परासी । नवलपरासीमा सर्वाधिक धनराशीको गोल्ड कप फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा यहि जेठ १७ गतेदेखि २४ गतेसम्म भुमहिको सहिद स्मृति रंगशालामा फूटबल प्रतियोगिता हुन लागेको हो । प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनीले आइतबार भूमहीमा सम्पन्न पत्रकार सम्मेलनमा खेल सञ्चालन हुने जानकारी गराउनु भएको हो ।
कुल आठ वटा टिमको सहभागीता रहेको फूटवल प्रतियोगितामा विजयी हुने टिमले ५ लाख ११ हजार र उपविजेता टिमले ३ लाख ११ हजार नगद राशि पुरस्कार प्राप्त गर्ने छन् ।
ए डिभिजनमा रहेको नेपाल पुलिस क्लव, र मोफसलका क्लवहरु हनामी बीएफसी चितवन, सुदुरपश्चिम ११, सहारा क्लव पोखरा, पाल्पा ११, कोहलपुर सहारा क्लव वाँके, जिल्लाको प्रतिनिधित्व गर्दै नवलपरासी ११ र आयोजक राइजिङ्ग स्टार एफ सी बीच नकआउटको आधारमा खेल सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष पंगेनीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको हो ।
प्रतियोगितामा म्याच अफद सिरिजलाई नगद २५ हजार, विभिन्न पाँच विधामा उत्कृट खेलाडिलाई ५/५ हजार र म्यान अफ द म्याच लाई १० हजारको पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनकालागि करिव २५ लाख ५० हजार अनुमान गरिएको अध्यक्ष पंगेनीले जानकारी दिनु भयो । उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारबाट रु. १० लाख प्राप्त हुने छ भने अन्य व्यक्ति, उद्योग तथा संघसस्था र स्थानीय तहहरुबाट सहयोग जुटाउने आयोजक संस्थाले जनाएको छ ।
पहिलो खेल नवलपरासी ११ र हनामी बी एफ सी चितवनका बीच जेष्ठ १७ गते साँझ ४ बजे हुने प्रतिष्ठानका सचिव धर्मेन्द्र अग्रहरीले जानकारी दिनु भयो । प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको, विभिन्न समिति र उपसमिति निर्माण गरी प्रतियोगितालाई व्यवस्थित सञ्चालन गरिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बलराम चापागाईंले जानकारी दिनु भयो ।