परासी। आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते १०४ बर्ष लामो बंशीय, निरंकुश र हुकुमी राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा दिवस मनाउन थालिएको हो।
प्रजातन्त्रको स्थापना संगै नागरिकले खुला रुपमा सभा सम्मेलन, संगठन निर्माणको अवसर प्राप्त गरे । स्वतन्त्रतापूर्वक काम गर्ने मौका प्रजातन्त्रले दियो । पछि फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना, २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्ती र २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । देशमा विभिन्न कालखण्डमा भएका सबै परिवर्तनको जग फागुन ७ नै भएकोले प्रजातन्त्र दिवसलाई विशेष महोत्वका साथ मनाउने गरिन्छ ।
प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अझै पनि नागरिकले चाहेको जस्तो नभएको भन्दै गुनासो र असन्तुष्टि देखिन थालेका छन् ।
यसै सन्दर्भमा नवलपरासीमा पनि तीन दिनसम्म विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाइँदैछ । फागुन ६, ७ र ८ गते तीन दिनसम्म प्रजातन्त्र दिवस मनाइने जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले जानकारी दिनु भयो । सोमबार विहान सदरमुकाम परासीमा प्रभातफेरी कार्यक्रम गरिएको थियो । सो अवसरमा प्रजातन्त्त दिवसको अर्थ र महत्वको विषयमा चर्चा गरी दिवस मनाइएको छ भने साँझ ६ बजे बुद्धचोकमै शान्तिदिप प्रज्जवलन गर्ने कार्यक्रम पनि तय भएको छ ।
सो अवसरमा लुम्बिनी प्रदेश सभाका सदस्य बैजनाथ कलवार, सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा लगायतले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पछिल्लो समय सरकारले प्रजातन्त्र दिवसको दिन सार्वजनिक विदा दिएर दिवस मनाउने भने पनि दिवस मनाउने उत्साह भने घट्दै गइरहेको छ । प्रजातन्त्र स्थापना, पुनःप्राप्ती र संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न विभिन्न कालखण्डमा संघर्षरत दल र तीनका कार्यकर्ताहरु दिवसको अवसरमा देखिदैनन् । विभिन्न राजनीतिक दल र नागरिकहरुले दिवसलाई उत्साहपूर्वक नलिंदा दिवसिय कार्यक्रम फितलो बन्दै गएको पाइन्छ ।