नवलपरासी । परासीदेखि गोपिगञ्ज जोड्ने हुलाकी राजमार्गमा अहिले ४ वटा पुलको निर्माणकार्य एकैसाथ धमाधम शुरु भएको छ । लामो समयदेखि अलपत्र र जोखिम अवस्थामा रहेको रामग्राम ८ बैकुण्ठपुरमा रहेको बैकुण्ठपुर खोला पुल लगायत अन्य तीन वटा खोलामा पुलको निर्माण कार्य शुरु भएको हो । जोखिम रहेकै कारण बैकुण्ठपुर खोलामा मानवीय क्षति पनि भएको थियो । निर्माणकालागि चौतर्फी दबाव पनि थियो ।
रामग्राम ८ बैकुण्ठपुरमा रहेको बैकुण्ठपुर खोला, सरावल गाउँपालिका वडा नं. ३ हुलाकी सडकमा रहेका भिमटाँडी, गंगासागर र पिडुरा खोलामा एकैसाथ पुलको निर्माण कार्य शुरु गरिएको हो ।
आउँदो मंसिर मसान्तसम्म ४ वटै खोलामा पुल निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुका प्रमुख विष्णु पाण्डेले जानकारी दिनु भयो ।
रामग्राम ८ बैकुण्ठपुरको खोलामा १४ दशमलव ९१ मिटर लम्बाई र ११ मी चौडाईको पुल निर्माण हुने छ भने जसकालाई २ करोड ४८ लाख २७ हजार ८०२ रुपैया ठेक्का कबोल भएको ओमकार जयसवाल जेवीका प्रोपराईटर उमेश जयसवालले जानकारी दिनु भयो ।
यस्तै सरावल ३ भिमटाँडीको भिमटाँडी खोलामा २१ दशमलव ६० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल निर्माण हुने छ, जसको लागत ३ करोड ६० लाख रहेको छ । यस्तै सरावल ३ कै गंगासागर खोलामा १४ दशमलव ९१ मिटर लम्बाई र ११ मी चौडाईको पुल निर्माण हुने छ, भने पुल निर्माणकालागि २ करोड ६४ लाख ९८ हजार ७५२ ठेक्का रकम कबोल गरिएको छ । त्यसैगरी सरावल ३ कै पिपरामहुवामा रहेको पिडुरा खोलामा २७ मिटर लम्बाई र ११ मिटर चौडाइको पुल निर्माणकालागि ३ करोड ८४ लाख ९७ हजार ९९८ रुपैया भ्याट र पिएस सहित ठेक्का रकम रहेको ओमकार जेवीका सेवक भण्डारीले बताउनु भयो ।
“पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र सरावल गाउँपालिकामा पर्ने ४ वटा खोलामा पुल निर्माणको काम तिव्र गतिमा गरिएको छ, ठेक्काको समय अगावै असार १० भित्रै पुलमाथि गाडि गुडाउने लक्ष्य लिईएको छ”—ओमकार जयसवाल जेवीका प्रोपराईटर एवं निर्माण व्यवसायी उमेश जयसवालले बताउनु भयो ।