परासी । साहित्यकार प्रकाशचन्द्र श्रेष्ठका दुई वटा कृति आज एकैदिन विमोचित भएका छन् । रामग्राम नगरपालिका वडा नं. ३ (हाल अमेरीका) निवासी साहित्यकार श्रेष्ठका दुई कृति विमोचन भएको हो । रामग्राम २ पवन माध्यमिक विद्यालयको श्रोतकेन्द्र परासीमा आयोजना गरिएको थियो ।
पवन माध्यमिक विद्यालय परासी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानचन्द्र श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन गरिएको हो । विदेशमा बसेर पनि समाजको ऐना र साहित्य सृजनाबाट समाजसेवामा लागी पर्नु भएका श्रेष्ठको कार्यक्रममा प्रशंसा गरिएको थियो ।
कार्यक्रममा दुई व्यक्तित्व एक चिनारीनामक जिवनी र त्रियाँश नामक उपन्यास विमोचन गरिएको छ । जीवनी, साहित्यकार श्रेष्ठका मातापिताको जीवनीसँग सम्बन्धित रहेको छ । रामग्राम २ मा रहेको पवन माध्यमिक विद्यालय उहाँकै माताको नामबाट सञ्चालन गरिएको छ ।
यसअघि साहित्यकार श्रेष्ठका तीन कृति प्रकाशन भएका छन् । कथासंग्रहको रुपमा सुन्तलीटार, उपन्यासको रुपमा शान्ति र कविता संग्रहको रुपमा सफर यो जिन्दगीको प्रकाशन भई सकेका छन् ।
विमोचन कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा. डा. नारायणप्रसाद खनाल, रामग्राम नगरपालिका वडा नं. ३ का वडाध्यक्ष उज्वल न्यौपाने, परासी क्याम्पसका प्राचार्य सुमनगोपाल आचार्य, पवन माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार पाठक लगायतले शुभकामना व्यक्त गर्नु भएको पवन माध्यमिक विद्यालयका शिक्षक तोरेन्द्र जिसीले जानकारी दिनुभयो ।