डोल्मा चौधरी \नवलपरासी पश्चिम ।अन्न बाली राख्नको लागि माटोले बनाइने डेहरी (भकारी) थारु समुदायमा देखिन छोड्यो । पछिल्लो पुस्ताले आधुनिकतालाई आत्मसात् गर्न थालेपछि डेहरीको प्रयोग हराउँदै जान थालेको हो । नवलपरासी पश्चिमको बर्दघाट ११ गैडहवामा बस्ने ७० वर्षिय जानकी चौधरीले “नयाँ पुस्ताले सिक्ने चाहना नराख्दा परम्परादेखि प्रयोग हुँदै आएका भकारी बनाउने काम अहिले ओझेलमा परेको बताउनु हन्छ । ५ वर्ष अगाडि डेहरी बनाउदै आएको तर अहिले प्रयोग नहुँदा बनाउन छोडिएको छ । उहाँ भन्नु हुन्छ "। पहिले वर्षेनि माटोको डेहरी बनाइन्थ्यो, आफू कृर्षिमा निर्भर रहेकोले उब्जाएका अन्नबालीलाई वर्षभरि पुर्याउनका लागि डेहरीमा भण्डार गरिन्थयो तर नयाँ पुस्ता र प्रविधि आएपछि आफ्नै घरमा माटोको डेहरी राख्न छोडिएको उहाँ बताउनु हुन्छ । पहिले घरमा १० देखि १५ वटासम्म डेहरी राखिन्थ्यो तर अहिले घरमा २ वटा मात्रै माटोको डेहरी रहेको ७० बर्षिय जानकीले भन्नुहुन्छ,आफु बाचुन जेल मात्र यो देख्न सकिने पछि नयाँ पुस्ताले देख्ने अवस्था नरहेको गुनासो समेत गर्नु भयो । पहिलेको समयमा थारु समुदायमा कच्चि माटोले बनाइएको घर हुन्थ्यो । जसमा सबै कुरो माटोकै हुन्थ्यो र घरलाइ सफा राख्नका लागि माटोको प्रयोग गर्ने भएकोले डेहरीहरु राख्न सजिलो हुन्थ्यो अहिले आधुनिक समय छ । घर पनि पक्कि बन्दै गए, त्यसैले पनि माटोबाट बनेका परम्परागत र मौलिक बस्तुहरु हराउदै गएको जानकीले दुखेसो गर्नु हुन्छ ।
डेहरी थारु समुदायको संस्कृतिसँग मात्र नभएर धार्मिक भावना समेत जोडिएको छ । डेहरीको आफ्नै महत्व भएको र यो कुरा नयाँ पिढीलाई बुझाउन आवश्यक रहेको रामग्राम नगर पालिका वडा नं १७ की पवनरेखा चौधरीले बताउनु हुन्छ । डेहरी खासगरी महिलाहरुले बनाउने गर्दछन । माटोको भकारीमा गहु, धान, मकै, तोरी, केराउ, चामल र दाल लगायतका कृषिजन्य खाद्यान्य राख्ने गरिन्छ ।
ग्रामीण क्षेत्रका अधिकांश घरमा पहिले महिलाहरूले बनाएर राखेका माटाका भकारी (डेहरी) लहरै थारु समुदायमा देखिन्थ्यो। अहिले भने टिनले बनाएको भकारी लहरै देखिन्छ । अन्न तथा कृषि उपजका सामग्रीहरूलाई माटोको डेहरीमा राख्नाले सुरक्षित भण्डारण भएर लामो समयसम्म राख्न सकिने थारु समुदायको पुरानो मान्यता रहेको चौधरी बताउनु हुन्छ ।
डेहरी विशेषगरी लाम्चो चारकुनी विभिन्न आकार र उचाइको बनाउने गरिन्छ यसमा दैनिक आवश्यक पर्ने दाल चामलसँगै अन्नको बिउ लगायत राख्ने गरिन्छ । ठुलामाटोको भकारीलाइ ’डेहरी’ भनिन्छ भने सानोलाई ’ढुन्कि’ भनेर चिनिन्छ ।
विषेश गरेर भान्सा घर र देउता रहने कोठामा डेहरी राख्ने चलन छ । डेहरीलाई कहिले पनि खाली राख्न नहुने थारु समुदायको परम्परागत मान्यता रही आएको छ । डेरी अन्न भण्डारका लागि थारु समुदायको प्रमुख वस्तुको रुपमा मानिन्छ । पोखरी, तालतलैयाबाट चिम्टाइलो माटोको प्रयोग र धान, केराउको भुसबाट डेहरी बनाउने प्रचलन छ । अहिले भने डेहरी बनाउन जान्ने व्यक्ति थारु समुदायमा हराउँदै गएकोले अहिले थोरैका घरमा मात्रै डेहेरी भेटिने स्थानीय चौधरीको भनाई छ ।
पछिल्ला समयमा तालतलैया पुरीदै गए पछि पोखरीबाट माटो ल्याउन नदिने भएकोले पनि डेहरी बनाउन नसकिने अवस्था भएको हो । अहिले प्लास्टिक तथा टिनका भकारी सहजै बजारमा पाउन थालेका कारण पनि डेहरी बनाउने प्रचलन घट्दै गएको थारु समुदायका अगुवाहरुले बताउने गरेका छन् ।