परासी । पाल्हीनन्दन गाउँपालिकामा आइतबार सार्वजनिक बहस गरिएको छ । “सुशासनका लागि पारदर्शिता र जवाफदेहिता” भन्ने मूल नाराका साथ पाल्हीनन्दन गाउँपालिकामा सार्वजनिक बहस कार्यक्रम गरिएको हो । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको आयोजना, पाल्हीनन्दन गाउँपालिकाकाको सहयोग र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको समन्वय र सहकार्यमा कार्यक्रम गरिएको हो ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था (सिटिजन जुरु) का जिल्ला अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले अख्तियारमा गलत उजुरी कर्तालाई पनि कार्यवाही गर्नु पर्ने, भन्सारमा हुने अनियमिता बन्द गर्नु पर्ने, बजार अनुगमनलाई प्रभावकारी वनाउनु पर्ने, आम नागरिकले पाउने सेवा प्रभावकारी हुनु पर्ने, भनसुन विना नै सेवा पाउने वातावरण निर्माण गर्नु पर्ने जस्ता दर्जनौ प्रश्नहरु राखेका थिए ।
उठेका प्रश्नहरुको जवाफ दिंदै गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले गलत कार्यलाई प्रसय दिन नहुने कुरामा जोड दिनु भयो । यस्तै कार्यक्रममा उपाध्यक्ष फातिमा खातुन अन्सारी, जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरु, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका गणेश वहादुर श्रीस संस्थाका सचिव रमेश भुषाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा अख्तियारले जिल्लाबाट चालु आ.ब.को फागुन १७ गतेसम्म १ सय १० वटा उजुरी परेको जानकारी दिइएको थियो । उजुरी परेका मध्ये ६२ वटा फरछ्यौ भएको र अझै ४८ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको अख्तियार बुटवलका गणेश बहादुर श्रीसले जानकारी दिनु भयो ।