रामग्राम नगरपालिकाले चालु आ.ब.२०८०।०८१ को दोश्रो चौमासिक अवधिमा गरेको विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई सोमबार सम्पन्न गरेको छ । रामग्राम १ वडा कार्यालय परिसरमा नगरपालिकाले नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले नगरपालिको विकास निर्माण र सेवा प्रवाहमा विशेष जोडदिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनीहरुहले नगरको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, मल, विउविजन, सडक निर्माण, बाढीका कारण डुबानको समस्याका विषयमा कुरा उठाएका हुन् । उनीहरुले ढल निकासमा जोड दिए भने किसानलाई कृषक परिचय पत्र वितरण गर्न पनि माग गरेका छन् । यस्तै नगरभित्र प्रभावकारी बजार अनुगमन गर्न पनि आग्रह गरे ।नगरवासीहरुले विकास निर्माणका विविध क्षेत्र र सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता हुनु पर्नेमा जोड दिएका थिए ।
रामग्राम नगरपालिकाको वडा नं. १ वडा कार्यालय परिसरमा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा स्थानीय रामजी ज्ञवाली, रवि पाण्डे, लवकुश प्रसाद चौधरी, नगेन्द्र प्रसाद उपाध्याय, गोविन्द थापा, सनन्दन चौधरी, अनिल कुमार उपाध्याय, हरिनारायण हरिजन, संजिव कोइराला र विष्णुराज राव लगायतले जनप्रतिधिहरुसँग विकास निर्माण र सेवा प्रवाहका विषयमा कुरा राखेका हुन् ।
कार्यक्रममा नगरप्रमुख धनपत यादवले नगरवासीले उठाएका विकास निर्माण क्षेत्रका विषय र सेवा प्रवाहका बारेमा उठेको प्रश्नमा जवाफ दिनु भयो । उहाँले नगर सभाले पास गरेका कुनै पनि योजना टुक्र्याउने काम नगरेको बताउँदै त्यसरी योजना टुक्र्याउने काम गरेको भए कारवाहीको भागीदारी बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नगरउपप्रमुख संझना चौधरीले नागरिकहरु चनाखो भए कसैले ठगी गर्न नसक्ने बताउनु भयो । उहाँले नगरपालिकाबाट समय समयमा वजार अनुगमनलाई पनि प्राथमिकता दिइएको र अनियमित गर्नेलाई कारवाही समेत गरिएको जानकारी दिनु भयो । कार्यक्रममा नगरपालिकावडा नं. १ का वडाध्यक्ष रुद्रप्रकास उपाध्याय, आर्थिक प्रशासन शाखा प्रमुख कुन्दन चौधरी, कृषि शाखा प्रमुख किरण गुप्ता लगायतले नगरवासीले उठाएका विभिन्न विषयमा जवाफ दिनु भएको थियो ।
सार्वजनिक सुनुवाईमा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले दोश्रो चौमासिकको विकास निर्माण र सेवा प्रवाहमा भएका कामका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले रामग्राम नगरपालिकाले चालु आर्थिक बर्षको यो अवधिसम्म ६५.५ प्रतिशत आम्दानी गर्न सकेको छ भने ४९ प्रतिशत खर्च गरेको जानकारी दिनुभयो । दोश्रो चौमासिकको रुपमा रहेको सार्वजनिक सुनुवाई कार्यक्रम सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले संचालन गरेको हो ।