परासी । नवलपरासीमा बालविवाह अन्त्यकालागि साझा प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ । जिल्लाका सातैवटा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले बाल विवाह अन्त्यका लागि साझा प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् । सुनवलमा भएको एक दिने कार्यशालामा हस्ताक्षर गरिएको बताइएको छ ।
बाल विवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको १० बर्षे रणनीतिमा भएका व्यवस्थाको जानकारी दिने उद्देश्यले शुक्रवार सुनवलमा एक दिने गोष्ठी सम्पन्न भएको छ । बालविवाहको रणनीतिक योजनाको कार्यान्वयमा देखिएका चुनौती, सम्भावना र स्थानीय सरकारको भूमिकाबारे कार्यशाला गरिएको हो । कार्यक्रममा नवलपरासी जिल्लाका सातैवटा स्थानीय सरकारका उपप्रमुखहरु, पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरु एवं विभिन्न निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
युनिसेफ नेपाल, जिल्ला समन्वय समिति, नवलपरासी, सामाजिक विकास मन्त्रालय र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको समन्वय र सहकार्यमा एक दिने कार्यशाला गरिएको हो । कार्यक्रम जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव (रुदल) को अध्यक्षतामा भएको हो ।
बालविवाह अन्त्य सम्बन्धी लुम्बिनी प्रदेश सरकारले २०७८/०७९ देखि २०८८/०८९ सम्मको १० बर्षे रणनीतिक योजना पास गरी लागू गर्ने चरणमा रहेको छ । वनेका कानूनको प्रभावकारी कार्यान्वन गर्ने मूल उद्देश्यले कार्यशाला राखिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम प्रमुख प्रकाश घिमिरेले बताउनु भयो । सन् २०३० सम्ममा प्रदेशका सवै नगरपालिकाहरु र गाउँपालिकाहरुमा बाल विवाह अन्त्य गर्ने योजना बनेको छ ।
कार्यक्रममा युनिसेफ नेपालको तर्फबाट माधव बराल, सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेल, जिल्ला समन्वय समिति नवलपरासीका समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरु लगायतले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल, रामग्राम नगरपालिकाका नगरउपप्रमुख संझना चौधरी, वर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरी, सरावल गाउँपालिकाकी उपाध्यक्ष वास्मती हरिजन र पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी लगाएले पालिकामा बालविवाहको अवस्था माथि प्रकाश पार्नु भएको थियो ।
आउँदो एक महिना भित्र पालिका स्तरमा बालविवाह अन्त्यकालागि संयन्त्र निर्माण गरिने योजना तयार भएको बताइएको छ ।