परासी । नेकपा एमाले नवलपरासीको अध्यक्षमा दिपेन्द्रकुमार अधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको छ । अधिकारी दोश्रो कार्यकालकालागि सर्वसम्मत निर्वाचित हुनु भएको हो । यस्तै पदाधिकारी र अन्य सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन् । विधान अनुसार एमाले नवलपरासीमा १०५ जनाको कमिटि सर्वसम्मत बनेको हो भने ७ सदस्यीय जिल्ला लेखा कमिटि पनि सर्वसम्मत निर्वाचित भएको छ ।
यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा वस्याल, उपसचिवमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित हुनु भएको हो । पार्टीका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको विशेष पहल र प्रतिनिधिहरुको सहभागीतामा जिल्ला कमिटि सर्वसम्मत बनाइएको एमालेले जनाएको छ ।
सातवटै पालिकाका भित्रका भूगोल (महिला, पुरुष र युवा), समावेशीमा (दलित, आदिवासी जनजाति, मधेशी, मुस्लीम र फरक क्षमता भएका), जिल्ला भर खुल्ला सदस्य महिला र पुरुष सदस्य गरी १०५ जनाको जिल्ला कमिटि सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत रमेश पौडेलले जानकारी दिनु भयो ।
सो अवसरमा नवनिर्वाचित कमिटिलाई गोपनियताको सपथ ग्रहण गराइएको थियो भने पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, केन्द्रीय सदस्य, विमला अर्याल, सरिता भुषाल खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
एमाले नवलपरासीको जिल्ला अधिवेशन २१ र २२ गते सुनवलमा भएको हो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले नवौं जिल्ला अधिवेशनको शुक्रवार समुदघाटन गर्नु भएको थियो ।