सुनवल। सुनवलका दुर्गानारायण सुवेदी शहीद विष्णुप्रसाद पाण्डे स्मृती प्रतिष्ठानको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ । मंगलबार सुनवल नगरपालिका वडा नं. ५ बनकट्टिमा सम्पन्न १७ औँ साधारण सभा तथा अधिवेशनले सुबेदीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । ११ सदस्यीय नयाँ समितिको उपाध्यक्षमा रामप्रसाद सुवेदी, सचिवमा विरबहादुर वि.क, कोषाध्यक्षमा मनमाया गुरुङ्ग र सह—सचिवमा पदम क्षेत्री चयन हुनु भएको छ ।
यसैगरी समितिको सदस्यहरुमा दिपा गौतम, ठानेश्वर भुषाल, रामकुमार वि.क, कुलप्रसाद भट्टराई, तुलबहादुर पौडेल र रोशन गुरुङ्ग रहनुभएको छ । यस्तै गौविन्द पौडेल संयोजक रहेको तीन सदस्यीय लेखासमिति पनि सर्वसम्मत चयन गरिएको छ जसको सदस्यमा बिमला खरेल र लालचन्द्र चापागाँई रहनु भएको छ ।
प्रतिष्ठानको सम्पन्न साधारण सभामा अध्यक्ष पेउनारायण न्यौपानेले संस्थागत प्रतिवेदन पेश गर्नु भएको थियो । उहाँले आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्न सफल भएको बताउनु भयो । उहाँले प्रतिष्ठानको परिसर भित्र बाल उद्यान निर्माण, शहीद संग्राहालय निर्माण तथा शहीद पार्क सौन्र्दयकरणका विभिन्न काम गरिएको बताउनु भयो ।
सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले २०६२।०६३ को जनआन्दोलनको स्मरण गर्दै शहीद विष्णुप्रसाद पाण्डे सहादत हुँदाको क्षणलाई भावुक भर संझनु भयो । उहाँले व्यवस्था परिवर्तनकालागि शहीदको बलिदानीपूर्ण योगदानको कदर गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा वडाअध्यक्ष अध्यक्ष नेत्र तिवारी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजनकुमार आचार्य, शहीद पत्नी भागिरथी पाण्डे, संस्थापक अध्यक्ष रामचन्द्र भण्डारी लगायतले शहीदको योगदानको कदर नभएको प्रति चिन्ता व्यक्त गर्नु भएको अकोराव नवलपरासीका अध्यक्ष नारायण पाण्डेले जानकारी बताउनु भयो ।
साधारण सभामा कोषाध्यक्षको प्रतिवेदन कार्यवाहक कोषाध्यक्ष रामप्रसाद सुवेदी र लेखा प्रतिवेदन लेखा संयोजक गोविन्द पौडेलले प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा प्रस्तुत भएका सवै प्रतिवेदनहरु पास भएको प्रतिष्ठानका सचिव खडानन्द कोइरालाले जानकारी दिनु भयो ।