेका कलाकारहरुले त्यो मन नारा ढुँगामा लेखे, त्यसले स्थानीय बासीको ध्यान तान्यो । बुद्धको अष्तुधातु रहेको रामग्राम र लेखिएको नाराले स्थानीय सिएम चौधरी मन्त्रमुग्ध नै बन्नु भयो ।
परासीमा जुटेका दर्जनौ कलाकारहरुले परासीको बुद्धचोक र आसपासका विभिन्न क्षेत्रमा भित्तामा चित्र कोर्ने र सहरलाई सौन्दर्यकरण गर्ने सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले बताउनु भयो ।