परासी । नवलपरासी जिल्लाको सदरमुकाम परासीमा आ.ब. २०७७।०७८ मै निर्माण सम्पन्न भएको प्रयोगशाला भवन आज उद्घाटन गरिएको छ । सोहि भवनबाट पूर्ण सुविधा सम्पन्न ओपिडि ल्यावको पनि शुभारम्भ भएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पताल परिसर दक्षिण तर्फ कूल ४७ लाख ३२ हजार लागतमा निर्माण सम्पन्न भएको प्रयोगशाला भवन आज लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुन मगरले उद्घाटन गर्नु भएको छ । सो अवसरमा बोल्दै मन्त्री पुन मगरले अस्पताललाई थप सुविधा सम्पन्न बनाउन अस्पताल विकास समिति र जिल्लाका राजनीतिक दलहरु अग्रसर हुन आग्रह गर्नु भयो ।
तत्तकालिन समयमा अस्पताल विकास समितिको १३ लाख, रामग्राम नगरपालिकाको १० लाख, बर्दघाट नगरपालिकाको ५ लाख, प्रतापपुर गाउँपालिकाको ५ लाख रामग्राम निवासी श्याम अग्रवालले ७ लाख २१ हजार, र सुरेन्द्र नाथ यादवले ७ लाख ११ हजार प्रदान गर्नु भएको पृथ्वीचन्द्र अस्पतालले जनाएको छ ।
कोरोना भाईरसको परिक्षणलाई लक्षित गरी तत्कालिन समयमा जनप्रतिनिधिहरुको अगुवाईमा सो प्रयोगशाला भवनको रुपमा निर्माण गरिएको थियो । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकको संयोजकत्वमा भवन निर्माण समिति नै बनाएर फास्ट ट्रयाकमा निर्माण सम्पन्न गर्ने विधि तय भए अनुसार ल्याव भवनको निर्माण भएको हो । तर झण्डै ४ बर्षपछि आज भवन र ओपिडि ल्यावको एकैदिन समुदघाटन गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेत, लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल लगायतले बोल्दै पृथ्वी चन्द्र अस्पतालको स्तरोन्तीकालागि सवै एकजुट हुनु पर्ने बताउनु भएको छ ।
प्रयोगशाला भवन र ओपिडी ल्यावको समुदघाटन कार्यक्रममा व्यक्तिगत तवरले प्रयोगशाला भवन निर्माण सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा रामग्राम निवासी श्याम अग्रवाल र सुरेन्द्रनाथ यादवलाई सम्मान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. किरण पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताको अध्यक्षतामा भएको हो ।