परासी । डा बिनोद निता कण्डेल आँखा अस्पतालले गत बर्ष ४५ हजार आँखाका विरामीहरुको उपचार गरेको छ । उपचारपछि झण्डै ४५ सय विरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा अस्पतालले जनाएको हो । शनिवार आयोजित नेपाल नेत्रज्योती संघ डा. बिनोदनिता कण्डेल आँखा अस्पतालको ३३ औं बार्षिक साधारण सभाको अवसरमा सो तथ्याँङ्कबारे जानकारी गराइएको थियो ।
नेपाल नेत्रज्योती संघको ३३ औं बार्षिक साधारण सभा शनिवार बाबा वर्दगोरीयमा सम्पन्न भएको छ । संघका सभापति देवेन्द्रराज कण्डेलको अध्यक्षता र लुम्बिनी प्रदेश सभाका साँसद खड्ग वस्नेतको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभासद बैजनाथ कलवार, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल, सुनवल नगरपालिकाका निवर्तमान नगरप्रमुख भरत थापा, डा. विनोदनिता कण्डेल आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मन्जु कण्डेल, नेत्र विशेषज्ञ नन्दा गुरुङ्ग, संघका वरिष्ट सदस्य कृष्णप्रसाद लामिछाने, प्राविधिक राधिका यादव लगायतले शुभकामना व्यक्त गर्नु भएको संघका सहसचिव अनिल उपाध्यायले जानकारी दिनु भयो ।
संघको ३३ को बार्षिक साधारणमा संघका सचिव डा संजय कर्णले संघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । डा. विनोदनिता कण्डेल आँखा अस्पताल परासीले अहिले फेको प्रविधिबाट दैनिक रुपमा मोतियाविन्दुको शल्यक्रिया गर्दै आइएको छ । आगामी दिनमा परासीमै सुविधा सम्पन्न आँखा अस्पतालको आफ्नै भवन निर्माण गरी सेवा संचालन गरिने संघका अध्यक्ष देवेन्द्रराज कण्डेलले बताउनु भयो ।
संघको ३३ औं बार्षिक साधारण सभाको अवसरमा आँखा अस्पताललाई सहयोग गर्ने रामग्राम ५ निवासी बालगोविन्द जयसवाललाई सम्मान पत्रद्वारा सम्मान गरिएको संघका सहसचिव उपाध्यायले जानकारी दिनु भयो ।