परासी । आज महिनावारी स्वच्छता दिवस, महिलाहरु महिनावारी हुँदाको अवस्थामा गरीने सरसफाईलाई दिवसको रुपमा लिने गरिएको छ । सन् २०१४ देखि प्रत्येक बर्षको मे २८ मा विश्व महिनावारी स्वच्छता दिवस मनाउने प्रचलन छ ।
महिनावारी स्वच्छता दिवसको अवसरमा सोमबार परासीमा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । “महिनावारी मैत्री समाजका लागि हातेमालो” भन्ने नाराका साथ परासीमा हाजिरी जवाफ प्रतियागिता सम्पन्न भएको हो ।
स्वास्थ्य कार्यालय नवलपरासीको आयोजना र पवन माध्यमिक विद्यालय परासीको व्यवस्थापनमा हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा रामग्राम नगरपालिकाको पवन माध्यमिक विद्यालय प्रथम, रामग्राम नगरपालिकाकै आदर्श माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय र पवन माध्यमिक विद्यालयको संयुक्त टोली द्वितीय र बसन्त माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय र महेन्द्र जनता माध्यमिक विद्यालय सरावलको संयुक्त टोली तृतीय भएको आयोजक स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । यस्तै मुनलाईट माध्यमिक विद्यालय,, राजनारायण माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालय पाल्हीनन्दन गाउँपालिकाको संयुक्त टोलीले सान्त्वना पुरकार जितेको हो ।
कार्यक्रममा पवन माध्यमिक विद्यालय परासीका प्रधानाध्यापक अरविन्द पाठकको अध्यक्षता र स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओमप्रकाश पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
महिनावारीका विषयमा समाजमा अझै पनि अन्धविश्वास कायमै रहेकाले महिला र महिनावारीका बीचको वास्तविकतालाई व्यवहारमा सकारात्मक ढंगले नलिंदा महिलाहरुले थुप्रै समस्या झेल्नु परेको छ । त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय नवलपरासीले महिनावारी मैत्री व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन पालिका स्तरीय हाजिरी जवाफ सञ्चालन गरिएको पब्लीक हेल्थ नर्स कल्पना पौडेलले नेपाली चेलीलाई जानकारी दिनु भयो ।