परासी । ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा बिहिवार परासीमा जातीय विभेदको अवस्थाको बारेमा छलफल र उत्मूलनको उपायका विषयमा विचार विमर्श गरिएको छ । संयुक्त दलित अधिकार समिति नवलपरासीको आयोजनामा कार्यक्रम गरिएको हो ।
समितिका जिल्ला अध्यक्ष विर वहादुर विश्वकर्माको अध्यक्षता र संविधान सभा सदस्य दुलारी हरिजनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।कार्यक्रममा राष्ट्रिय सभाका पूर्व साँसद रामलखन हरिजन, नेपाली काँग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रम यादव, नेकपा एमालेका उपाध्यक्ष डोलराज भण्डारी, नेकपा माओवादीका सचिवालय सदस्य अगविर वि.क., दलित संघका जिल्ला अध्यक्ष मोहन वि.क., मुक्ति समाजका जिल्ला अध्यक्ष राजेन्द्र रसाइली, अधिवक्ता मनोजकुमार हरिजन, चमार समाजका अध्यक्ष संजय चमार लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा जिल्ला स्तरका विभिन्न संघसंगठनको सहआयोजना रहेको थियो । नेपाल दलित संघ, नेपाल उत्पिडित जातीयय मुक्ती समाज, नेपाल दलित मुक्ती मोर्चा, नेपाल राष्ट्रिय दलित मुक्ती संगठन, छुवाछुत विरुद्ध अभियान नेपाल, परियार एकता संस्था, मिजार समाज, चमार युवा मंच नेपाल उत्पिडित उत्थान संस्था लगायत ९ वटा संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम गरिएको संयुक्त दलित अधिकार समिति नवलपरासीका अध्यक्ष विश्वकर्माले जानकारी दिनु भयो ।
कार्यक्रममा नवलपरासी जिल्लामा बिभेदका घटना संकलन पनि गरिएको छ भने पालिकाहरुले बजेट विनियोजन गर्दा र सहभागीता र समावेशीकरणमा पनि दलित समूदायको पहुँच नपुगेकोले आउँदा दिनमा जोडदार माग गर्न निर्णय भएको छ ।