परासी । विषादी व्यवसायी संघ नवलपरासीको अध्यक्षमा कृषि विज्ञ देवेशकुमार मिश्रको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय संचालक समिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा कल्पना सुवेदी, सचिवमा हरिप्रसाद चापागाँईं, कोषाध्यक्षमा दिनानाथ ढकाल सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
यस्तै संघको सदस्यहरुमा क्रमशः श्रीकृष्ण चौधरी, लेखनाथ बस्याल, नागेन्द्र कुमार गुप्ता, हेमन्त कुमार चौधरी र विशेश्वर पटेल निर्वाचित हुनु भएको छ । संघको पदावधि ३ बर्षको हुने बताइएको छ ।
यसैबीच नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति नवलपरासीको दोश्रो अधिवेशनबाट चन्द्र प्रकाश गुप्ता निर्वाचित हुनु भएको छ । गुप्ताले निकटतम प्रतिस्पर्धी निरज पौडेललाई १ मतले पराजीत गर्नु भएको हो । कुल ४४ मत रहेको संघमा ३९ मत खसेको थियो । गुप्ताले २० मत ल्याउँदा पौडेलले १९ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाल बीउ व्यवसायी संघको अन्य पदमा भने सर्वसम्मत भएको थियो । जसको उपाध्यक्षमा २ जना क्रमशः लोमा वाग्ले र विमल ढकाल, सचिवमा मुधुसुधन पौडेल, कोषाध्यक्षमा रमेश कुमार गुप्ता, सदस्यहरुमा क्रमशः रिङ्कु कुमार चौधरी, तिल प्रसाद रिजाल, रामचन्द्र भारती, मनराज गुप्ता र दुर्गा प्रसाद भुषाल सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि दुवै संघको संयुक्त भेला शनिवार परासीमा सम्पन्न भएको हो । नेपाल बीउ व्यवसायी संघ लुम्बिनी प्रदेशका सदस्य चन्द्र प्रकाश गुप्ताको अध्यक्षता र लुम्बिनी प्रदेशका सभासद बैजनाथ कलवारको प्रमुख आतिथ्यमा भेला भएको थियो ।