नवलपरासी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ नवलपरासीले जिल्ला प्रशासन कार्यालय परासीमा ज्ञापनपत्र बुझाएको छ। दिनदिनै बढदै गएको महिला, बालबालिका किशोरीहरुमा हिंसाका घटना न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्न साथै घटना नै नघट्ने वातावरण सिर्जना गर्न र घटना घटेको खण्डमा छिटो र प्रभावकारी न्यायका लागि आवश्यक कदम चाल्ने, अपराधीलाई उचित दण्ड, पीडितले न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, कामलाई प्रभावकारी बनाउने व्यवस्था होस् भन्दै महिला संघले ध्यानकर्षण गराएको हो ।
महिलाहरूमा अझै पनि कार्यस्थलमा हुने यौनजन्य व्यवहार,बेचबिखन ओसारपोसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा र आधुनिक प्रविधिको प्रयोगका माध्यमबाट हुने हिंसा आदिबाट अझै पनि पीडित रहेको संघका अध्यक्ष दया दर्लामीले ज्ञापन पत्रमार्फत बताउनु भयो । कतिपय सन्दर्भमा समाजका संवेदनहिन क्रियाकलापबाट महिला बालबालिकाहरूले बाँच्न पाउने अधिकारबाट वञ्चित हुन पुगेको उहाँले बताउनु भयो ।
देशमा आर्थिक वर्ष २०७९ ।८० मा नेपाल प्रहरीमा उजुरी परेका घटनाहरूलाई मात्र हेर्दा घरेलु हिंसाका १६,५१२ घटना दर्ता भएको छ। यसैगरी जबरजस्तीकरणी घटना २,३८७,जबरजस्तीकरणी उद्योग घटना ५१८, अपहण तथा जबरजस्तीकरणी घटना ५९, जबरजस्तीकरणी पछि हत्या गरिएका घटना ५, बोक्सीको आरोपका ४३, बालविवाहका ५२७ घटना दर्ता भएको ज्ञापन पत्रमा उलेख छ । तथ्यांकले महिलाविरुद्ध हुने हिंसाको भयावह रूप देखाउँदछ। अनुसन्धान प्रक्रियामा ढिला सुस्ती र कानुन कार्यान्वयनमा आएको उदासीताले पीडितले न्याय पाउने अवस्था कमै रहेको बताइएको छ।
समाजमा महिला तथा किशोरीहरूको बलत्कार पछि हत्याका प्रकरणहरु बढिरहेको छ । विद्यालय घर कार्यालय सार्वजनिक स्थल कतै पनि महिला तथा किशोरीहरूले सुरक्षाको अनुभूति गर्न पाइएका छैनन् । विभिन्न घटनाहरुले राज्य आफ्नो दायित्व निर्वाह गर्नबाट चुकेको महसुस भएकोले यस्तो अवस्थामा समाज र राष्ट्रको विकास सम्भव नरहेको अखिल महिला संघले गुनासो गरेका हुन । महिलामाथि हुने हिंसाका घटनाहरू बढ्दै जानुमा राज्यको प्रभावकारी उपस्थिति नदेख्नु प्रमुख कारण रहेको संघले दावि गरेको हो । प्रभावकारी सूचना षड्यन्त्र निर्माण अनुसन्धान र सजाय जस्ता पक्षहरू प्रभावकारी बनाएर महिलाहरूलाई सुरक्षित महसुस गराउनु राज्यको दायित्वले शान्ति सुरक्षा कायमगर्ने मुख्य जिम्मेवारी निकाय जिल्ला प्रशासन रहेकोले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थिलाई ज्ञापन पत्र बुझाएको हो ।