परासी । जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले ३ लाख ९९ हजार ४१७ बराबरका अबैध सामान नियन्त्रणमा लिई कारवाहीकालागि महेशपुर भन्सार कार्यालय पठाएको छ ।
नवलपरासीको सुनवल, भूमही, प्रतापपुरको बसहीया, रामग्राम, सरावलको गणेशपुरबाट विभिन्न सामान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सुनवलको भूमही चोकबाट २ लाख १० हजार ६६०, प्रतापपुर गाउँपालिकाको बसहियाबाट ९६ हजार ७४२ औषधी, रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट १ सय ५५ केजी प्याज र ७० हजार १५ रुपैयाँको खुद्रा सामान बरामद गरेको हो ।
यस्तै सरावल गाउँपालिकाको गणेशपुरबाट २२ हजार बराबरको युरीया मल र चिनी बरामद भएको प्रहरिले प्रेस नोट मार्फत जानकारी दिएको छ ।
साथै विभिन्न स्थानमा नारायणी नदीको अवैध उत्खननमा संलग्न सवारी साधनलाई नियन्त्रण गर्न आवश्यक कारबाहीका लागि ३ किलो गाडीको तौल सम्बन्धित निकायमा पठाई रु १ लाख ७५ हजार राजस्व संकलन भएको थियो ।
यसैबीच इलाका प्रहरी कार्यालय, बेलाटारी र प्रहरी चौकी, नर्सहीबाट खटिएको प्रहरी टोलीले नारायणी नदीबाट ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । जसमध्ये ३ वटा सवारी साधनलाई १ लाख ७५ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय नवलरासीका प्रहरी नायव उपरिक्षण एवं सूचना अधिकारी रेशम बोहोराले बताउनु भयो ।