परासी । रामग्राम नगरपालिकाद्धारा संचालित तथा पवन माध्यमिक विद्यालय द्वारा व्यवस्थापन गरी सञ्चालन गरिएको दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । गत बर्ष जनता माध्यमिक विद्यालयमा सञ्चालन भएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्डको बिजेता पवन माध्यमिक विद्यालय यस बर्ष पनि प्रथम हुन सफल भएको हो ।
यहि माघ १४ गतेदेखि तीन दिनसम्म भएको प्रतियोगितामा पवन माध्यमिक विद्यालय, परासी ७ स्वर्ण, ५ रजत र ८ कास्य पदक सहित प्रथम भएको छ । यस्तै उत्तम बालहित माध्यमिक विद्यालय उजैनी ७ स्वर्ण, ४ रजत र ४ कास्य पदक सहित द्वितीय भएको छ भने जनता माध्यमिक विद्यालय डैनहवा ६ स्वर्ण, ९ रजत र ९ कास्य पदककासाथ तृतीय भएको हो ।
रनिङ्ग शिल्ड प्रतियोगितामा विभिन्न ६ प्रकारका खेल समावेश गरिएकोमा भलिवल प्रतियोगितामा जनता माध्यमिक विद्यालय, डैनहवाका छात्र विशाल यादव र छात्रा मनिता चौधरी उत्कृष्ट खेलाडी छनौट भएका छन् । यस्तै कवड्डी तर्फ उत्तम बालहितका छात्र सलाउद्दिन देवान र छात्रा तर्फ सरस्वती माध्यमिक विद्यालयकी कोपिला चौधरी उत्कृष्ट भएका हुन् । त्यसैगरी एथेलेटिक्स तर्फ उत्तमबाल हितका छात्र सलाउद्दिन देवान र आदर्श माध्यमिक विद्यालय परासीकी छात्रा अनुपा हरिजन उत्कृष्ट भएका छन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट फाइटरमा ५९ केजी तर्फ छात्र रामकरण कुर्मी र ४६ केजी तर्फ छात्रा खुसी यादवले जित्न सफल भएका छन् । त्यसैगरी तेक्वान्डोको फूम्सेमा पवन माध्यमिक विद्यालय प्रथम र सयपत्री मा.वि. द्धितीय भएका छन् । यस्तै फाइटरमा पवन माध्यमिक विद्यालय परासी, लिटिल एन्जेल्स मा वि परासी र सयपत्री मा वि परासी क्रमश प्रथम, द्धितीय र तृतीय भएको रामग्राम नगरपालिकाका शिक्षा शाखा अधिकृत सुन्दर खनालले जानकारी दिनु भयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन समारोह रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव (रुदल)को प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा नगरपालिकाका नगरउपप्रमुख संझना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल लगायतले विजेता तथा उपविजेता सवै प्रतियोगिहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
समापन कार्यक्रममा शैक्षिक सत्र २०८१ मा हुने तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रामग्राम १० स्थित जनता माध्यमिक विद्यालय लक्ष्मिपुरले गर्ने गरी रनिङ्ग शिल्डको झण्डा हस्तान्तरण गरिएको थियो ।