बर्दघाट । वर्दघाट उद्योग वाणिज्य संघले सातौं वर्दघाट कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला गर्ने भएको छ । मेला यहि फाल्गुन १७ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिने बताइएको छ । मेलामा जिल्लामा उत्पादित लघु तथा घरेलु उद्योग, कृषि तथा पर्यटन प्रवद्र्धनलाई जोड दिने बताइएको छ । सोमबार वर्दघाट उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो ।
जिल्लामा भए गरेका कृषि उत्पादन, स्थानीय संस्कृतिको जगर्ना र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर व्यापार मेला आयोजना गर्न लागिएको आयोजक बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानले बताउनु भएको हो । विभिन्न उद्योगमा उत्पादित सामानहरुलाई बजारीकरण गर्ने र उपभोक्ताका बीच पु¥याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो ।
व्यापार मेलामा कृषि उत्पादन र लघु घरेलु तथा साना उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । यस्तै प्रदर्शनीमा राखिने बस्तुहरुमा दैनिक उपभोग्य बस्तु, घरेल तथा साना उत्पादन , शैक्षिक तथा प्रविधि एवं बैंक तथा वित्तिय संस्थाहरु, होटल तथा रेष्टुरेन्ट, बाल उद्यान र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।
यस्तै औद्योगिक मेलामा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने मेलामा २५० वटा स्टल राखिने छ । यस्तै मेला अवधि भर करिव ५ करोडको कारोबार हुने अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो । अध्यक्ष न्यौपानेले मेलाको आम्दानीबाट व्यवसाय विपत कोष निर्माण गर्ने र १ लाख बराबरको व्यवसायीक विमा गर्ने लक्ष्य लिइएको बताउनु भयो । उहाँले गत बर्षको मेलामा जस्तै जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क टिकटको व्यवस्था गरिएको जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष न्यौपानेको अध्यक्षता र सल्लाहाकार सुभाष जिसीको प्रमुख आतिथ्यता रहेको थियो भने सो क्रममा वरिष्ट उपाध्यक्ष तारा प्रसाद गौतम लगायतले बोल्नु भएको महासचिव गंगाप्रसाद पाठकले जानकारी दिनु भयो ।