परासी । साईबर अपराध न्यूनीकरण गर्ने उद्देश्यले युवाहरुको अग्रणी संस्था जेसीजले नवलपरासीमा विद्यार्थी केन्द्रीत साईबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । रामग्राम जेसीजले मंगलबार रामग्राम नगरपालिका वडा नं. १५ स्थित जनता माध्यमिक विद्यालय शुक्रौलीमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई साईबर सुरक्षाको विषयमा प्रशिक्षण दिएको हो ।
सामाजिक सञ्जाल फेसबुकबाट साईबर अपराधका घटनाहरु बढिरहेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिँदा समस्या बढिरहेकोले साईबर अपराध न्यूनीकरण गर्न विद्यार्थी केन्द्रीय सचेतना कार्यक्रम गरिएको बताइएको छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फेसबुक, म्यासेन्जरबाट गालीगलौज, डर धम्की, सेक्सुयल हसमेन्ट, राम्रो सम्बन्ध रहँदा गोप्य च्याट गर्ने र सम्बन्ध विग्रिएपछि बाहिर ल्याईदिने, ब्ल्याकमेलिङ्ग जस्ता घटनाबाट किशोरकिशोरीहरुलाई जोगाउन सचेतना कार्यक्रम गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रममा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले विद्युतीय माध्यमबाट हुने अपराधबाट बच्न सवैलाई सचेत गराउनु भएको छ । प्रविधि र सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानीपूर्वक चलाउन प्रजिअ पन्थीले आग्रह गर्नुभयो ।
सामाजिक सञ्जालको दुरुपयोग गरि विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको अनुहार जोडी अनलाईन प्रविधि राख्ने, अश्लिल फोटो तथा भिडियो सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्ने,अन्य व्यक्तिको सामाजिक सञ्जाल प्रयोग गरि फिरौती माग्ने, अन्य व्यक्तिको नाम तथा फोटो प्रयोग गरेर बेईज्जत गर्ने तथा दुःख दिने, ह्याक गर्ने, अनलाईन ठगी गर्ने जस्ता क्रियाकलाप साईबर अपराध भित्र पर्ने भन्दै प्रजिअ पन्थीले यस किसिमका गतिविधिहरुमा बच्न तत्काल सुरक्षानिकायमा खवर गर्न जोड दिनुभयो ।
यसैबीच कायृक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पछिल्लो समय साईबर अपराध डरलाग्दो गरी बढिरहेकोले सामाजिक सञ्जालको सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गर्नुभयो । नवलपरासी जिल्लामा चालु आ.ब.मा मात्रै साईबर अपराधका ९६ उजुरी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको उहाँले बताउनु भयो ।
उक्त कार्यक्रममा रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी जेसीजका उपाध्यक्ष उमेश कोहाँर, निर्देशक जगदीश कोहाँर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, प्रधानाध्यापक चन्द्रमणी लम्साल जेसीजका निवर्तमान अध्यक्ष वेनीमाधव वश्याल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरिक्षक प्रकाश भुसालले साईबर अपराधको अवस्था, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, कानूनी व्यवस्था, सामाजिक उत्तरदायित्व र नागरिकको कर्तव्य, साईबर अपराधबाट बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।