परासी । रामग्राम नगरपालिकाले आज आइतबार भव्य समारोहको आयोजना गरेर दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु गरेको छ ।
रामग्राम नगरपालिकाको आयोजना र पवन माध्यमिक विद्यालयको संयोजनमा रामग्राम १२ स्थित पचगाँवा खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र प्रतिनिधि सभा सदस्य ध्रुव वहादुर प्रधानको प्रमुख आतिथ्यमा प्रतियोगिता शुरु भएको हो । सो अवसरमा पूर्व कानून मन्त्री एवं सभासद प्रधानले आफूभित्र अन्तरनिहित भएको क्षमतालाई प्रस्फूटन गराउन खेलकूदले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । नवलपरासी जिल्लाको क्षेत्र नं. २ आफ्नो निर्वाचन क्षेत्र भएकोले यस क्षेत्रको स्वास्थ्य, खेलकूद र भौतिक विकासमा प्रतिवद्ध रहेको सभासद प्रधानले जिकिर गर्नु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभासद खड्ग वस्नेत, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, रामग्राम नगरपालिकाका नगर उपप्रमुख सम्भना चाैधरी प्रशासकीय अधिकृत मोहन अर्याल, निजि विद्यालयको तर्फबाट लिटिल एन्जेल्स उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल सुमन गोपाल आचार्य लगायतले बोल्दै खेलको माध्यमबाट नगरभित्र उत्सव मनाइएको बताउनु भएकाे नगर शिक्षा अधिकृत सुन्दर खनालले जानकारी दिनु भयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिवल, कबड्डी, दौड ट्रयाक तर्फ १०० देखि ४ हजार मिटर सम्मको रिले दौड, उफ्रने र फ्याँक्ने फिल्ड तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ्ग थ्रो, सटफूट र मार्सल आर्ट तर्फ तेक्वान्दो लगायतका खेल सञ्चालन गरिने खेल संचालन समितिका संयोजक एवं पवन माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार पाठकले बताउनु भयो ।