परासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरीका आगलागी पिडितहरुलाई गाउँपालिकाले नगद आर्थिक सहयोग प्रदान गरेको छ । आगलागीमा परि पिडित भएका १६ जनालाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) ले जानकारी दिनुभयो ।
गाउँपालिकाले आगलागीबाट पूर्ण क्षति भएका ४ जनालाई ७० हजार, आंशिकक्षति भएका ५ जनालाई ४० हजार, न्यून क्षति भएका ६ जनालाई २० हजार र अति न्यून क्षति भएका १ जनालाई १० हजार प्रदान गरेको हो । गाउँपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णयानुसार रकम सम्बन्धित आगलागी पिडितको बैंक खातामा जम्मा गरिएको गाउँपालिकाका लेखा अधिकृत दिनानाथ ढकालले जानकारी दिनुभयो ।
यसअघि पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले पनि आगलागी पिडितलाई ७६ हजार नगद रकम प्रदान गर्नु भएको थियो । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, नेपाल रेडक्रस सोसाईटी, राष्ट्रिय युवा संघ नेपाल, रोटरी क्लव अफ नवलपरासी, इन्द्रेणी सामाजिक विकास मंच, सुनवल सामुदायिक विकास केन्द्र, युनाइटेट मिसन टु नेपाल जस्ता स्थानीय संघसंस्था तथा व्यक्तिहरुले आगलागी पिडितलाई आर्थिक, अन्नवाली र लुगाफाटा सहयोग स्वरुप प्रदान भएको आगलागीबाट पूर्णक्षती भएका एक स्थानीय चन्ना धोवीले बताउनु भयो ।
यस्तै आगलागीबाट पूर्णक्षती भएका अर्का चन्द्रिका धोविले केही महिना पुग्ने अन्नवाली प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने व्यक्ति, संघ संस्था र सरकारलाई धन्यवाद दिनुभयो । आगलागी गएको बैशाख ७ गते भएको थियो भने आगलागीबाट पडरीका कुल ८० जना प्रभावित भएका थिए ।