नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरीमा शुक्रवार आगलागी भएको छ । शुक्रवार दिउँसो करिव ४ बजे तिर लागेको आगोले पडरीका १४ परिवारको घरगोठ जलेको छ । जसमा ६ वटा घर जलेर पूर्ण क्षति भएको वडा नं. ६ का अध्यक्ष कृष्णचन्द्र यादवले बताउनु भयो ।
आगलागीमा परी पाल्हीनन्दन गाउँपालिका वडा नम्बर–६ पडरीका चन्द्रिका धोबी, चन्ना धोबी, भिखारी धोबी, रामवृक्ष धोबी, बुलाकी धोबी, कमरूद्दीन अन्सारी, राजेश धोबी, केश महम्मद, इजहार अन्सारी, अहमद अन्सारी, नुरूलहोदा पठान, इद्रिश पठान र कोइल पठानलगायत १४ जनाको घरगोठमा क्षति भएको वडा नं. ६ का वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।
आगलागीमा परि कुनै पनि मानवीय क्षति भने भएको छैन तर घरमा रहेका कपडा, गरगहना, गोठमा भएका गाईबस्तु जलेका छन् । आगो करिव २ घण्टापछि नियन्त्रणको आएको हो । आगो नियन्त्रणकालागि रामग्राम र बर्दघाट नगरपालिकाको दमकल तथा स्थानियबासिन्दा र प्रहरीको सहयोग लिइएको हो ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । शुक्रवार राती नै गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपक अन्य जनप्रतिनिधिका साथ घटना स्थल पुगेर राहत वितरण पनि गुर्न भएको गाउँपालिकाले जनाएको छ ।