परासी । नवलपरासीको सदरमुकाम परासीमा यहि फागुन १६ गतेदेखि छैठौ नवलपरासी औद्योगिक व्यापार मेला हुने भएको छ । यहि फागुन १६ गतेदेखि ३० गतेसम्म परासीको बाइपासमा व्यापार मेला सञ्चालन गरिने बुधबार पत्रकार सम्मेलन गरी बताइएको छ ।
पत्रकार सम्मेलनमा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले व्यापार मेलाले कृषि, पर्यटन र उद्योग क्षेत्रको प्रर्वद्धन गर्ने साथै व्यापार प्रर्वद्धनमा टेवापुग्ने विश्वास ब्यक्त गर्नु भएको छ ।
कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी नाम दिइएको व्यापार मेलामा उद्योग र व्यापार क्षेत्रका १ सय ५० वढी स्टल रहने बताइएको छ । १५ दिनसम्म चल्ने व्यापार मेलामा २ लाख वढी दर्शकले अवलोकन गर्ने र करीब ५ करोड बराबरको आर्थिक कारोबार हुने संघले जनाएको छ ।
व्यापार मेलामा पर्यटन, कृषि, उद्योग र स्थानीय लोपोन्मुख संस्कृतिको विकास गरिने लक्ष्य लिइएको छ । मेलाको तयारी तिब्र पारिएको बताउँदै जिल्लाका आमसञ्चार संस्थासंग सहकार्य गरी प्रचार प्रसार गरिने उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डेले बताउनु भयो ।
सो अवसरमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, संघका संल्लाहाकार श्यामकुमार वश्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगायतले बोल्नु भएको थियो ।